पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् । जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने अर्को सहकारीको शाख गुम्दैगएको छ । त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै केही सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला भन्ने जिज्ञासा राखेको छ, उहाँहरुको बिचार जस्ताको त्यस्तै प्रकाशन गरेका छौं ।
सहकारी बैंकले पनि सहकारीलाई अन्य वित्तिय संस्थाले गर्ने जस्तै ब्यवहार गर्नुभएन
हरीशरण थापा ( अध्यक्षः हाम्रो दहचोक साकोस, काठमाडौं )
सहकारी बैंकको नेतृत्व सहकारीकर्मीहरुबाट नै आउनु पर्छ । सहकारीलाई बुझेको, जानेको र सहकारीकालागि राम्रो नीति निर्माणकालागि राज्यसंग पहल गर्नसक्ने नेतृत्व छनोट गर्नपनि सक्नु पर्छ । तर पार्टीले टिका लगाएर पठाएको नेतृत्व मान्य हुनेछैन । आस्था सबैको कुनै न कुनै पार्टीमा हुन्छ तर पार्टीको रवाफ सहकारीमा देखाउन पाइदैन ।
हिजोको त्यही चलनले सहकारी झनै विग्रिएर गए, त्यसमा सबै प्रकारका मानिसहरु मिसिय, राम्रानराम्रा, सफाफोहर सबैथरी गएकोले अब सहकारी बैंकको नयाँ नेतृत्व चाही सहकारी अभियानमा राम्रो छवी भएको नेतृत्व चयन गर्न म सबै सहकारीकर्मीलाई अनुरोध गर्छु ।
सकभर अवको नेतृत्व छनोट गर्दा उनीहरुको सहकारीको जग के हो ? उनीहरुले प्रतिनिधित्व गरेको संस्थाको अवस्था के छ ? भन्ने पनि हेर्नु जरुरी छ । यदी राजनितिक दललाई सहकारीको नेतृत्व गर्ने नेता पठाउनु छ भने सहकारीकर्मीलाई पठाउनु सहकारी बनाउन सक्ने र सहकारीको माया गर्ने मानिसलाई पठाउन आग्रह गर्छु ।
मलाई लाग्छ सहकारी बैंकको अव हुने निर्वाचनमा उम्मेदवार हुनेहरुको बायोडाटा प्रकाशन गर्नुपर्छ । ताकी सहकारीकर्मीलाई छनोट गर्न सजिलो होस् । अव साच्चै सहकारीकर्मीले नेतृत्व छनोटमा सोच्ने बेला आएको छ, घोरिएरै सोच्ने बेला आएको छ । सहकारी बैंकले सबै संस्थाहरुलाई समान दृष्टिले हेर्नुपर्छ, सहकारी बैंकले सहकारीहरुलाई पक्षपात गरेको जस्तो देखिन्छ ।
नजिकको र ठूलो पूँजी भएकाहरुलाई गर्ने ब्यवहार र सानातिना संस्था, कृषि, उत्पादन क्षेत्रका संस्था बिच मतभेद गरेको जस्तो लाग्छ । सहकारी बैंक वित्तिय संस्थाका रुपमा मात्र नरहेर, सदस्य संघ संस्थाहरुमा वित्तिय साक्षरताका कार्यक्रम गर्ने, संस्था आफूले मात्र गर्न नसक्ने कामहरुमा सहजीकरण गर्नेलगायतका थुप्रै काम गर्नसक्छ ।
वर्तमान समयमा सहकारी बैंकले सदस्य संघसंस्थाको बचतलाई उचित मूल्य दिनसकेको छैन । प्रारम्भिक संस्थाबाट बचत लिएर तिनै संस्थामा लगानी गरेको छ । राज्यको सहुलियतपूर्ण कर्जा लिएर सदस्यहरुलाई सस्तोमा दिनेगरी थोक कर्जाको ब्यवस्था गर्नुपर्ने हो त्यो हुनसकेको छैन् ।
सहकारी बैंक साँघुरो भएको छ, दायरा बढाउन सकेको छैन, सहकारी बैंक र अन्य बैंक वित्तिय संस्थामा फरक भएन भने सहकारी बैंकको अर्थ छैन । त्यसैले सहकारी बैंकले सहकारीलाई अन्य बैंक वित्तिय संस्थाले गर्ने जस्तै ब्यवहार गर्नुभएन । बैंकले दिने आधुनिक सेवामा पनि ध्यान दिनुपर्छ ।
