काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘संघर्षसँगै समृद्धितर्फ’ नारासहित घोषणापत्र सार्वजनिक गरेको थियो ।
सहकारीद्वारा अपचलित रकम फिर्ता गराउँदै सहकारी पीडितलाई न्याय दिलाइने घोषणापत्र सार्वजर्निक गरेको छ । त्यसका साथै जसपाले कृषि जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरणका साथै खण्डीकृत जमिन, परम्परागत खेती, कमजोर भण्डारण संरचना, उत्पादनको उचित मूल्य निर्धारण तथा बजारको अभावका कारण कृषि क्षेत्र उत्पादनशील हुन नसकेको जनाएको छ।
जसपा, नेपाल वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती र आधुनिक प्रविधिमार्फत कृषिलाई प्रतिस्पर्धी, दिगो र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यसैगरी वैज्ञानिक चक्लाबन्दी कार्यक्रम लागू गरिने, सहकारीमा आधारित सामूहिक खेती विस्तार गरिने, र यान्त्रीकरण र सिँचाइ प्रणालीलाई तीव्र रूपमा विस्तार गरिने जनाएको छ ।
आधुनिक भण्डारण तथा शीतभण्डार प्रणाली विस्तार गरिने, नगद केन्द्रित कारोबारले भ्रष्टाचार, कालोधन र आर्थिक अपारदर्शिता बढाएको भन्दै नेपाललाई नगदरहित कारोबार गर्ने देशको रूपमा रूपान्तरित गर्दै लगिने घोषणापत्रमा उल्लेख छ ।
Leave a comment