काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले सहकारीलाई व्यावसायिक र प्रविधि मैत्री बनाउनुपर्ने बताएका छन् । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शुक्रवार शुभकामना सन्देश दिँदै सह अध्यक्ष पौडेलले सहकारीलाई समयसापेक्ष प्रविधि मैत्री बनाउँदै सदस्यलाई छिटो, छरितो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए ।
प्रविधि बिस्तार गरी सहकारी संस्थालाई सबल, सक्षम, पारदर्शी र प्रतिस्पर्धी वित्तीय संस्थाको रूपमा विकास गर्न आवश्यक भएको बताए । सहकारी ऐन, नियमावली, सहकारीको प्रस्तावित २५ वर्षे दीर्घकालीन रणनीतिले सहकारीमा प्रविधिलाई प्रयोगमा ल्याउन प्रोत्साहित गरेको पौडेलद्वारा जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
सहकारीले मुलुकको गरिबी न्यूनीकरण गर्न सक्नुपर्ने बताए । मुलुकको आर्थिक समृद्धिको सारथि बन्न सक्नुपर्ने बताएका छन् । सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने उनको जोड छ ।
यो वर्ष मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नारासहित देशभर सहकारी दिवस मनाइँदै छ । देशभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था छन् । ती सहकारीमा ७३ लाख भन्दा बढी सदस्य आबद्ध छन् ।
दिवसका अवसरमा पौडेलले संविधानले सहकारी क्षेत्रलाई तोकेको जिम्मेवारी, सहकारीको सिद्धान्त, मूल्य, मान्यता, मर्म र भावना अनुसार चल्न प्रेरणा दिने बताए । ‘संविधानको मर्म अनुरूप सहकारीले समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सघाउनु पर्छ,’ सह अध्यक्ष पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।
Leave a comment