राजनीतिक दलका प्रतिनिधिहरुलाई जर्वजस्ती बैंकको नेतृत्वमा ल्याउन पहल नगरौं
रामप्रसाद मचामसी ( कोषाध्यक्षः सयपत्री साकोस, भक्तपुर )
सहकारी बैंकमा समग्र सहकारी क्षेत्रको हित हुनेगरी नीति निर्माण गर्न सरकारसंग पहल गर्नसक्ने क्षमता भएको, ज्ञान भएको नेतृत्व आउनुपर्छ । उनीहरुले सहकारी पनि बुझ्नु पर्छ सहकारी बैंक र सहकारी बिचको दुरी कम गर्नेखालका नीति कार्यविधि निर्माण गर्नुपर्छ ।
दलगतरुपमा आएका प्रतिनिधिहरुले सहकारी अभियानको भन्दा राजनीतिक दलको बढी वकालत गर्नेभएकोले राजनीतिक दलका प्रतिनिधिहरुलाई जर्वजस्ती बैंकको नेतृत्वमा ल्याउन पहल नगरौं भन्ने सबै सहकारीकर्मीमा आग्रह गर्नचाहन्छु ।
सहकारी बुझेको, माया गर्ने, संविधानले भनेझैं सहकारीलाई एउटा बलियो खम्बाका रुपमा परिचय दिनसक्ने नेतृत्वको आवश्यकता छ । सहकारीलाई मूलुकको अर्थतन्त्रको एउटा आधारस्तम्भ भनिएको छ, त्यसलाई साच्चिकै सार्थक बनाउन सक्नेखाले नेतृत्वको आवश्यकता छ। किनभने सहकारी बैंकले नै सहकारी संघ संस्थालाई जोडेर एक बनाएर लानसक्छ ।
सहकारी बैंक सहकारी संस्थाको हुनसक्यो भने तल्लोतहसम्मका मानिसहरुलाई सहकारी मार्फत आर्थिक उपार्जनमा जोड्न सकिन्छ, उनिहरुको आर्थिकस्तर उकास्न सकिन्छ त्यसैले सहकारी बैंकको अव आउने नयाँ नेतृत्वले सहकारीको नीति निर्माणमा भूमिका खेलेर सरकारसंग पहल गर्नसक्छन् । सहकारी बैंकले सहरमूखि संस्थामात्र हेर्नुभएन हामीजस्तो किसानकालागि काम गर्ने संस्थाहरुले सदस्यलाई दिएको सेवामा थप साथ दिनेखाले योजना ल्याउनुपर्छ ।
नेतृत्व सहकारीकर्मीले नै चयन गर्ने बातावरण हुनुपर्छ
नारायणभक्त थयजु ( ऋण समिति संयोजकः सयपत्री साकोस, भक्तपुर )
हामीले सदस्यलाई बचत तथा ऋणका साथै रासायनिक मलको पनि सेवा दिएका छौं । संस्थामा लगभग १ हजार ४ सय सदस्य रहेका छन् । अधिकांश कृषि पेशासंग आवद्ध सदस्य रहेका छन् । १ हजार २ सय सदस्यले नियमित बचत गर्नेगरेका छन् । यो वर्ष सदस्यलाई १५ प्रतिशत लाभांश पनि बितरण गर्नसक्यौं ।
सहकारी बैंकको आसन्न निर्वाचनले नयाँ संचालक समिति चयन गर्दैछ, सर्वप्रथाम बैंकको निर्वाचन निष्पक्ष हुनपर्छ भन्न चाहन्छु । त्यसैगरी बैंकको संचालकहरु छनोट गर्दा सहकारीकर्मीहरुले पार्टीको मान्छेभन्दा पनि सहकारीको मान्छे चयन गर्नेमा सतर्कता अपनाउन आग्रह गर्दछु ।
राजनीतिक दलले पठाएको मान्छे भन्दैमा स्विकारिहाल्ने अवस्था छैन, किनकी सहकारीको वर्तमान अवस्था हामी सवैले भोगिरहेका नै छौं । सहकारीको नेतृत्व गर्ने नेताहरुको कमजोरीका कारण सहकारीले गति लिन नसकेको प्रष्टै छ । त्यसैले सहकारीकर्मी नेतृत्व चयन गर्न हामी पछि नपरौं ।
जसले भोलिका दिनमा सहकारी अभियानलाई माया गरोस्, सहकारीका कमी कमजोरीलाई हटाएर सहकारी हितका नीति निर्माणमा सरोकारवाला संग बहस र पौरवी गर्न सकोस । नेतृत्व सहकारीकर्मीले नै चयन गर्ने बातावरण हुनुपर्छ दलले टिका लगाएर पठाएको मानिसलाई स्विकार्न बाध्य कसैले पनि नपारियोस ।
बैंकमा आएर राजनीतिक दलको झण्डा बोक्न पाइदैन
