हाइलाइट

सहकारी बैंकले केवाइएम अद्यावधिक नगरे कारोबार रोक्का गर्ने 

सहकारी बैंकले केवाइएम अद्यावधिक नगरे कारोबार रोक्का गर्ने  :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघसंस्थाहरुलाई (केवाइएम) सदस्य पहिचान विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण, नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट जारी निर्देशन र प्रचलित कानुन बमोजिम सदस्य पहिचान विवरण अद्यावधिक नगरेका सदस्यहरूसँग कारोबार जारी राख्दा कानुनी जटिलता देखिएको जनाएको छ ।  बैंकले २०८२ माघ १९ गतेभित्र अनिवार्य रूपमा सदस्य पहिचान विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको बैठकको निर्णयअनुसार बैंकसँग आबद्ध सम्पूर्ण सदस्य संघ÷संस्थाले २०८२ माघ १९ गतेभित्र आफ्नो विवरण अद्यावधिक गरिसक्नुपर्नेछ । तोकिएको समय सीमाभित्र विवरण अद्यावधिक नगरिएमा प्रचलित कानुन तथा निर्देशनअनुसार सम्बन्धित सदस्यसँगको कारोबार रोक्का गर्नेसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बैंकले सूचनामार्फत स्पष्ट पारेको छ ।

वित्तीय पारदर्शिता कायम राख्न तथा सम्भावित कानुनी जोखिम न्यूनीकरण गर्न यो प्रक्रिया अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै बैंकले सबै सदस्यहरूलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । यस सम्बन्धी थप जानकारी आवश्यक परेमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।



Leave a comment