जिल्ला संघ व्यवस्थित गर्ने चाहना छ

जिल्ला संघ व्यवस्थित गर्ने चाहना छ :: Sahakari Akhabar
मुलुक संघिय संरचनामा गएपछि सहकारी क्षेत्रको पनि संरचना परिवर्तन भएको छ । संघ, प्रदेश र स्थानीय तहले सहकारीको नियमन प्रवद्र्धन गर्नेगरी सहकारीको क्षेत्राधिकार बाँढिएको छ । स्थानीय तहले सहकारीलाई प्रथमिकता नदिएको एकातिर छैँदैछ भने अधिकांश सहकारीका केन्द्रीय तथा जिल्ला संघहरुमा राजनितिक प्रभावले गर्दा अभियान सक्रिय हुनपाएको छैन । जिल्ला संघहरुको भूमिका कमजोर रहँदा प्रारम्भिक संस्थाहरु अभिभावक विहिन हुन पुगेका छन् । संघको नेतृत्वले सहकारीको पद ओगट्ने मात्र काम गरेकोले जिल्लाको सहकारी अभियान पछि पर्दै गएको छ । पछिल्लो समय सहकारी अभियानमा पछि परेको जिल्ला मध्येको सिन्धुपाल्चोक पनि एक हाे । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको सहकारी अभियानको बारेमा सहकारी अखवारले जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष चक्र बस्नेतसंग गरेको कुराकानीको संपादित अंश प्रस्तुत गरिएको छ ।

सिन्धुपाल्चोकको सहकारी अभियानलाई कसरी हेर्नु भएको छ ? 

सिन्धुपाल्चोकमा सबै प्रकारका प्रारम्भीक सहकारी संस्था सञ्चालनमा छन् । प्रारम्भीक सहकारी सबै सक्रिय भएर लागेका छन् । तर जिल्लाका छाता संगठनहरु कफी सहकारी संघ बाहेक सम्पूर्ण सहकारी संघ निश्क्रिय रहेको अवस्था छ।

यहाँको इज्जत धानेको भनेको बचत, कृषि र कफी सहकारी हुन् । विशेषगरी कफीले आफ्ना उत्पादन बाहिरी देशमा पु¥याएर बजार प्रवद्र्धन गरिरहेको छ । समग्रतामा भन्नु पर्दा कफी बाहेक अरु जिल्ला संघ सक्रिय छैनन् ।

धेरै जिल्लामा सहकारी अभियान सक्रिय देखिन्छ । संघसँगै प्रदेश, पालिकास्तरमा पनि संघ स्थापना हुन थालेका छन् । तर यहाँ जिल्ला संघहरुनै निश्क्रिय हुनुको कारण के देख्नुहुन्छ ?

अभियानमा लागेका मान्छेहरु सबै सहकारीसँग सम्बन्धीत र जानकार व्यक्तिहरु नै हुनुहुन्छ । जानकार हुुँदाहुँदै पनि त्यसलाई चलायमान बनाउन, सक्रिय बनाउन, सुब्यवस्थित बनाएर लैजाने विषयमा नेतृत्वले नेतृत्वदायी ढंगको भूमिका निर्वाह नगरेकै कारण हो । त्यसो भन्दा तितो पनि लाग्न सक्ला ।

नेतृत्व  तहमा रहेका मान्छे मध्ये हामी पनि जिम्मेवार हौला । प्रतिशतका हिसाबले केही बढी र घढी भन्ने होला । जिम्मेवारी लिएर बहन गर्न लागेको भए सायद सिन्धुपाल्चोक जिल्ला राष्ट्रियस्तरमा गुनाँसो गर्ने अवसर प्राप्त हुने थिएन । अभियानले पनि प्रयास गरेको छ । व्यक्तिगत ढंगबाट हामीले पनि प्रयास गरिरहेका छौं ।

सामूहिक ढंगले यसलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने नभए पनि नयाँ ढंगले जाने भन्ने प्रतिवद्धता जायर हुँदा पनि नभइरहेको अवस्था छ । अभियानका मान्छेहरु पनि जोडिएका छन् । गर्नुपर्छ भन्ने धारणा पनि छ । नेतृत्व तहमा बसेका व्यक्तिहरुको प्रारम्भीक सहकारीहरु राम्रैसँग सञ्चालन भइरहेका छन् । प्रारम्भीक सहकारीको नेतृत्व गर्ने संघहरु व्यवस्थित हुनुपथ्र्यो । तर व्यवस्थित भएको छैन । 

जिल्लामा ६ सय सहकारी हुँदा पनि संघहरु सक्रिय भएका छैनन् । कतिपय स्थानीय तहले सहकारीलाई वेवास्ता गरेको पनि पाइयो । अभिभावक नहुँदा यहाँका प्रारम्भीक सहकारीले के कस्ता समस्या भोगेका छन् ?

