काठमाडौँ । प्रस्तावित नेपाल सहकारी बैङ्क लिमिटेडको फाइल राष्ट्र बैङ्कमा पुगेको छ । नयाँ बैङ्क दर्ता तथा बैङ्किङ कारोबार अनुमतिका लागि फाइल राष्ट्र बैङ्कमा बुझाइएको हो । प्रस्तावित नेपाल सहकारी बैङ्क तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले बैङ्क स्थापनाका लागि स्वीकृत प्रदान गर्न राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फाइल हस्तान्तरण गरे । पत्र बुझ्दै गभर्नर अधिकारीले कानुनी व्यवस्था अनुसार प्रक्रिया अघि बढ्ने बताए ।
राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान बढाउन, सहकारी क्षेत्रलाई दिगो र गुणस्तरीय बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैङ्क स्थापनाको प्रस्ताव लगिएको भण्डारीले बताए । सहकारी ऐनमा बैङ्क स्थापना गर्न राष्ट्र बैङ्कको स्वीकृति लिने प्रावधान छ ।
यसअघि सहकारी विभागमा फाइल बुझाइएको छ । विभाग उक्त फाइल अध्ययन गर्ने क्रममा छ । बैङ्कका सञ्चालक ज्ञानेन्द्र पौडेलले बैङ्क स्थापनाको लागि प्रक्रिया अगाडि बढाउन सहकारी विभागमा पत्राचार गरिदिन आग्रह गरेका छन् । सहकारीको बैङ्कको रूपमा राष्ट्रिय सहकारी बैङ्कले काम गर्दै आएको छ । उक्त बैङ्कका १२ हजार सदस्य पुगेका छन् ।
देशभर ३० हजार सहकारी सञ्चालनमा छन् । एउटा मात्र सहकारी बैङ्क भएकाले अरू बैङ्क पनि आवश्यक भएको राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले बताए । सहकारीबाट ८ खर्ब भन्दा बढी निक्षेप सङ्कलन भई कर्जा परिचालन भएकोमा एउटा बैङ्कले मात्रै सहकारीको आवश्यकता पूरा गर्न नसक्ने भन्दै अर्को बैङ्क स्थापना गर्ने गृहकार्य भएको हो । बैङ्कका सल्लाहकार भानुभक्त ढकालले एउटा मात्र बैङ्कले सबै सहकारीलाई सेवा दिन नसक्ने भएकाले अर्को सहकारी बैङ्क आवश्यक रहेको बताए ।
Leave a comment