जिल्ला संघ निश्कृय हुँदा सहकारीले आफै मनाए संयुक्त सहकारी दिवस     

जिल्ला संघ निश्कृय हुँदा सहकारीले  आफै मनाए संयुक्त सहकारी दिवस      :: Sahakari Akhabar

बागलुङ । पर्वतका ५ वटा सहकारी संस्थाहरुले संयुक्त रुपमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । साना किसान कृषि सहकारी संस्था, मल्लाज बहुउद्देश्यीय सहकारी संस्था, अभियान कृषि सहकारी संस्था, नवसिर्जनशिल कृषि सहकारी संस्था र माझफाँट महिला वचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा सहकारी दिवस मनाइएको हो ।

पर्वत जिल्लामा जिल्ला सहकारी संघ क्रियाशिल नहुदा जिल्लास्तरमा सहकारी दिवस मनाउने अवस्था नभएकाले स्थानीय स्तरमा सञ्चालित सहकारी संस्थाहरु मिलेर सहकारी दिवस मनाएको सहकारीकर्मीहरुले बताएका छन् । सहकारी दिवस हाम्रो चाड हो, यसलाई सबै मिलेर मनाउनु पर्छ, सहकारीका विषयमा जनतामा सकारात्मक सोच विकासका लागि सहकारी दिवसले सहयोग गर्ने सहभागीहरुले बताएका छन् ।

यस वर्षको सहकारी दिवसका थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी विषयमा सहभागीहरुबीच छलफल भएको थियो । सोही अवसरमा मल्लाजका सहकारीहरुको संस्थागत विकास, व्यवसायिक सक्रियता र सहकारी मर्म अनुसार अगाडि बढाउनका लागि सहकार्य र समन्वयका लागि मल्लाज स्तरीय सहकारी सञ्जाल समेत गठन गरिएको छ ।

साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हेम कुमारी अधिकारीको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लाल बहादुर अधिकारी, नवसिर्जनशिल कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर खत्री, अभियान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला खत्री र माझफाँट महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ता लामिछाने रहनु भएको छ ।

मल्लाजका सहकारीहरुको क्षमता विकास र व्यवसायिक सक्रियताका साथै सहकारीमा आइपर्ने समस्याहरुको समाधानका लागि एकीकृत रुपमा काम गर्नका लागि सञ्जाल गठन गरिएको संयोजक अधिकारीले जानकारी दिए । कार्यक्रममा आयोजक सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरु र प्रवन्धक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लाल बहादुर अधिकारी, माझफाँट महिला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष निर्मला खत्री, साना किसान कृषि सहकारी संस्थाका सचिव डम्बर बहादुर जिसी, नवसिर्जनशिल कृषि सहकारी संस्थाका सचिव कृष्णप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



Leave a comment