बागलुङ । जिल्ला सहकारी संघ बागलुङको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न सभामा संघकी कोषाध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले आर्थिक वर्ष ०७६/०७७ को प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
उनले संघमा ११ लाख ३६ हजार शेयर पूँजी, ३५ लाख ८२ हजार ८१ रुपैया निक्षेप, ४१ लाख ५० हजार कर्जा लगानी सहित संस्थाको कुल वासलात ५७ लाख ९१ हजार ६६ रुपैया रहेको जानकारी दिइन् ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी ऐनमा भएका विषयहरुलाई कार्यान्वयन गर्दै परिवर्तन गर्नु पर्ने विषयमा निरन्तर दवाव सिर्जना गर्नु पर्नेमा जोड दिए । कोरोना महामारीका कारण सहकारीमा तरलता थुप्रिएको हुनाले अब सहकारीहरुले योजना बनाएर लगानी गर्नु पर्ने बताए ।
राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरु संस्थागत रुपमा मुनाफा आर्जनमा केन्द्रीत भएको बताए । उनले सहकारीले आफ्नो मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन् । सहकारीहरुले मुनाफा भन्दा सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि योजना निर्माण गरेर काम गर्नु पर्ने बताए ।
Leave a comment