काठमाडौं । सहकारी ठगी र लघुबित्त पिडितलाई न्यायदिने उज्यालो नेपाल पार्टीले चुनावी घोषणापत्र मार्फत घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले सहकारी तथा लघुवित्तको अनियमिततामा संलग्न अभियुक्तहरू विरूद्ध विस्तृत अनुसन्धान गरी कानुनी कारवाहीका लागि उच्चस्तरीय न्यायिक आयोग मार्फत पिडितलाई न्याय दिलाउने व्यवस्था गरिने बताए ।
सहकारीका ५ लाख रुपैयाँसम्मका बचतकर्ताहरूलाई सरकारले क्रमिक रुपमा पिडकबाट असुलउपर हुनेगरी बचत रकम फिर्तागर्न पहल गर्ने उनले जनाए । त्यसैगरी मिटरव्याजबाट पिडितहरूलाई मूल धनभन्दा बढीको अवैध ब्याज माफी दिने व्यवस्था सुनिश्चित गरी पिडकलाई हदैसम्मको कारवाही गर्ने व्यवस्था मिलाइने जनाए ।
समृद्धितर्फ स्वदेशी पूँजी परिचालन गर्दै निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य विस्तार गर्ने र आवश्यक प्राथमिकता क्षेत्रहरूमा वैदेशिक लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिएको जनाए । त्यसैगरी कृषि सहकारी स्टार्टअप फन्ड स्थापना गरी युवा किसान समूहलाई २५ लाखसम्मको सहुलियत ऋण ५ वर्षका लागि उपलब्ध गराउने व्यवस्था मिलाइने जानकारी गराए ।
कृषि सिंचाइको लागि प्रयोगहुने विद्युत निःशुल्क दिने व्यवस्था गरिने, व्यवसायिक कृषि गर्ने किसानको लागि माछा, कुखुरा तथा बाखा पालन, च्याउ उत्पादन, चिया खेती आदी कार्यका लागि सहुलियतपूर्ण विद्युत महशुलको व्यवस्था मिलाइने अध्यक्ष घिसिङले बताए ।
Leave a comment