दिपक रम्तेल ( प्रवन्धकः दुमो साकोस, नाला काभ्रे )
सहकारी बैंकले वित्तिय कारोबारका साथै वित्तिय साक्षरता सम्वन्धि शिक्षा प्रदान गरिरहनु भएको छ । त्यो उत्तम कार्य हो र प्रभावकारी पनि भएको छ । संगसंगै सदस्य संघ संस्थाको भिजिटमा आउनु हुन्छ यस्ता कृयाकलापले गर्दा हामीले संस्थाको २५ प्रतिशत तरलता सहकारी बैंकमा राख्नेगरेका छौं ।
यस संगसंगै बैंकमा अव आउने नयाँ संचालक समितिले चाँही अझै सहकारी बैंकलाई पूर्ण वित्तिय सेवा प्रदान गर्नसक्नेगरी नीति निर्माणमा भूमिका खेल्नुपर्छ । समय अनुरुप डिजिटल प्रविधिलाई अझै आधुनिकिकरण बनाउने तर्फ ध्यान दिनुपर्छ ।
सहकारी बैंकले साना तथा उत्पादन संग सम्वन्धित सहकारीहरुलाई प्राथमिकतामा राखेर उनीहरुले दिएको सेवाका विषयमा अध्ययन गरेर त्यस्ता संस्था र सदस्यको प्रवद्र्धन हुने कार्यक्रम ल्याउन आग्रह गर्दछु । धेरै सहकारीहरु कारोबार गर्न नजानेर विग्रिएको देखिन्छ संगसंगै सहकारी नियमन निकायका निर्देशन र मापदण्डले गर्दापनि साना तथा ग्रामिण क्षेत्रमा रहेका सहकारीहरु मारमा परेका छन् ।
त्यस्ता संस्थाहरुलाई सहकारी बैंकले वित्तिय साक्षरता, सहकारी शिक्षा तालिमजस्ता कुराहरु उपलब्ध गराएर, आवश्यकता अनुसारको लगानी गरिदिएर माथि उकास्ने भूमिका खेल्नसक्नु पर्छ । समुहमा संचालन भएका, कृषि तथा पशुपालन क्षेत्रमा सदस्यलाई लगानी गरेका संस्थाहरुलाई सहकारी बैंक मार्फत सहुलियत दरमा लगानी गर्ने बताबरण पनि निर्माण गर्नुपर्छ ।
अहिलेको अवस्थामा सदस्यहरुले सहकारीको विकल्प खोजिरहेको अवस्था हो, सदस्यहरु सहकारी छोडेर बैंक वित्तिय संस्थातर्फ मोडिन थालेका छन् त्यसको मुख्य कारण सहकारीले लिने ब्याजदर पनि हो । त्यसकारण सहकारी बैंकले सहकारीका सदस्यलाई सहकारीबाटै सेवा लिने बाताबरण निर्माण गर्नसक्छ ।
त्यसकालागि सहकारी बैंकले सरकारसंग सहुलियत दरको ऋण लिएर संस्थाहरुलाई दिनसक्नु पर्छ । सहकारी बैंकमा अव चयन हुने संचालकहरु दलको पछि लागेर आउने भन्दा पनि सहकारीको नीति निर्माणमा भूमिका खेल्नसक्ने मान्छे आउनुपर्छ त्यस्ता मानिसलाई नै सदस्यले चुनेर पठाउनुपर्छ भन्ने लाग्छ । हामीलाई दलको विज्ञ, राजनीति जानेको हैन, सहकारीमा विज्ञता भएको मान्छेको आवश्यकता छ र बैंकमा आएपछि राजनीतिक दलको झण्डा बोक्न पाइदैन ।
सहकारी बैंक बाणिज्य बैंकजस्तो बन्न खोजेर हुन्न
जयराम खत्री ( ब्यवस्थापकः ताथली साकोस, ताथली भक्तपुर )
सहकारी बैंक भएपछि सहकारीहरुकै बैंक बन्नु पर्छ । बाणिज्य बैंकजस्तो बन्नखोजेर हुन्न, सहकारी बैंकले नाफाको मात्र ब्यवहार गर्नुहुन्न । राजनीतिले नगाँजेको कुनै क्षेत्र नै छैन र सहकारी क्षेत्र पनि राजनीतिको जालोमा फसेको छ । राजनीतिक दलका मानिसहरुले सहकारीको पद ओगटेर मात्र पनि बसेका छन्, सहकारीको अप्ठ्यारोमा समाधान गर्ने र निकास दिने उनीहरुमा कुनै सोच नै छैन् ।
