करिब दुई दशकअघि कर्मचारीबाट सहकारी यात्रा सुरु गरेका बर्दियाका गणेश थापा स्थानीय हाम्रो मध्यवर्ती साकोसका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी सहकारीलाई केवल रोजगारी मात्र नभई समाज परिवर्तनको अभियानका रूपमा लिएको बताउँछन । सहकारी संस्थामा सञ्चालक मस्तिष्क भए व्यवस्थापन हातखुट्टा भएको उनको तर्क छ । सहकारी सफल बन्न कसले के गर्नुपर्ला यी र यस्तै समसामयीक विषयमा सहकारी अखबारले थापासंग गरेको सम्वादको संम्पादित अंश ।
तपाईंको सहकारी यात्रा कहिले र कहाँबाट सुरु भयो ?
मेरो सहकारी यात्रा करिब दुई दशकअघि बि।स। २०६३ साल जेष्ठ १५ गते तदर्थ संचालक समितिको सदस्य भै २०६३ श्राबण १६ गते देखी साबिकको नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृतबाट सुरु भएको हो ।
हाल एकिकरण पश्चात हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था भएको छ । सुरुवात कर्मचारीको रूपमा भए पनि सहकारीका मूल्य–मान्यता, सदस्य प्रतिको उत्तरदायित्व र सामुदायिक विकास प्रतिको प्रतिबद्धताले मलाई निरन्तर सिक्न, काम गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गरिरहेको छ । आज पनि म सहकारीलाई केवल रोजगारी नभई समाज परिवर्तनको अभियानका रूपमा लिन्छु ।
धेरैजसो सहरका सहकारीमा समस्या छ भन्ने सुनिन्छ, मोफसलका अनि तपाइले ब्यवस्थापनको नेतृत्व गरेको संस्थाका बारेमा बताउनुस ?
केही सहकारीमा देखिएका समस्या सम्पूर्ण सहकारी क्षेत्रको वास्तविक चित्र होइन । हाल धेरै सहकारीहरू अझै पनि सदस्यको विश्वास, पारदर्शिता र अनुशासनका आधारमा राम्रोसँग सञ्चालन भइरहेका छन् । यद्यपि सुशासनको कमी, कमजोर जोखिम व्यवस्थापन, राजनीतिक हस्तक्षेप, अनुशासन बिहिन कर्मचारी, वित्तीय अनुशासनमा कमजोरी र नियमनको प्रभावकारी कार्यान्वयन नहुनु जस्ता चुनौती भने छन् । राम्रो सहकारी अझ राम्रो बन्ने र कमजोर सहकारी सुधारिने बातावरण बनाउन अति आवश्यक छ।
सहकारीलाई सफल बनाउन व्यवस्थापन र सञ्चालकमध्ये को बढी जिम्मेवार र महत्वपूर्ण छ जस्तो लाग्छ ?
मेरो विचारमा दुवै पक्ष समान रूपमा महत्वपूर्ण छन् । सञ्चालक समितिले नीति, रणनीति, दीर्घकालीन दिशा र सुशासन सुनिश्चित गर्छ भने व्यवस्थापनले ती नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्छ । एउटा संस्थामा सञ्चालक मस्तिष्क भए व्यवस्थापन हातखुट्टा हो । यीमध्ये कुनै एउटा कमजोर भयो भने संस्थाको समग्र कार्यसम्पादन प्रभावित हुन्छ ।
व्यवस्थापन र सञ्चालक बीचको सम्बन्ध कस्तो हुनुपर्ला ?
दुवैबीच स्पष्ट जिम्मेवारी, पारस्परिक सम्मान, विश्वास, नियमित संवाद र संस्थाको हितलाई केन्द्रमा राखेर सहकार्य हुनुपर्छ । सञ्चालकले नीतिगत नेतृत्व गर्ने र व्यवस्थापनलाई व्यावसायिक रूपमा स्वतन्त्र भै काम गर्न आवश्यक स्वतन्त्रता दिने वातावरण हुनुपर्छ।
व्यवस्थापनले पनि सञ्चालकलाई सही, समयमै र तथ्यमा आधारित सूचना उपलब्ध गराउनुपर्छ । ताकी संस्थामा च्यालनअफ कमाण्ड अनिवार्य हो । जुन संस्थामा च्यानलअफ कमाण्ड न भै संचालकको सामिप्यतामा कर्मचारीलाइ जोडिन्छ भने त्यस्ता संस्थामा कर्मचारी र संचालकको सम्वन्धमा समस्या पैदा हुन्छ जसको कारण संस्था संचालनमा समस्या आउँछ ।
अधिकांश सहकारीमा व्यवस्थापन भन्दा सञ्चालक हावी हुन्छ भन्ने सुनिन्छ, त्यस्तो भयो भने कसलाई के असर पर्छ भन्नेलाग्छ ?
