हाइलाइट

नेफ्स्कूनको ३३औं साधारण सभा नतिजामुखी र अविस्मरणीय हुन्छः अध्यक्ष ढकाल

नेफ्स्कूनको ३३औं साधारण सभा नतिजामुखी र अविस्मरणीय हुन्छः अध्यक्ष ढकाल :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल संघको ३३औं वार्षिक साधारणसभा परिणाममुखी हुने दाबी गर्छन् । उनले साधारणसभा नजिकिएसँगै देशैभरका सदस्य संघ संस्था, नियामक निकाय तथा सरोकारवालाहरुको चासो बढेको बताए ।

सवैको चासोलाई सम्बोधन गर्नेगरी आन्तरिक तयारी गरिएको जनाए । अध्यक्ष ढकालले यो साधारण सभा साकोस अभियानको निम्ति बास्तवमै नतिजामुखी, दुरगामी महत्वको साथै अविस्मरणीय हुने दाबी गरे । अध्यक्ष ढकालले लुम्बिनी प्रदेशको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा पुस ५ र ६ गते हुनगइरहेको सभाको तयारी पुरा भएको भन्दै देशभरबाटै प्रतिनिधिहरु आउने जिकिर गरे ।

उनले लामो समयपछि काठमाडौं बाहिर गौतम बुद्धको तपोभूमिमा हुने सभामा सहभागि हुन सदस्य आतुर रहेको बताए । यसपटकको नेफ्स्कूनको साधारण सभा नेपालको साकोस अभियानको लागि साँच्चिकै अविष्मरणीय हुनेछ, उनले भने । ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई समेत ध्यानमा राखी आन्तरिक पर्यटन प्रवर्धनको सेकेन्डरी उद्देश्य पनि यो वार्षिक साधारण सभाको रहेको छ, प्राइमरी भनेको त साधारणसभाको कार्यसूची उपरको कामकारवाही नै हो ।’

नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन उपसमति,  उपसमितिहरु, तथा व्यवस्थापनको संयुक्त प्रयासले बुटवल साधारणसभा साँच्चिकै परिणाममुखी हुने विश्वास लिएको उनले बताए । ढकालको अध्यक्षतामा कार्तिक २६ गते काठमाडौंमा बसेको संघ सञ्चालक समितिको तीनसय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा बुटवलमा गर्ने निर्णय गरेको थियो ।

नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं बाहिर बार्षिक साधारण सभा आयोजना गरेको हो । २०८० पुस ७ र ८ गते काठमाडौंमा सम्पन्न नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाबाट ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएपछिको यो पहिलो बार्षिक साधारणसभा हो ।

नेफ्स्कूनको नयाँ सञ्चालक समितिको पहिलो वार्षिक साधारणसभा नै काठमाडौं बाहिर आयोजना हुँदैछ । मुलुक संघीयतामा प्रवेश गरेसँगै बिकेन्द्रीकरणको सिद्धान्त अनुरुप नेफ्स्कून सञ्चालक समितिले काठमाडौं बाहिर साधारण सभा गर्ने योजना सहित लुम्बिनी प्रदेशमा सहमति जनाएको अध्यक्ष ढकालले बताए ।

अघिल्लो सञ्चालक समितिको कार्यकालमा भएका विषयहरु उठाएर अहिले साधारण सभा नजिकिदै गर्दा प्रायोजित रुपमा संघको खेदो खन्ने, अतिरञ्जना गर्ने र व्यक्तिगत रुपमा फोटोहरु टाँसेर कुप्रचार गर्ने काम समेत भैरहेको भन्दै यस्ता अफवाहको पछि नलाग्न पनि अध्यक्ष ढकालले सदस्य संघ संस्थाहरुलाई आग्रह गरे ।

यसैगरी, लुम्बिनीमा पहिलो पटक नेफ्स्कूनको वार्षिक साधारण सभा आयोजना गरिएको हो । ढकालले भने, ‘यसअघि पनि नेफ्स्कूनले काठमाडौंबाहिर मोरङको लेटाङ तथा विराटनगर, बाँकेको नेपालगञ्ज, गोरखामा पनि वार्षिक साधारण सभा आयोजना गरेको इतिहास छ ।’

त्यस्तै, सन २०२५ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा भइसकेको अवस्थामा साकोसहरुको माउ निकाय नेफ्स्कून, सदस्य संघ संस्थाहरुको यो सर्वोच्च निर्णयकारी सभाले सहकारीको छविलाई थप उजिल्याउने उनको विश्वास छ ।