सहकारीको मर्म बुझेर, सहकारीका समस्या पहिचान गरेर समाधानका लागि सरकारसंग लविङ गर्ने मानिसको नेतृत्व भयो भने सहकारीको विकास हुन्छ । हैन भने सहकारीको नेतृत्व गर्ने दलको चाकरी गर्नेको नेतृत्वले सहकारीमा जहिल्यौ समस्या मात्र आइरन्छन् । त्यसैले सहकारी बैंकको नेतृत्व पनि भागवण्डाको हिसावमा छनोट हुने र सहकारीकर्मीले अवसर नपाउने हो भने कुनै अर्थ रहँदैन ।
वर्तमान सहकारीको अवस्थाले गर्दा राम्रो संचालनमा रहेका संस्थालाई पनि सदस्यले शंकाको नजरले हर्नथालेका छन् । सहकारी प्रति सदस्यहरु ससंकित छन् । यस्तो अवस्थामा हाम्रा केन्द्रीय संघहरुमा आउने नेतृत्वहरु पनि सहि छनोट गर्न सकिएन भने सहकारीमा धेरै संकट आउने पक्का छ ।
यदी सहकारी बुझेको र सहकारीलाई माया गर्ने मानिसहरु आए भने सहकारीका नीति नियम निर्माणमा सरोकार निकायसंग पहल गर्नेछन् । राजनीतिक दलले छानेर नेतृत्वमा पठाउँदा बषौदेखि सहकारीमा योगदान गरेको मानिस पछि पर्ने र सहकारीलाई सहि दिशानिर्देश हुदैन ।
त्यसैले राजनीतिक भागवण्डाको आधारमा नभइ योगदानका आधारमा नेतृत्व पठाउँ र सदस्यले पनि छनोट गर्दा त्यही आधारमा छनोट गरौं । सहकारी बैंकले सहरमा संचालन भएका र ठूलो पूँजी भएका संस्थालाई मात्र नभएर साना मझौला सहकारी संस्थालाई पनि सहुलियतको ऋण लगानी गर्नसक्ने हुनुपर्छ ।
यो संस्था २०६३ सालमा स्थापना भएको हो, संस्थालाई वित्तिय सेवाका साथै कृषकहरुलाई रासायनिक मलपनि सहुलियतमा उपलब्ध गराउँदै आएका छौं । १ हजार ४ सय हाराहारी सदस्य रहेका छन् भने १४ करोड ७० लाख जतीको कारोबार छ ।
सहकारी बैंक सहकारी संस्थाहरुको बैंक बन्नु पर्छ
भवानी देउजा ( प्रवन्धकः नालाछाप प्रगतीशिल महिला साकोस, भक्तपुर )
सहकारी संस्थाको कारोबार अभियान भित्रै रहोस भन्ने सबैलाई हुन्छ । त्यसैले हामी हाम्रो संस्थाको कारोबार सहकारी बैंक संग नै गरेका छौं । हाम्रो संस्था सहरको ग्रामिण भेगमा रहेको छ र महिलाहरु मात्र सदस्य बनाएर महिलाहरुको लागि मात्र सेवा दिएको छ ।
सहकारी बैंकले पनि महिला सहकारीकालागि भिन्नै नीति निर्माण गरेर त्यस्ता संस्थाहरुलाई सहुलियत दरमा कर्जा लगानी गर्ने ब्यवस्था गर्यो भने अझै सहकारीहरुको बैंक प्रति झुकाव हुन्थ्यो । नीजि बैंक वित्तिय संस्थाको भन्दा सहकारी बैंकको ब्याज महंगो भएको कारण संस्थाहरुले बाध्यताले मात्र काम गरिरहेका छन् जस्तो मलाई लाग्छ ।
सहकारी बैंक सहकारी संस्थाहरुको बैंक बन्नु पर्छ । सहकारी बैंकले आफूलाई पनि अपडेट गरेर राज्यको नीति नियम अनुसार सदस्य संघसंस्थाहरुलाई पनि अपडेट गराउँदै लैजानु पर्छ । सदस्य संघ संस्थाहरुलाई शिक्षा तालिम जस्ता कुराहरुको पनि ब्यवस्था गर्नुपर्छ । साना र ठूला सहकारी भनेर पक्षपात नगरीकन साना संस्थाको सानोसानो कारोबारलाई पनि स्विकार्न सक्नु पर्छ ।
सहकारी बैंकले सहकारीहरुलाई अन्य बैंक वित्तिय संस्थाले गरेको जस्तो ब्यवहार गर्नुभएन । हामीले २ हजार माथि महिला सदस्यलाई वित्तिय लगायतको सेवा प्रवाह गरिरहेका छौं । अधिकांश महिलाहरु कृषि संग सम्वन्धित हुनुहुन्छ अनि गृहिणी पनि । हाम्रो जस्तो संस्थालाई सहकारी बैंकले प्राथमिकतामा राखेर सेवा दिने सोचोस् भन्न चाहन्छु ।
Leave a comment