जहाँ सञ्चालक दैनिक व्यवस्थापनमा अनावश्यक हस्तक्षेप गर्छन्, त्यहाँ निर्णय प्रक्रिया कमजोर हुन्छ, काम गर्ने कर्मचारीको मनोबल घट्छ, व्यवसायिकता हराउँछ र उत्तरदायित्व स्पष्ट रहँदैन, जसबाट संस्था संचालनमा चुनौती आउछ । त्यसैगरी व्यवस्थापनले पनि आफ्नो अधिकारभन्दा बाहिर गएर निर्णय गर्नु उचित हुँदैन । दुवैले आ आफ्नो भूमिका र सीमाको सम्मान गर्दा मात्र संस्था दिगो रूपमा सफल हुन्छ ।
सहकारीहरू केका आधारमा टिकेका छन् जस्तो लाग्छ, सदस्यको विश्वास, सञ्चालक–व्यवस्थापनको चिनजान वा अन्य ?
सहकारीको वास्तविक आधार भनेको सदस्यको विश्वास हो । विश्वास विना सहकारी टिक्न सक्दैन । कतिपय अवस्थामा व्यक्तिगत चिनजान, संस्थाका सामाजिक कार्यहरुको आकर्षणले सदस्य जोडिने गरेका छन् । तर दीर्घकालीन सफलता भने बित्तिय साक्षरता तथा सहकारी शिक्षा, पारदर्शिता, सुशासन र गुणस्तरीय सेवाबाट मात्र सम्भव हुन्छ ।
सरकारको सहकारी नीतिले कर्मचारीलाई हौसला दिएको छ कि नैराश्यता ?
सरकारको नीतिले नियमनलाई बलियो बनाउने प्रयास गरेको छ, जुन आवश्यक पनि हो । तर इमान्दार कर्मचारी र राम्रो काम गरिरहेका संस्थालाई प्रोत्साहन, क्षमता विकास, पेशागत सुरक्षा र स्पष्ट नीतिगत वातावरण पनि उत्तिकै आवश्यक छ । राम्रो काम गर्नेहरूलाई सम्मान र प्रोत्साहन तथा गल्ती गर्नेहरूलाई कानुनी कारबाही हुनुपर्छ । यही सन्तुलित दृष्टिकोणले सहकारी क्षेत्रलाई बलियो बनाउँछ ।
सहकारी संस्थामा कर्मचारीहरुको आकर्षण कस्तो कस्तो देख्नुहुन्छ ?
बर्तमान अवस्थामा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको योगदान र उसले पाउने व्यवहार तथा सेवा सुविधा बास्तवमै उत्साहजनक छैन । तर पनी जसरी सहकारी अभियानमा कर्मशिल भै कामगर्ने कर्मचारीहरुले प्रोत्साहन स्याबासी जस्ता कुराहरु कम नै पाउछन ।
पछिलो समयमा सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको संस्था प्रतिको आर्कषणमा कमि देखीएको छ र छोड्ने दर पनी बढी रहेको छ । यस बिषयमा गहन अध्ययन गरी ब्यवस्थापन गर्न जरुरी देखिन्छ । किनकी यही अवस्था रहेमा सहकारी अभियानमा समस्या उत्पन्न हुने देखिन्छ ।
अन्त्यमा ?
सहकारी भनेको केवल बचत र ऋणको मात्र कारोबार गर्ने संस्था होइन । यो सदस्यको आर्थिक, सामाजिक र नैतिक विकासको साझा अभियान पनि हो । हामी सबैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निभाउने हो भने, सहकारीप्रतिको विश्वास अझ बलियो बन्न सक्छ ।
सञ्चालक, व्यवस्थापन, कर्मचारी र सदस्य सबै एउटै लक्ष्यमा केन्द्रित हुनुपर्छ सुशासन, पारदर्शिता, व्यवसायिकता र सदस्य समृद्धिमा । त्यसैले सहकारीकर्मी, सदस्य, नियामक निकाय तथा सरोकारवालाहरूलाई सहकार्य, विश्वास र सकारात्मक सोचका साथ सहकारी अभियानलाई अझ सुदृढ बनाउन आग्रह गर्दछु ।
Leave a comment