समस्या त थुर्पै भोग्नु पर्छ । सहकारीको विश्व आन्दोलनमा नेपाल पछाडी छ । देशमा सिन्धुपाल्चोक अरुको तुलनामा पछाडी छ । छिमेकी जिल्लाहरु दोलखा र काभ्रेका सहकारी निकै सक्रिय छन् । बीचको सिन्धुपाल्चोकमा सहकारीका गतिविधि खासै छैनन् । सबै क्षेत्रबाट कमजोर बनेको सिन्धुपाल्चोकका प्रारम्भीक सहकारीको क्षमता कस्तो छ भनेर अन्दाज गर्न सकिन्छ ।

अडिट गर्दा पल्र्स, एड्जस्ट गर्नुपर्ने अवस्था आइसक्यो । सम्बन्धको पाटो, अभियानको पाटो कमजोर हुने भइसकेपछि यहाँको अभियान पछि हुने नै भयो । जिल्ला संघहरु, विषयगत संघहरु सक्रिय हुँन्थे भने समन्वय गर्ने र परिचालन गर्ने, सम्पूर्ण कुराको सूचना दिने र गतिविधि अघि बढाउनमा टेवा पुग्ने थियो ।

समन्वय र परिचालन दुर्तगतिमा भएकाले छिमेकी जिल्लाहरु काभ्रे र दोलखाको सहकारी अभियान अगाडी छ । यहाँ संघ कमजोर भएका कारण देशको सहकारी आन्दोलनमा सिन्धुपाल्चोक पछाडी छ । 


जिल्लाका सहकारीको योगदान के देख्नुहुन्छ , सहकारीका कारण आर्थिक विकासमा पुगेको टेवा के  छ ?

जिल्लाको विषयगत विषयगत संघहरु सकृय नभएकाले जिल्लाको सम्पूर्ण प्रारम्भीक सहकारीको तथ्यांक संकलन गर्न सकिएको छैन । व्यक्तिगतरुपमा सूचना संकलन गर्नु अलग कुरा हो ।

तर संस्थागतरुपमा कुन प्रकृतिको सहकारीले सदस्यलाई कत्ति प्रभाव पार्यो, आर्थिक हैसियत उकास्न कत्तिको मद्धत गर्यो भन्ने कुरा प्रकाशमा आउन सकेको छैन । एकाथ प्रारम्भीक सहकारीको स्थिति हेर्दा आफ्नो समाजमा राम्रो प्रभाव पारेको देखिन्छ । कृषिकै क्षेत्रमा पनि राम्रो काम भएको छ ।

यहाँका कृषक सहकारी मार्फत कृषि तालिमका लागि इजरायल पनि गएका छन् । सहकारीले दक्ष जनशक्ति उत्पादन गरेर दुग्ध ब्यवसाय प्रवद्र्धन गरिरहेका छन् । सहकारी मार्फत अनुदान लिएर व्यवसायिक खेती पनि गरेहका छन् । बचत तथा ऋण सहकारीले पनि पछिल्लो चरणमा उत्पादनमा जोडिन थालेका छन् ।

उनीहरुले आफै तथा धेरै मात्रामा सदस्यलाई कृषिमै लगाएर जीवनस्तर सुधार गरिरहेका छन् । उत्पादनमा टेवा पुर्याइरहेका छन् । यहाँका सहकारीले सदस्य केन्द्रीत भएर व्यवसाय गरेको पाउन सकिन्छ  । तर त्यसलाई बजारसम्म जोड्ने काम, वृति विकास गर्ने, सूचना, प्रविधिका कुरामा संघ निश्क्रिय हुँदा सहकारी समस्यामा छन् ।

शहरमा पेपरलेस, क्याँसलेसको कुरा आइसक्यो, यहाँ कागजी प्रक्रिया  मिलाउने क्षमता विकास भएको छैन । अभियानले क्षमता बढाउन सक्नुपथ्र्यो, निश्क्रिय भएकै कारण समस्या आएको छ । अभियानलाई जोड्ने काममा सिन्धुपाल्चोक कमजोर भयो । असल अभ्यासन गर्ने थलो नै कमजोर भएका कारणले ग्याप छ । 

तपाइ प्रदेश बचत संघको सञ्चालक पनि हुनुहुन्छ, प्रदेशको बचत अभियानलाई कसरी हेर्नुभएको छ ? निश्क्रिय भएता पनि तपाई जिल्लाको उपाध्यक्ष भएकाले सक्रिय बनाउँदै गर्दा कस्ता भिजन ल्याउनु भएको छ ?

