काठमाडौं । राष्ट्रिय सहकारी बैंक दमौली शाखा र जिल्ला सहकारी संघ तनहुँको संयुक्त आयोजनामा तीन जिल्लामा योजना निर्माण तालिम का सहकारीलाई योजना निर्माण सम्वन्धि तालिम दिएको छ । बैंकले एक दिने भर्चुअल रुपमा वार्षिक योजना तथा बजेट तर्जुमा सम्वन्धि बिहीवार तालिम दिएको हो ।
दमौली शाखा अन्तरगत तनहुँ, गोरखा र लमजुङका सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल तालिम दिइएको आयोजकले जनाएको छ ।
तालिममा तीन जिल्लाका विभिन्न सहकारी संघ संस्थाका ८० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीले सञ्चालन गरेको व्यवसायलाई प्रभावकारी र मर्यादित बनाउदै व्यवसायिक रुपमा सफलता प्राप्त गर्नका लागि योजना निर्माण र कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीमा योजना निर्माण अनिवार्य रहेको भन्दै योजना बनाउने समयमा सहकारी ऐन, नियमावली, विभिन्न समयमा जारी भएका निर्देशन र संस्थाको विनियमका साथै सदस्यहरुको आवश्यकता र चाहनालाई समेत ध्यान दिनु पर्ने बताए ।
बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, सचिव मदन पण्डितले सहकारी बैंकसंगको सहकार्यमा सञ्चालित तालिम प्रभावकारी भएको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
Leave a comment