काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता गर्ने समय ६० दिन पुग्न ४ दिन मात्र बाँकी छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुलाई प्राधिकरणमा दर्ता गर्न ६० दिनको समय दिइएको थियो ।
प्राधिकरणले गत मंसिर १० गतेबाट सहकारी दर्ता आवेदन लिन सुरुगरेको थियो भने दर्ता गरिसक्न ६० दिनको समयसिमा तोकेको थियो । यो समयसिमा माघ ९ गते सकिदैछ । अभिलेखिकरणको समय चारदिन बाँकी हुँदा प्राधिकरणमा जम्मा २ हजार ८२८ संस्थाले मात्र संचालन इजाजतकालागि आवेदन दिएका छन् ।
१६५ संस्थाले संचालन इजाजत पत्र पाएका छन् भने १४४ वटा संस्थाको अन्तिम रुजु गर्ने तयारी र १४४ वटै संस्थाको भेरीफाई हुन बाँकी रहेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए । उनले भने, सवै संस्थालाई सहभागि हुनेगरी समय थप गर्नुपर्ने हुन्छ, त्यसकालागि छलफल भइरहेको छ ।
पछिल्लो आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार देशमा ३२ हजार ९६५ संस्था रहेको जनाइएको छ । त्यसमा १४ हजारको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था रहेको बताइएको छ ।
त्यसैगरी फरक उद्देश्य रोख स्थापना भएका भएपनि अधिकांश संस्थाले बचत तथा ऋणको मुख्य काम गरेको पाइन्छ तर त्यस्ता संस्था दर्ता अभिलेखिकरणमा नआएको बताइन्छ ।
अहिले सम्म ५ वटा जती फरक उद्देश्यका संस्था अभिलेखिकरण भएका हुनसक्छन्, उपनिर्देशक कर्णले भने । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ । सहकारीहरुले अनुमतिपत्रका लागि प्राधिकरणको अनलाईन मार्फत अभिलेखिकरण गर्नुपर्ने हुन्छ ।
प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो ।
Leave a comment