हाइलाइट

सहकारी नेताहरु सच्चिनु पर्छ, नत्र सक्किनु पर्छ  

सहकारी नेताहरु सच्चिनु पर्छ, नत्र सक्किनु पर्छ   :: Sahakari Akhabar

सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधानका लागि भन्दै काठमाडौं उपत्यकाभित्र ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नामबाट आन्दोलन जारी छ । यस्तै राष्ट्रिय सहकारी महासंघले पनि बरिष्ठ उपाध्यक्ष ओमदेबी मल्लको संयोजकत्वमा ‘समस्या समाधान संयोजक समिति’ गठन गरेको छ । उक्त समितिले सातवटै प्रदेशमा ज्ञापनपत्र बुझाउदै माग पुरा नगरे जेठ २ गतेपछि आन्दोलनमा जाने चेतावनी समेत दिइसकेको छ ।

महासंघले आन्दोलन घोषणा गरेलगत्तै झापामा भने यस विरुद्ध ध्रुविकरण सुरु भएको छ । केही सहकारीमा देखिएका समस्याका आधारमा सिंगो अभियान नै बदनाम हुन थालेको निकर्ष सहित उनीहरुले ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन गरी शुद्धिकरण अभियान सुरु भएको घोषणा गरेका हुन् ।

आम सर्वसाधारणमा सबै सहकारीहरु ठग, फटाहा हुन् भन्ने भ्रम परेकाले त्यसलाई चिर्नका लागि संगठित प्रयास गरिएको एलायन्सका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष रामचन्द्र उप्रेती वताउँछन् । सहकारी संघ महासंघका नेताहरुको सहकारी नै नभएकाले उनीहरु सहकारीको समस्यामा संवेदशिल नभएको उनले आरोप लगाए । प्रस्तुत छ यसै विषयमा केन्द्रीत रही सहकारी अखबारले उप्रेतीसँग गरेको कुराकानी ः– 



सहकारी महासंघले समस्या समाधानका लागि सातै प्रदेशमा ज्ञापनपत्र बुझाएलगत्तै झापामा छुट्टै संस्था गठन गरेर अभियानभित्र संस्थाहरुको धु्रविकरण गर्नुभएको हो ?

अहिले नै हामीले त्यति परसम्म सोचेका छैनौं । अहिले सहकारी संस्थाहरुलाई अप्ठेरो परिरहेको छ । भोली यो भन्दा बढी अप्ठेरो पनि पर्न सक्छ । त्यसैले पुर्व तयारी गरौं, संगठित हौं भन्ने नै हो । सहकारीभित्र आन्तरिक रुपमा सुुधार गर्नुपर्ने कुरा धेरै छन् । आन्तरिक रुपमा पनि सुधार गरौैं अनि अरुले गरेका धाक–धम्की र भ्रमलाई चिर्न कोशिस गरौं भन्ने उद्देश्य नै हो ।

महासंघको पूर्व लेखासमिति संयोजक भएको व्यक्ति अहिले अभियानमा नभएपछि संघ÷महासंघप्रति विश्वास नभएको हो ?

एलाइन्स लुज फोरम मात्र हो । संगठित रुपमा नयाँ संस्था बनाएर नै जानुपर्छ भन्ने सोच पनि छैन । तत्कालका लागि संगठित हुने र सहकारीप्रति जुन खालको आक्रमण भइरहेको छ त्यसलाई पनि रोक्ने र प्रतिवाद गर्ने हो । एकातिर सहकारीको ऋण नतिर, पैसा नतिर भन्ने अर्कोतिर सहकारीले ठगे खाए भनेर प्रचार भइरहदा सबै सहकारी खराब छैनन् भनेर राम्रा सहकारीहरु एक ठाउमा उभिएका हौं ।

सहकारी भित्रको पनि आन्तरिक शुद्धिकरणको प्रयास हो । हामी सहकारीमा लागेकाले निरन्तर सहकारीको हित गर्नुपर्छ । सहकारीमा हित गर्नका लागि यसमा खराब भेटिए शुद्धिकरण पनि गर्नुपर्छ । खराब देखियो, त्यो मेरा साथीले गरे, मैले गरे, यसमा म नि संलग्न छु, त्यहाँ पनि छु, यहाँ पनि छु भनेर छोपेर जानुभयो भने एकपल्ट, दुईपल्ट, चारपल्ट १० पल्ट छोप्नुहोला, सधै छोप्न थाल्नुभयो भने के हुुन्छ ? सधै छोप्न थाल्नुहुन्छ भने अभियान नै सकिन्छ ।

शुद्धिकरणका लागि अभियानले नेतृत्व गर्न नसकेको हो ?

अहिले नै हामी त्यो निश्कर्षमा पुगेका छैनौं । समय परिस्थितीले त्यहाँ नपुर्याओस् भन्ने पनि चाहान्छौं ।

सहकारी नेताहरु नै खराब छन् भन्ने संकेत त देखियो नि ?

हाम्रो अभियान सहकारी नेताहरुलाई दवाव हो । वैधानिक फोरममा आएका कतिपय साथीहरुका सहकारी संकटमा छन् । जसले नेतृत्व गर्नुहुन्छ, भाषण गर्नुहुन्छ, जसले ज्ञापनपत्र बुझाउनुहुन्छ उहाँहरुका सहकारी संकटमा छन् । कतिपयलाई सहकारी डुब्दा केही पनि फरक पर्दैन ।

किनभने उनीहरुले सहकारी सम्हालेका छैनन् । जसले आफ्नो सहकारी सम्हालेको छैन म जिल्ला सम्हाल्छु, म केन्द्र सम्हाल्छु भनेर पत्याउन सकिदैन । त्यसैले उहाँहरु करेक्सन भएर आउनु पर्यो । करेक्सन गर्न नसक्ने भए ठाउँ खाली गर्नुपर्छ ।

तर, यो अभियान अघि नबढाउन दवाव होला नि ?

त्यस्तो दवाव सुरु भइसक्यो । त्यो हामीले अनुमान पनि गरेकै थियौं । तर, मुख्य कुरा नेताहरु कि सक्किनुपर्यो या सच्चिनुपर्यो । राजनीतिमा र सहकारीमा पनि यहि कुरा लागू हुन्छ ।



Leave a comment