हाइलाइट

नेकपा एमालेको घोषणाः बचतकर्ताको रकमफिर्ता गर्नेदेखि, सहकारीमा दोहोरोपन हटाउनेसम्म

नेकपा एमालेको घोषणाः बचतकर्ताको रकमफिर्ता गर्नेदेखि, सहकारीमा दोहोरोपन हटाउनेसम्म :: Sahakari Akhabar

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपीशर्मा ओलीले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले सहकारीलाई सुशासन, पारदर्शिता र सदस्य केन्द्रित प्रणालीमा आधारित सुरक्षित, उत्पादनशील र विश्वासयोग्य आर्थिक स्तम्भका रूपमा विकास गर्दै पुनः स्थापित गर्ने बताए।

कृषि, उत्पादन, मूल्य शृङ्खला, प्रशोधन, भण्डारण र बजार व्यवस्थापनको केन्द्रमा राखि सहकारीमार्फत् ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने जनाए । सहकारी दर्ता, प्रतिवेदन, अनुगमन र सूचना प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने, सहकारीको व्यावसायीकरण, ब्रान्डिङ, गुणस्तर प्रमाणीकरण र ईकमर्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने जनाए ।

घोषणापत्रमा दीर्घकालीन राष्ट्रिय सहकारी नीतिमार्फत सुरक्षित बचत, उत्पादनशील अर्थतन्त्र र समृद्ध नेपालको आधार तयार गर्ने, समस्याग्रस्त सहकारीका कारण पीडित भएका बचतकर्ताको रकम छिटो, पारदर्शी र उत्तरदायी ढङ्गले फिर्ता गर्ने, दोषीमाथि कडा कारबाही गर्दै दोषीबाट असुली हुने व्यवस्थासहित बचत फिर्ता ग्यारेन्टी कोष स्थापना गर्ने उल्लेख छ।

त्यसैगरी सङ्घ, प्रदेश र स्थानीय तहबीच कार्यक्षेत्र स्पष्ट गरी सहकारी नियमनलाई एकीकृत, सरल र प्रभावकारी बनाउने, तथा दोहोरोपन हटाउने, वित्तीय कारोबार गर्ने सहकारीको कडा निगरानीका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई आवश्यक कानुनी अधिकार, आधुनिक प्रविधि र दक्ष जनशक्ति प्रदान गर्ने र ठगी, अपचलन र गैरकानुनी गतिविधिमा शून्य सहनशीलता अपनाउने जनाए ।

कृषि, मूल्य शृङ्खला, प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहकारीको नेतृत्वकारी भूमिका सुनिश्चित गर्ने, दर्ता, प्रतिवेदन, अनुगमन र सूचना व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने, सहकारी उत्पादनलाई ब्रान्डिङ र ईकमर्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उल्लेख गरे ।

त्यसैगरी युवा, महिला, श्रमिक र सीमान्तकृत समुदाय लक्षित सहकारीमार्फत रोजगारी र स्वरोजगार सिर्जना गर्ने, बन्द तथा निष्क्रिय सहकारीबाट कर्जा लिई धितो रोक्कामा परेका ऋणीहरूको समस्या समाधान गर्न विशेष कानुनी संयन्त्र लागू गर्ने, सहकारी अभियन्ता, सञ्चालक, कर्मचारी तथा नियामकका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, सहकारी प्रशासनलाई व्यावसायिक, उत्तरदायी र विशिष्ट सार्वजनिक सेवाका रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी र सहकारी लगानी अभिवृद्धि गर्दै लगानी व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र कुशल बनाउने, सहकारी, निजी तथा सामुदायिक संस्थामा महिला नेतृत्व उल्लेख्य रूपमा बढेको बताएको छ । बैङ्किङ्ग र वित्तीय तथा सहकारी प्रणालीलाई सुदृढ र विश्वसनीय बनाउने, क्षेत्रगत उत्पादन र उत्पादकत्व बृद्धि गरी निर्यात व्यापारमा उल्लेखनीय बृद्धि गर्ने घोषणापत्रमा उल्लेख छ।



Leave a comment