साकोसहरुलाई थप सुशासित, मर्यादित, सदस्यकेन्द्रीत र पारदर्शी रुपमा अघि बढ्न अभियानलाई दिशाबोध गर्ने विश्वास अध्यक्ष ढकालले गरे । यसैगरी, नेपाल सरकारले सन २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक घोषणा गरेको सन्दर्भमा समेत नेफ्स्कूनको साधारणसभा सहकारी पर्यटन प्रवर्धनमा सहयोगी बन्ने विश्वास उनको छ ।

यो पटकको साधारण सभा सिकाइको थलो पनि हुने अध्यक्ष ढकालले बताए । सभामा साकोस अभियानको समसामयिक विषयमा २ वटा कार्यपत्र प्रस्तुतीकरण रहेको छ,’ उनले भने, ‘साकोस अभियानको सुशासन, प्रवद्र्धन र आन्तरिक नियन्त्रण प्रणालीको मजबुतीकरणका विषयमा सदस्यहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै साकोस अभियान भित्रको प्रणाली र फिट एण्ड प्रपर टेस्टको विषयमा पनि विज्ञबाट कार्यपत्र प्रस्तुति हुनेछ । साकोस अभियानको सर्वोच्च सभाले एउटा संकल्प प्रस्ताव पारित गरी त्यसमार्फत् साकोस अभियानलाई दिशानिर्देश गर्ने विश्वास हामीले लिएका छौं ।’

नेफ्स्कूनको साधारण सभाको कार्यतालिका अनुसार पहिलो दिन उद्घाटन र कार्यपत्र प्रस्तुति रहनेछ । दोस्रो दिन अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन उपर छलफल र सदस्यहरुको राय, सल्लाह र सुझाव समेटी पारित गर्ने कार्यसूची रहेको छ । वार्षिक साधारण सभामा सदस्य संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएर नेपालको बचत तथा ऋण अभियानलाई सही दिशानिर्देश गर्न उनले आग्रह गरे ।

साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागी जनाउनुका साथै विषयविज्ञबाट नयाँ कुरा सिक्न पनि अध्यक्ष ढकालले सबैलाई अपील गरे । साधारण सभामा सहभागी हुने प्रतिनिधिहरुलाई सभास्थलमा सहज आवत जावतमा सहजीकरणका लागि हेल्प डेस्क स्थापना गरिने छ भने आसपासका होटलहरुमा सहुलियत दरमा गुणस्तरीय खानपिनको लागि समन्वय पनि भएको उनले बताए ।

उनले भने, ‘वार्षिक साधारण सभा भएकाले साकोस अभियानको निर्णयस्थल यो हो । यसले गर्ने निर्णयले नै भोलिका दिनमा नेपालको बचत तथा ऋण अभियानलाई दिशानिर्देश गर्नेछ । त्यसकारण साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागि हुन हरेक संघसंस्थालाई म आग्रह गर्दछु ।’

त्यसैगरी उनले अघिल्लो सञ्चालक समितिको कार्यकालमा भएका विषयहरु उठाएर अहिले साधारण सभा नजिकिदै गर्दा प्रायोजित रुपमा संघको खेदो खन्ने, अतिरञ्जना गर्ने र व्यक्तिगत रुपमा फोटोहरु टाँसेर कुप्रचार गर्ने काम समेत भैरहेको भन्दै यस्ता अफवाहको पछि नलाग्न पनि अध्यक्ष ढकालले सदस्य संघ संस्थाहरुलाई आग्रह गरे ।

उनले भने, ‘नयाँ सञ्चालक समिति आएपछि हिजो बिग्रिएका कामलाई सुधार गर्ने काम भएको छ, भाखा नाघेको ऋण असुलीमा तीब्रता दिइएको छ, सुशासनप्रति प्रश्न नआउने गरी काम गरिएको छ जुन कुरा साधारणसभामा सदस्यहरुसँग सप्रमाण राख्ने तयारी गरिएको छ । यस्तो बेला संघको प्रगतिबाट अत्तालिएकाहरुले कुप्रचार गरेको उनले बताए ।

विभागबाट भएको सघन अनुगनमबाट प्राप्त सुझावहरु कार्यान्वयन गरी अधिकांश सूचकहरु सन्तोषजनक भएको परिप्रेक्ष्यमा साधारणसभाको नजिक सदस्यहरुलाई विगतका विषयहरु कोट्याएर दिग्भ्रमित गर्न खोजिएको भन्दै यस्ता विषयबाट अविचलित गरी बुटबलबाटै जवाफ खोज्ने तयारी गर्दै सहभागी हुन पनि उनले आग्रह गरे ।



Leave a comment