सर्वप्रथम, भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको, पूर्वाधारहरू ध्वस्त भएको र जनजीवन अत्यन्त कष्टकर बनेको घटनाले सहकारी अखबार परिवार स्तब्ध र मर्माहत छ । प्राकृतिक विपद्को यस संकटपूर्ण घडीमा उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यहरूलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र, नियामक निकाय, दायित्वबोधक नागरिक समाज एकजुट भई हातेमालो गर्नु हामी सबैको प्राथमिक कर्तव्य हो । विपद् व्यवस्थापनमा राज्यको प्रयासमा हातेमालो गर्दै सहयोग र ऐक्यबद्धताका लागि हार्दिक आह्वान गर्दछौं । यस अकल्पनीय विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस लेखलाई परम्पराको निरन्तरताका रुपमा लिइदिनुहुन हाम्रा पाठकवर्गमा अनुरोध छ । किनकी हाम्रो कलम संधै सहकारीमार्फत भएका राम्रा कामको प्रवर्धन र सहकारीमा भएका विकृति र विसंगतीमा सतर्क र सजग गराउन चलेकाे छ ।
रिसानी माफ है, गाइजात्रे छेको पारेर सहकारी जात्राको मेसो मिलाएकोले यो यात्रामा याहाँलाई स्वागत छ । आउनुस संगै यात्रा गरौं । सहकारीमा जात्रा ! भन्ने सोच्नु भएकोहोला । सहकारीमा जात्रा मात्र हैन, जात्रै जात्रा छ । अझ हामी जात्रै जात्रा भन्दापनि माथि, सहकारी महा जात्राको संगै यात्रा गर्नेछौं ।
यो यात्रा सुखद र फलदायी बनाउने प्रयासमा छौं, तपाइको उही छनी ! सेफ फ्लाइट, वि केयर, यात्रा सुखद रहोस, फलदायी बनोस, उपलब्धिमूलक बनोस् जस्ता घोप्टे र उधुरमुण्टे थमबेलवाला बेष्ट वीसेस् पनि त चाहियो नि हैन ? चलन यस्तै छ, अव चलेको चलन छोड्न भएन क्यारे, कि ! कसो ? चलेको चलन चलाउन कै लागि त सहकारी गाइजात्रे यात्रामा छौ नी ।
कसैकालागि हाँडो र घाँडो भएको सहकारी कसैकालागि जादुको भाँडो पनि त भएको छ नी । सडकदेखि सदनसम्म सम्मान दिलाउने र सहकारीलाई चर्चाको चुलिसम्म चुल्याउनेहरुको मात्र बखान के गरौं, चरम दुरुपयोग गरी सहकारीको चर नै चर्काउने र आम सर्वसाधारणको सपनालाई चक्नाचुर बनाउने हरुको पनि पहिचान गरौं न ।
सहकारीलाई चोरको चौतारो बनाउने, दलको चम्चागिरि गरी शरम पचाउँदै खल्ती भरमको नीति अपनाउनेलाई चलाख चतुरेको पगरी पनि गुतीदिनु पर्ने हुनसक्छ ! साग बेचेर सहकारीमा बचतको भाग लगाएकाहरुको सुन्दर भविश्यको कल्पनामा तुषरापात गर्दै, हाइड्रोमा हुइक्याउने, कम्पनिमा सुइक्याउनेले ति बिचराहरुको सपना तुहाउने हिम्मतिला हनुमन्तेहरुको खोटो हिम्मतको सुद्धिकरण गर्नेगरी आउनुस ‘जलशेचन’ गरौं ।
