आज फेरी सिंहले ‘म्याउँ’ गर्‍यो 

आज फेरी सिंहले ‘म्याउँ’ गर्‍यो  :: Sahakari Akhabar

! आज फेरी म्याउँ गर्ने सिंह जङ्गल छिरेछ, ‘म्याउँ’ गर्‍यो । रैथाने एक हुल बिरालाहरू झुक्किए । ‘म्याउँ गरेको आवाज आएतिर म्याँउम्याँउदै दौडिए । हाम्रो नाइके आयो भन्ने सोचे, बिचरा बिरालाहरू असल नाइकेको खडेरीमा थिए । उचित सम्बोधन गर्ने नेतृत्वको खोजीमा थिए । त्यसैले बिचराहरु आवाजको पछि लागे ।

तर त्यहाँ बिरालो थिएन अरु नै केही थियो । बडेमान देखिने जनवार, रूप सिंहको आवाज चाही बिरालोको ! चाल पाउने कसले ? बडेमानको शरीर चलमलायो, अनि फेरी म्याउँ नै गर्‍यो । कतै ! ढाडे बिरालोले सिंहको छाला पो ओडेको हो की ! बिरालाहरूले शङ्का गरे । होला, होला ! सहरमा दूध चोरेर खान पल्केको ढाडे बिरालो होला । बिरालाहरूले अडकल काटे । हैन ! सिंह नै होला त ? कहिले काहीँ सन्की सिंहले यस्तो पनि गर्छ।

आजकाल त ! फेसबुक जस्ता सामाजिक सञ्जालमा पनि छाउँछ । केही ढाडे बिरालाहरू हो, मा हो मिलाउँछन् । तिनीहरूले पनि सिंहकै खोल ओढेर म्याउँ गर्न थालेका छन् । कतै यो पनि जिउमा सिंहको छाला मोडेर बसेको ढाडे बिरालो नै हो की ! आशा मरेको थिएन ।

देखावटी र बनावटी यिनै सहरका पाहुना बिरालोलाई गर्न आउँछ, देखिन्छन् एउटा हुन्छन् अर्को । स्वार्थी, एउटाले रिस पोख्यो । हामीलाई झुक्क्याइरहन्छन्, हामी पनि बुद्धु नि ! कति झुक्किन सकेको होला । पहिला देखिनै जाँची सकेका एक हुल बिरालाहरू मौन थिए । अरूको अडकलबाजी चलिरहेको थियो, सिंह भए त गर्जनुपर्ने, किन म्याउँ गर्छ ?

एक हुल बिरालोहरू अलमलिएका थिए, र उसैको पछि लागेका थिए, आ ! होस् यसले सिकार गर्छ हामीलाई पनि दिन्छ भनेर पछि लागेका त खाली विधिका कुरा मात्र गर्ने रहेछ, केही बिरालाहरूले दिक्क माने । केही चाहिँ अझै पनि बहुरूपी सिंहको वरी परिनै घुमिरहे, सिंहले सिकार गर्ला र खाउँला भनेर । उनीहरूलाई के थाहा ! सिकार सिंहले गर्छ, सिंहको खोल ओडेको ढाडे बिरालोले हैन भनी ।

उ ! उसले त खोल ओढ्न पाउने, म्याउँ गर्न पाउने लाइसेन्स पनि लिएको छ रे । गर्जनपनि खोज्छ तर के गर्नु म्याउँ भन्दा माथिको स्वरै आउँदैन र पो त ! कुरा काट्नेहरुको पनि कमी थिएन । सिकार गर्छु र गर्न पनि सिकाउँछु भन्दो रहेछ, आफ्नै घर भत्काएर हिँडेको रे ! नीति विधिका पनि कुरा गर्छ, ! ढोँगी जोगीले धेरै खरानी घस्छ भन्ने चाल नपाउँदा एक हुल बिरालाहरू अझै पनि झुक्किएका थिए ।

आज दूध चोरेर खाएको ढाडे बिरालो अरूभन्दा केही मोटाएको छ, अरूले तँ त सिंह जस्तो भइस् भनेकोमा जङ्गल पसेछ । यसो भन्दैमा सिंहकै खोल ओढेर अरूलाई नैतिक शिक्षा दिँदै हिँड्ने दुस्साहस गर्दा पनि चाल नपाउनेहरूको स्याबासी पनि पाएको छ।

समस्यामा सरोकारवालासँग गर्जन नसके पनि व्यक्तिगत स्वार्थको म्याउँ त गरिनै रहेको छ । आतपमा मौन व्रत राखेको स्वघोषित सिंहले अरूको सिकारमा जस लिन भने छाडेको छैन । अहिले त ! म नै हुँ जङ्गलको राजा भन्छ रे ! छुट्टै कानुन बनाउँछु पनि भनेको छ रे ! त्यही भएर केही बिरालाहरू पछि लागेका छन् ।

झुक्याउन सक्नेले त सिंहलाई पो झुक्याउछन् त ! बबुरा बिरालाहरूलाई सिंहको खोल ओढेर कति दिन झुक्क्याउने हो ? सिंह कर्मले बन्ने हो, झुक्क्याएर बन्न खोज्नु हानी हैन र ? बिराला आफ्नू स्थानमा ठिक छन् उनीहरूलाई छद्म भेषी सिंह बनाउने गल्ती नगरुन् पहिचान खुलेपछि केहीले विरोध पनि गरे ।

तर सिंहसँग मितेरी साइनो लगाएपछि बलिष्ठ बनेको ढाडे बिरालोले आफ्नै समूहको विरोध गर्दै छ अरे एउटाले कानेखुसी गर्‍यो। म्याउँ नै गर्नु थियो भने सिंहको खोल किन ओडेको होला । सिंहकै खोल ओडीसकेपछि कमसेकम गर्जन सक्नु पर्छ नि । स्वघोषित सिंह गर्जन नजाने पनि म्याउँ चाही पक्कै गर्छ होला । साँच्ची ! ढाडे बिरालोले सिंहको खोलचाहिँ किन ओढेको रहेछ ? म्याउँ नै गर्न ?



Leave a comment