घरबार बिहिन हुँदै राष्ट्रिय सहकारी महासंघ

घरबार बिहिन हुँदै राष्ट्रिय सहकारी महासंघ :: Sahakari Akhabar

काठमाडौं । सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघ घरबार बिहिन हुनेभएको छ । सरकारले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेका संरचना खाली गर्ने सूचना जारी गरेसंगै महासंघ घरबार बिहिन हुनेभएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले केही दिन अघि भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेका संरचना खाली गर्ने सूचना जारी गरेको थियो ।

सहकारी महासंघ पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जग्गामा भवन बनाएर बसेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचना प्रकाशन गरी सरकारी जग्गा तथा उक्त जग्गामा बनेका संरचना खाली गराउने भएको हो । महासंघले सरकार तथा विभिन्न सहकारी संघसंस्थाबाट सहयोग लिएर भवन बनाएको थियो।

मन्त्रालयले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) वमोजिम साविकमा भोगाधिकार प्राप्त गर्ने व्यक्ति, संस्था वा निकायले भोगाधिकार प्राप्त जग्गा लिजमा परिणत गर्न आउने सम्बन्धमा ६ महिनाको अवधी तोकी २०७३ जेठ ३१ गते र २०७४ बैशाख २१ गते तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागवाट प्रकाशित भएको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवदेन नदिएका व्यक्ति, संस्था तथा निकायहरुले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेको जनाएको छ।

त्यसैगरी सूचनामा सम्झौताको शर्त बमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न भनेको हो । पछिल्लो समय आर्थिक संकट खेपिरहेको महासंघले अव बस्दैआएको भवन पनि खाली गर्नुपरेको हो।

पछिल्लो समय वित्तीय संकटमा परेपछि महासंघले भवन भाडामा लगाउन सूचना समेत जारी गरेको थियो। सरकारी सहयोग र सहकारी संस्थाहरूको योगदानमा निर्माण गरिएको भवनसमेत सञ्चालन खर्च धान्न भाडामा दिनुपर्ने अवस्था महासंघमा आएको छ। महासंघको भवन निर्माणका लागि सरकारले तत्कालीन राष्ट्रिय सहकारी बिकास बोर्डमार्फत जग्गा उपलब्ध गराउनुका साथै ५ करोड रुपैयाँ बजेट समेत दिएको थियो ।

उक्त जग्गामा महासंघले सहकारी संस्थाहरूसँग सहयोग संकलन गरेर भवन निर्माण गरेको छ । तर, पछिल्लो समय आन्तरिक व्यवस्थापन कमजोरी र आर्थिक अनुशासनको अभावका कारण महासंघ वित्तीय दवाबमा समेत परेको देखिएको छ । हाल महासंघले भवनको भुइँतला र पहिलो तला गरी ४ हजार ४९५ स्क्वायर फिट क्षेत्रफल भाडामा दिन सार्वजनिक सूचना जारी गरेको छ।

यसअघि नै भवनको सबैभन्दा माथिल्लो तल्ला एक निजी सफ्टवेयर कम्पनीलाई भाडामा दिइरहेको छ । सरकार र सहकारी क्षेत्रकै लगानीमा निर्माण गरिएको भवन सहकारी प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणका लागि प्रयोग हुनुपर्नेमा व्यावसायिक प्रयोजनमा भाडामा लगाइएको भन्दै आलोचना बढ्न थालेको थियो ।

महासंघबाट आर्थिक वर्षमा एकैपटक तीन जना तथा यस वर्षमा एक जना उच्च तहका कर्मचारीको बिदाई गरेको छ भने केही कर्मचारी उमेरहदका कारण बिदाइ हुँदैछन र केही स्विच्छिक अवकासको तयारीमा रहेको जनाइएको छ । कर्मचारी उपदानका लागि पर्याप्त रकम नछुट्याएको महासंघले नियमित खर्च तथा कोषको रकमबाट खर्चगर्दा महासंघ आर्थिक रुपमा पनि अप्ठेरो अवस्थामा पुगेको छ।

त्यसैगरी महासंघमा चरम बेथिती तथा अनियमितता रहेको, साझेदारी कार्यक्रमहरुमा कमिसनको खेल हुने गरेको, संचालकहरुको खर्च अधिक रहेका कारण आर्थिक रुपमा धराशायी हुदै गएको स्रोतको दावी छ।अन्तर्राष्ट्रिय निकायहरुले दिएको राहत रकम समेत दुरुपयोग भएको स्रोतले जानकारी दिएको छ।



Leave a comment