हाइलाइट

यो वर्ष सातवटा संस्थाले पाए प्रोवेशन ब्राण्ड

यो वर्ष सातवटा संस्थाले पाए प्रोवेशन ब्राण्ड :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रदान गर्दैैआएको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड यो वर्ष सातवटा संस्थाले प्राप्त गरेका छन् । यो वर्ष सातवटा बचत तथा ऋण सहकारी संस्थाले मात्र साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रोवेसन ब्राण्ड प्राप्त गरेका हुन् ।

गत वर्ष तीन वटा संस्थाले मात्र यो ब्राण्ड प्राप्त गरेका थिए । गतवर्ष सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोक कल्याणकारी साकोसले प्रोवेशन ब्राण्ड प्राप्त गरेका थिए । यो वर्ष ग्रामीण साकोस सल्यान, ज्ञानज्योती महिला उत्थान साकोस काठमाडौं, जनसेवा साकोस कास्की, लोक कल्याणकारी साकोस चितवन, स्वस्तिक साकोस सर्लाही, ठेचो महिला जागरण साकोस ललितपुर र विजय फुलबारी साकोस प्युठानले यो ब्राण्ड पाएका हुन् ।

नेफ्स्कूनले ३४औं वार्षिक साधारण सभामा उक्त ब्राण्डको प्रतीक प्रदान गरेको हो । नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । साकोस गुणस्तर प्रमाणीकरण कार्यक्रममा सहकारी विभाग पनि सहभागी हुँदै आएपनि पछिल्लो समयमा आएर संघिय सहकारी विभागले बचत तथा ऋण सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रममा सहभागी हुन छाडेको छ।

विभागले सहकारीको गुणस्तरिय प्रमाणिकरण कार्यक्रमको साथ छोडेपछि बचत तथा ऋण सहकारी संस्थाको लागि संचालित गुणस्तर प्रमाणीकरण कार्यक्रम नेफ्स्कूनले एकलौटी संचालन गर्दैआएको छ । ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि सहकारी विभागले प्रमाणीकरण गर्न छोडेको विभागले जनाएको छ । ब्राण्ड सूनिश्चितता गरि प्रदान गरिने प्रमाणपत्रमा विभागका रजिष्ट्रारको हस्ताक्षरका साथै सरकारको लोगो समेत प्रयोग हुँदै आएको थियो ।

विभागले गुणस्तर प्रमाणीकरण अस्वीकार गरेपछि पछिल्ला केही वर्षदेखि नै नेफ्स्कूनले मात्र प्रमाणीकरण गर्न थालेको हो । यसवर्ष पनि ब्राण्ड पाएका सातवटा संस्थाहरुलाई नेफ्स्कूनले मात्र प्रमाणीकरण गरी शुक्रबार सम्पन्न ३४ औं बार्षिक साधारणसभामा प्रमाणपत्र प्रदान गरेको हो । उक्त ब्राण्ड एक वर्षकालागि मात्र रहने जनाइएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सातवटै साकोसका प्रतिनिधिहरुलाई ब्राण्डको प्रतीक प्रदान गरेका थिए ।



Leave a comment