एक वर्ष भयो प्रदेश बचत सहकारी संघ गठन भएको । सिन्धुपाल्चोकको तर्फबाट प्रतिनिधित्व भएर त्यहाँ जानु त्यति धेरै रुची पनि होइन । सिन्धुपाल्चोककै समग्र अवस्था सुधार गर्नुपर्छ भनेर त्यहाँ प्रतिनिधित्व गरेको हुँ ।

अहिलेको परिवर्तन अनुसार प्रदेश ऐन र राष्ट्रिय सहकारी ऐन २०७४ अनुसार गर्नुपर्ने व्यवस्था गर्न हामी क्रियाशील छौं । प्रदेश बचत तथा ऋण सहकारी संघले योजना बनाएर अघि बढ्दै छ ।

अहिले व्यक्तिगत तथा सामूहिक तवरले सिन्धुपाल्चोकको सहकारी अभियानलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल चलिरहेको छ । कोभिडको सहज परिस्थिति हुनासाथ केही महिनाभित्र संघ व्यवस्थित गर्ने योजना छ ।

यदी व्यवस्थित भयो भने बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले योजना बनाइसकेको छ । त्यही अनुसार नै अगाडी बढ्नै छौं । अरु अभियानले पनि योजना बनाएका छन् । राष्ट्रिय सहकारी महासंघले पनि जिल्ला संघहरु सुधार गर्न अनुगमन गरेको थियो । त्यसकारण केही समयभित्र जिल्ला संघ सक्रिय ढंगले लाग्ने छ ।

राम्रो बनाउनका लागि शहर र ग्रामीण भेगका जुनसुकै प्रकृतिका सहकारीमा पनि खाडल छ । खाडल परिपूर्ती गर्न सञ्चार माध्यमको पनि अंहम भूमिका छ । सहकारी अभियानको पनि अंहम भूमिका छ ।

हाम्रो रणनीति तथा वार्षिक कार्ययोजना अनुसार एड्जस्मेन्ट गरेर योजना बनाउने र बनाएका योजना कार्यान्वयन गर्नतर्फ लाग्छौं । थप योजना बनाएर जिल्ला संघ व्यवस्थित गर्ने चाहना छ । त्यसरी गइयो भने पक्कै पनि प्रारम्भीक सहकारीहरु सुदृढ हुन्छन् । प्रारम्भीक सहकारी बलियो हुनु भनेको छाता संगठन नै बलियो हुनु हो । 

स्थानीय तहले सहकारीलाई कसरी हेरेका छन् । स्थानीय तह र सहकारीबीच कस्ता विषयमा सहकार्य भइरहेको छ ?

मुख्यतया संघीयता अनुसार जे कुरो सहकारीलाई अगाडी बढाउने उल्लेख गरेको छ, त्यो अनुसार हुन सकेको छैन । सम्पूर्ण स्थानीय निकायमा सहकारीका निकाय रहने व्यवस्था छ । तर त्यो कागजमा मात्र सीमित छ ।

ती सवै तहमा सहकारी शाखा तथा सहकारी हेर्ने कर्मचारी पाउन सकिन्न । प्रारम्भीक क्षेत्रमै पूर्ण नभएकाले अरु प्रक्रिया व्यवस्थित हुने कुरो आएन । स्थानीय तहहरुले यथाशीर्घ त्यो सम्बन्धी व्यवस्थापन गरेर यहाँका सहकारीहरुलाई तदनुरुप क्रियाकलाप सञ्चालन गर्ने व्यवस्थापन गर्न जरुरी छ ।

यसो गर्न सकेमा सहकारीको वृति विकास, नियम कानुन अनुसार चले, नचलेका सबै कुरा यथार्थ चित्रण गर्न सकिन्छ । कुन स्थानीय तहमा कस्ता प्रकृतिका सहकारी छन् भन्ने डाटा आउन सके मात्रै जिल्लाको समग्र स्थितिबारे थाहा पाउने हो ।

यदी स्थानीय तहमा सहकारी विषय सम्बन्धी ठिक ढंगले काम गर्ने प्रणालीको विकास भयो भने सहकारीको पनि विकास हुन्छ । प्रारम्भीक सहकारीहरु सकेसम्म सहकारी ऐन, नियमावली, मापदण्ड अधिनमा रहेर काम गरेका छन् ।

स्थानीय तहले गतिविधि कतै बढी कतै कम हुने नै भयो । गाउँपालिका, नगरपालिकामा संघहरु सक्रिय भएको भए पक्कै पनि सहकारीले राम्रो स्थान लिने थियो । जिल्ला संघ सक्रिय नभएका कारण स्थानीय तहले पनि सहकारीलाई वेवास्ता गरेका छन् ।




Leave a comment