६ महिनामा पौने ६ खर्ब बढी रेमिट्यान्स 

६ महिनामा पौने ६ खर्ब बढी रेमिट्यान्स  :: Sahakari Akhabar

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पौने ६ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बृद्धि र औपचारिक च्यानलबाट रकम बढाउन सरकारले गरेको प्रोत्साहनले रेमिट्यान्समा सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितीसम्बन्धी प्रतिवेदनमा चालु आवको पुससम्ममा रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो ।

यसैगरी अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । चालु आवको पुससम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि  ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार पुगेको छ । रेमिट्यान्समा आएको सुधारले देशको अर्थतन्त्रमा देखिएको बाह्य क्षेत्रको दवाव घटेको छ । जसका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न गई तरलताको अवस्थामा पनि सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।



Leave a comment