काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा सहकारीको विषय पनि उठान गरेको पाइन्छ । पार्टीले हालै सार्वजनिक गरेको निर्वाचन प्रतिबद्धतामा बचत तथा ऋण सहकारीको प्रभावकारी सुपरिवेक्षण गर्ने र संकटबाट प्रभावित असल सहकारी संस्थालाई पुनर्जीवित गर्न विशेष पुनरुत्थान प्याकेज कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।
घोषणापत्रमा “बचत तथा ऋण सहकारीको प्रभावकारी सुपरिवेक्षणको व्यवस्था गरिनेछ र सहकारी क्षेत्रमा आएको संकटका कारण प्रभावित भई कार्य सञ्चालन सुचारु हुन नसकेका असल सहकारी संस्थाहरूको निम्ति बचतकर्ताको कम्तीमा पनि तोकिएको न्यूनतम साँवा फिर्ता पाउने प्रत्याभूति सहितको विशेष पुनरुत्थान प्याकेज कार्यान्वयनमा ल्याइनेछ ।”
प्रतिबद्धतामा सहकारीलाई केवल वित्तीय संस्थाका रूपमा नभइ, सामूहिकता र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । कृषिदेखि उद्यमशीलतासम्म सहकारीको भूमिकालाई बलियो बनाउने नीति लिइने उल्लेख छ ।
त्यसैगरी सहकारी क्षेत्रमा देखिएका बेथिति, कमजोर नियमन र विश्वासको संकट अन्त्य नगरी समग्र अर्थतन्त्र सुदृढ हुन नसम्ने भन्दै अबको चरणमा कडाइकासाथ नियमन, पारदर्शिता र सुशासन सुनिश्चित गरिने उल्लेख छ। विशेषतः सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकको रकम सुरक्षित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उक्त पार्टीले बचतकर्ताको विश्वास पुनःस्थापना नै पुनरुत्थान कार्यक्रमको केन्द्रमा रहने स्पष्ट पारेको छ ।
Leave a comment