काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पर्याउने उद्देश्यले उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो ।
भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको संस्थाका अध्यक्ष मुकुन्द शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य रहेको अध्यक्ष शर्माको भनाइ छ । संस्थाले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
उनले सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै कोषमा सहयोग गरेको जनाए । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Leave a comment