हाइलाइट

राजविराजको आइडियल साकोसले पनि लियो दुवै संस्थाको सदस्यता

राजविराजको आइडियल साकोसले पनि लियो दुवै संस्थाको सदस्यता :: Sahakari Akhabar

काठमाडौं । राजविराज सप्तरीमा मुख्य कार्यालय रहेको आइडियल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको इजाजतपत्र र कर्जा सूचना केन्द्रको सदस्यता पनि लिएको छ । संस्थाले माघ ११ गते नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको हो भने कर्जा सूचना केन्द्रमा माघ २५ गते आवद्ध भएको हो ।

सप्तरी जिल्लाभरी कार्यक्षेत्र रहेको आइडियल साकोसले प्राधिकरणको इजाजतपत्र नं २०५८–००८१२ प्राप्त गरेको छ भने सूचनाकेन्द्रले सिओपी १०१ दर्ता नं प्रदान गरेको छ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अनिवार्यरुपमा प्राधिकरणबाट संचालन इजाजतपत्र लिनुपर्ने र कर्जा सूचनाकेन्द्रमा आवद्ध हुनुपर्ने सहकारी ऐनले व्यवस्था गरेको छ ।

बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था पहिला प्राधिकरणमा दर्ता भएपछि मात्र कर्जा सूचनाकेन्द्रको सदस्यता पाउने व्यवस्था सरकारले गरेको छ । सोही अनुरुप यस सहकारी संस्था दुवै निकायमा दर्ता भएको हो ।

कर्जा सूचनाकेन्द्रको सदस्यता लिएपछि सहकारीहरुले पनि कर्जा मागगर्ने सदस्यहरुको आर्थिक क्रियाकलापको अध्ययन एवं विश्लेषणमा सहज हुनुका साथै सहकारीबाट ऋण लिएर नतिर्ने र लामो समयदेखि भाखा नघाएर बस्ने ऋणी सदस्यलाई कालो सूचीमा राख्ने समेतका प्रकृया अगाडी बढाउन सकिने भएको छ ।

१८ हजार २२० जना कूल सदस्य तथा १ हजार १३३ जना ऋणी सदस्य रहेको संस्थाको ७५ करोड ५ लाख ४० हजार ऋण लगानीमा रहेको छ । त्यसैगरी संस्थामा १२ करोड ३९ लाख ६८ हजार शेयर पूँजी, १३ करोड ४८ लाख २२ हजार जगेडा कोष र २ करोड ७ लाख ६३ हजार अन्य कोष रहेको छ ।

१ अर्ब २० करोड १९ लाख ९७ हजार बचत रहेको संस्थाको कूल सम्पत्ति १ अर्ब ५६ करोड ७८ लाख ६० हजार रहेको जनाइएको छ । पछिल्लो समय सरकारले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य गरेपछि सहकारीहरुले केन्द्रको सदस्यता लिन बढी चासो देखाएका छन् । सहकारीमा सदस्य तथा संचालकहरुले सहकारीको पैसा अपचलन गर्दा, संस्थामा खराब कर्जाको मात्रा बढदै गएपछि, सरकारले सहकारीलाई सूचनाकेन्द्रमा जाने व्यवस्था गरेको हो ।

कर्जा सूचनाकेन्द्रले सहकारीलाई पनि आवद्ध गराउने भएपछि अहिले सहकारीहरु सूचनाकेन्द्रको सदस्यताको लागि चासो देखाउन थालेका छन् । सहकारीले कर्जा सूचनाकेन्द्रको सदस्यता पाएपछि अन्य बैंक वित्तीय संस्थाले जस्तै सूचनाकेन्द्रको सेवा लिनपाउने छन् ।

सहकारीहरु कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सूचनाकेन्द्रले सहकारीलाई पनि ‘अन्य बैंक र वित्तीय संस्था सरह कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्छ । सहकारी कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सूचना केन्द्रसंग मिलेर बैंक वित्तिय संस्थाले जस्तै सहकारीका ऋणी सदस्यका बारेमा जानकारी दिने र ऋण लिने सदस्यको बारेमा जानकारी लिन सकिने भएको संस्थाका अध्यक्ष गणश आशले बताए ।

सूचना केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि मंसिर १० गतेबाट अनलाइन पोर्टल सुरुगरेको थियो । संस्था अभिलेखिकरणका लागि प्राधिकरणले समय थपगरी फागुन ११ गतेसम्म पुर्याएको छ ।



Leave a comment