हाइलाइट

नेचुरल साकोस १९ वर्षमा प्रवेश, १९ प्रतिवद्धता

नेचुरल साकोस १९ वर्षमा प्रवेश, १९ प्रतिवद्धता :: Sahakari Akhabar

काठमाडाैं । नेचुरल बचत तथा ऋण सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । संस्था बैशाख २४ गतेबाट १९ औं वर्षमा प्रवेश गरेको हो । सहकारी क्षेत्रमा आएका अनेक चुनौतीहरूका बाबजुत पनि सदस्यज्यूहरूको विश्वास, माया र भरोसा र साथकै कारण संस्थाले निरन्तर यात्रा गरिरहेको संस्थाकी अध्यक्ष शर्मिला अमात्यको भनाइ छ।

उनले विषम् परिस्थितिमा समेत संस्थाले सुदृढ वित्तीय अवस्था कायम राख्दै गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएको जनाएकी छन् । संस्थाले आफ्नो भिन्न पहिचान निर्माण गर्दै अघि बढ्न सकेको र सदस्यता विस्तार, बचत अभिवृद्धि, निरन्तर सदस्य शिक्षा, विस्तारित सेवा मञ्चहरूको सञ्चालन तथा सदस्यहरूको सामाजिक, आर्थिक उन्नतिका कार्यक्रममार्फत सदस्यकेन्द्रित कार्यक्रमलाई सशक्त बनाउँदै आएको जनाएकी छन् ।

स्वनियमन, सुशासन, पारदर्शिता र उत्तरदायी व्यवस्थापन प्रणालीलाई संस्थागत रूपमा आत्मसात गर्दै नेचुरल सहकारीलाई मुलुककै उत्कृष्ट तथा अग्रणी सहकारी संस्थाका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य रहेको अध्यक्ष अमात्यको भनाइ छ।

संस्था बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघद्वारा सञ्चालन गरिएको संगठनात्मक दीगोपना तथा संस्थागत सेवाका लागि स्वनियमन कार्यक्रममा आवद्ध रहँदै सहकारी व्यवस्थापनमा अझ उच्च मापदण्ड कायम गर्न निरन्तर अग्रसर रहेको संस्थाका सचिव विकल्प पाठमले जनाएका छन् ।

हाल संस्थामा १५ हजार ३४० जना सदस्य शेयर पुँजी १६ करोड ५६ लाख, जगेडा कोष १२ करोड ८० लाख र अन्य कोष १३ करोड ३३ लाख रहेको सचिव पाठकले जानकारी गराउका छन् । त्यसैगरी उनले संस्थामा कुल बचत २ अर्ब ४१ करोड, लगानीमा रहेको ऋण २ अर्ब २२ करोड तथा कुल सम्पत्ति ३ अर्ब ३७ करोड रूपैयाँ पुगेको जनाए ।

संस्थाले वित्तीय सेवा मात्र नभई प्रविधिमैत्री सेवा विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राख्दै समाजप्रतिको दायित्व निरन्तर निर्वाह गर्दै आएको उनको भनाइ छ । सामाजिक सुरक्षाको पक्षलाई समेत सुदृढ बनाउँदै २०८२ चैत्र मसान्तसम्म ३८५ सदस्यलाई स्वास्थ्य उपचार सुविधा, ५६ सदस्यलाई सुरक्षित मातृत्व सेवा, ३५५ सदस्यलाई जन्म संस्कार राहत तथा १० सदस्यका परिवारलाई मृत्यु संस्कार राहत प्रदान गरेको पाठकले जनाए ।

संस्थाका १९ प्रतिवद्धताः

१, सदस्य हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह गर्ने ।
२, युवा तथा महिलाको सक्रिय सहभागिता वृद्धि गर्दै नेतृत्व विकासमा जोड दिने ।
३, आन्तरिक नियन्त्रण प्रणालीलाई अझ मजबुत, पारदर्शी र प्रभावकारी बनाउने ।
४, सहकारीका मूल्य, मान्यता तथा सिद्धान्त अनुसार उत्तरदायी ढंगले कार्य गर्ने ।
५, सदस्य शिक्षा तथा वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने ।
६, पारदर्शिता, सुशासन र जवाफदेहिता सुनिश्चित गर्ने ।
७, नवप्रवर्तन तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै डिजिटल प्रणालीलाई प्राथमिकता दिने ।
८, उद्यमशीलता विकास र उत्पादनमुखी कार्यक्रममार्फत सदस्यको आयआर्जन वृद्धि गर्ने ।
९, दिगो विकास लक्ष्य अनुरूप सहकारीको भूमिका सुदृढ बनाउने ।
१०,साना तथा मझौला ऋण प्रवाहलाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधि बढाउने । 
११, संस्थाको रणनीतिक तथा व्यवसायिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
१२, सूचना तथा सञ्चार प्रणालीलाई छरितो, स्पष्ट र प्रभावकारी बनाउने । 
१३, समुदायप्रति सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू नियमित सञ्चालन गर्ने ।
१४, डिजिटल बैंकिङ सेवामार्फत सहज, सरल, सुरक्षित र छिटो सेवा प्रदान गर्ने ।
१५, जोखिम व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै संस्थागत स्थायित्व कायम गर्ने ।
१६, मानव संसाधन व्यवस्थापनलाई चुस्तदुरुस्त बनाई क्षमता विकासमा निरन्तर लगानी गर्ने ।
१७, सदस्यको समृद्धि र आर्थिक सशक्तीकरणका कार्यक्रमहरू विस्तार गर्ने ।
१८, निम्न आय वर्ग तथा पहुँच बाहिरका समुदायसम्म सेवा विस्तार गर्ने ।
१९, नियामक निकायबाट जारी निर्देशन, नीति तथा कानुनी प्रावधानको पूर्ण पालना गर्ने ।



Leave a comment