सहकारीमा बचत गरेकै कारण सडकमै सास सिध्याउन बाध्य बनाउनेका ‘बिवाइडि’ यात्राका पनि कुरा गरौं, संगै सरर सयर गरौंला भन्ननमिले पनि बिवाइडीले न्यायको गन्तब्यसम्म पुर्याउन चाही मद्धत गर्नेछ भन्ने आशा गरौं ।
दैनिक दलको दलिन कुर्ने, सहकारीको हसुर्ने, वल्लो घरमा नपाए पल्लो घरमा सर्ने, हसुर्न चाही सहकारी चाहर्नेहरुको पनि कुरा गरौं, आउनुस संगै यात्रा गरौं ।
सहकारी हाइड्रो मालिकका कुरा गरौं, सहकारी कृषि कम्पनिका मालिकका कुरा गरौं अनि सहकारी पण्डितहरुका कुरा गरौं । दलको दैलो चाहरेबापत इनाममा पाएको नैतिकता विनाको सहकारी नेतारुपी ट्यागको लाजराख्न गरेको हर्कतको पनि बखान गरौं ।
अनि ‘एनीहाउ, सहकारीबाट लुट्न लाइसेन्सरुपी ‘सहकारी नेता’ बनाउ’लाई चरितार्थ गर्न वल्लो घरको नरे, पल्लो घर सरे, गरेकाहरुका लिलामीमा रहेका र बोलकबोलमा पनि नबिक्ने चालचलनलाई सम्पति सुद्धिकरणको जल छर्केर कायनउवाच गरौं ।
आउनुस सहकारी सिध्याउन खोज्ने तत्वको सातो बोलाम, तपाइले पालन पोषण गरेर राखेका सहकारी पण्डितहरुलाई सहकारी सिकाम, अठोट गरौं सहकारीमा सुद्धिकरणको ।
किनभने दलको आर्शिवादमा ‘दाई’ र सहकारीका ‘सर’ भइटोपलेकालाई केहीले मानेझै गरेको मात्र के थियो अजकाल उ, डम्म फूलेछ, उ गम्म फूलेछ, उ झ्याम्म फूलेछ, जे होस ! आजकाल उ फूलेछ । उ ख्याउटे थियो, पहिलो भेटमा हाम्रो नजर नजरले मित लगाउँदा, अहिले उ डम्म फूलेछ ।
त्यो सुसुपाल सरिरको छवी पहिलो नजर जुधेको कहाँ विर्सियलार तर केहि समयमै अजंगको तरिकाले भुँडी बढाएछ, बोसो लगाएछ, लाज पचाएछ सहकारीबाट तरमारेर होला हिड्न नसक्ने पो भएछ अनि चारपाँग्रा थपेर अहिले ‘उ’ डम्म फूलेछ ।
कालो चिल्लो कपाललाई देब्रेतर्फ मोडेर ङिसिक्क हाँस्दै हस्तमिलनको पहिलो सम्बोधनमा सहकारीको ‘स’ सिक्दैगरेको अस्ती झैं लाग्ननपाउँदै आज उ नेता भइसकेछ ।
सहकारीको पण्डित्याई गर्न जिल्ला जिल्ला दौडदै नीति र नैतिकताको पाठ सिकाउने पगरी गुतेछ । त्यसैले होला चिल्लो कालो कपाल तीलचामल जस्तै झ्याप्प फूलेछ ।
चोरेर खान पल्केको चोर बिरालो जस्तै उ, सहकारीको ‘तर’ मारेर खानजान्ने भएछ, तारे होटलको बासले गर्दाहोला हेर त ‘उ’ ढाडिएको जुकोझैं डम्म फूलेछ ।
ढ्याउ..ढ्याउ गर्दै ढकार्दै थियो, छेउमा बस्दा, सायद सडेका सहकारी सोच बोकेकोले होला, उ ढुस्स फूलेछ । बाँढिएको अपुतालि सम्पति पाएझैं उ गम्म फूलेछ अनि नासिएको अंशवण्डा झैं उ ग्वाम्म फूलेछ...।
आउनुस आज हामी छद्मभेषी सहकारी पण्डितहरु र उनीहरुको पण्डित्याईको पहिचान गरी सदाकालागि तिलाञ्जली दिऔँं र सहकारीमा सुद्धिकरणको सेचनको अभियानमा लागौं । रिसानी माफ है...।
Leave a comment