स्याङ्जा । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्थानीय तह र सहकारी अभियानबीच सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा शुक्रवार १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीको अनुगमन, नियमन र प्रवद्र्धनका लागि स्थानीय सरकार र सहकारी अभियानबीच सहकार्य गरी अगाडि बढ्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।
जिल्ला सहकारी संघ स्याङ्जा, जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जा, राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखा र पुतली बजार नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि सरकार र सहकारीबीच समन्वय आवश्यक रहेको बताइन ।
सहकारीहरुको प्रभावकारिताका लागि सबै पालिकाहरुले नियमन, अनुगमन र प्रवद्र्धनका लागि सहकारी संघहरुसंग मिलेर काम गर्न सके गरिवी न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिने भएकाले सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइन ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले स्थानीय सरकार र सहकारीबीचको सहकार्य, नियमन तथा अनुगमन सम्बन्धमा सहजीकरण गरेका थिए । सहकारीको प्रवद्र्धनका लागि स्थानीय तह र सहकारी अभियानबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै उनले सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।
जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले स्याङ्जाको सहकारी अभियानलाई प्रभावकारी बनाउन, सहकारीमार्फत उत्पादन बढाउन, सहकारीहरुलाई व्यवस्थित र उद्देश्यमुलक बनाउनका लागि शिक्षा, तालिमका साथै प्राविधिक ज्ञान आवश्यक रहेको बताए ।
स्याङ्जा शितभण्डार सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठले सहकारीलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि अभियान र स्थानीय सरकारबीचको सहकार्य र समन्वयमा जोड दिए ।
कार्यक्रममा स्याङ्जाका सबै पालिकाका सहकारी शाखाका प्रमुखहरु, जिल्ला तथा विषयगत सहकारी संघका पदाधिकारी तथा सदस्यहरु, सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि र प्रवन्धकहरु सहित एकसय जनाको सहभागिता रहेको थियो ।
Leave a comment