हाइलाइट

सहकारी बैंक पुष मसान्तसम्म ५५लाख बढी नाफामा

सहकारी बैंक पुष मसान्तसम्म ५५लाख बढी नाफामा :: Sahakari Akhabar

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको पुषमसान्तसम्म ५५लाख बढी नाफा गरेको छ । बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्म ५५ लाख २७ हजार ५१८ रुपैयाँ खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख ३१ हजार रुपैयाँभन्दा बढी नोक्सानमा रहेको थियो ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत त्रैमासिक नाफा–नोक्सान हिसाब बिवरण अनुसार बैंकको ब्याज आम्दानी तथा ब्याज खर्च दुवै घटेको छ । खुद ब्याज, शुल्क र कमिशन आम्दानी पनि अघिल्लो त्रैमासको तुलनामा संकुचित छ । अन्य सञ्चालन आम्दानीमा भने सुधार आएको देखिन्छ । बैंक यस वर्ष नाफामा फर्किनुमा यही अन्य सञ्चालन आम्दानी निर्णायक देखिन्छ ।

यदि यो आम्दानी नआएको भए बैंकको सञ्चालन नतिजा झनै कमजोर रहने सम्भावना थियो । त्यसैले हालको नाफा कोर बैकिङ आम्दानी नभइ, अतिरिक्त सञ्चालन स्रोतमा आधारित रहेको छ । ब्याज खर्च र प्रशासनिक खर्च तुलनात्मक रूपमा नियन्त्रणमा रहेको बताइएको छ ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस ०.१९ रुपैयाँ पुगेको छ, जुन गत वर्ष भने ऋणात्मक अवस्थामा थियो । बैंकको शेयरपूँजी २ अर्ब ९० करोड ४४ लाख छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड १९ लाख रहेको छ । बैंकले सहकारी संस्थाहरूबाट ४८ अर्ब ५१ करोड ६७ लाख निक्षेप संकलन गरेको छ ।

त्यसैगरी ११ अर्ब ९८ करोड २६ लाख रकम संस्थाहरूलाइ कर्जा लगानीमा रहेको जनाएको छ । बैंकको कुल सम्पत्ति ५२ अर्ब ३ करोड ११ लाख रहेको छ । त्यसैगरी ३१ अर्ब ३४ करोड माथि अर्थात ६४.६० प्रतिशत रकम बैंकमा तरलता रहेको बिवरणमा उल्लेख छ ।



Leave a comment