हाइलाइट

नवजागरण साकोसले बितरण गर्योे संरक्षित पूँजी फिर्ता कोषको रकम

नवजागरण साकोसले बितरण गर्योे संरक्षित पूँजी फिर्ता कोषको रकम :: Sahakari Akhabar

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यलाई रकम फिर्ता गरेको छ। संस्थाले एक कार्यक्रमको  आयोजना गरी गत बर्षको नाफाबाट सदस्यहरुलाई संरक्षित पुँजी कोषको रकम शेयर सदस्यलाई वितरण गरेको हो । सहकारीले उक्त कोषबाट १६ लाख ९८ हजार रुपैयाँ सेयर सदस्यलाई फिर्ता गरेको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी  दिए।

संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षता तथा वागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सदस्यहरुले बचत र ऋणमा गरेको योगदानको आधारमा रकम फिर्ता गरिएको जनाइएको छ ।

कार्यक्रममा सबैभन्दा बढी रकम फिर्ता पाउने शेयर सदस्यहरूलाई चेक प्रदान गरिएको थियो भने अन्य सदस्यहरुको खातामा नै रकम पठाइने व्यवस्थापक उदासले जनाए । उक्त कोषबाट सबैभन्दा बढी २६ हजार २६९ रुपैँया प्रदान गरिएको थियो । ७ हजार माथि  रकम प्राप्त गर्ने शेयर सदस्यहरुको रकम  कार्यक्रममा चेक मार्फत वितरण    गरिएको र ऋणको भाखा नघाएका ऋणी सदस्यहरुको रकम भने जगेडा कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शेयर सदस्यकै हित गर्ने र ठगी गर्ने उद्देश्यले खोलिएका दुई खालका सहकारी बिचको भिन्नता पहिचान गर्न आवश्यक रहको  बताए । आफ्ना शेयर सदस्यका बिचमा सफा नियतले नियमित काम गर्दै आएका कुनै पनि सहकारी समस्यामा नरहेको उनले  जनाए ।

केही सहकारीका कारण यो क्षेत्र बदनाम भएको भएको उनको भनाइ थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सोमेश थापाले आफूहरू सहकारी सम्बन्धी ऐन र संस्थाका विनियम बाहिर नजाने  बताए । सबैको सहयोगले संस्था अहिलेको अवस्थासम्म आइपुगेको भन्दै सदस्यलाई संरक्षित पुँजी कोषबाट रकम फिर्ता गर्ने जिल्लाको एक मात्र सहकारी नवजागरण  भएको उनले जनाए ।

सबै सहकारीले सो कोषमा रकम छुटाउनै पर्ने कानुनी व्यवस्था भएको बताउँदै अन्य सहकारीले सो रकम किन फिर्ता गरेका छैनन् भन्ने विषयमा खोजी गर्न उनले नियामक निकायहरूलाई  आग्रह गरे । संस्थाले नारायणदास श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष श्याम थापा लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

९ हजार ९ सय ९२ शेयर सदस्य रहेका सहकारीले अहिले ७३ करोड रुपैँयाको कारोबार गरिरहेको छ । संस्थाको शेयर पुँजी ४ करोड ४६ लाख ४८ हजार नाघेको छ भने ५६ करोड ७६ लाख ५६ लाख रुपैँया बढी बचत रहेको छ ।

संस्थाले ३६ करोड ९१ लाख २३ हजार रुपैँया ऋण लगानी गरेको छ । जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार रुपैँया रहेको संस्थाको अन्य कोषमा १ करोड ४० लाख २० हजार रुपैँया, ऋण सुरक्षण कोषमा २ करोड ९७ लाख ५४ हजार रुपैँया रहेको छ ।



Leave a comment