हाइलाइट

सहकारीमा पनि बढ्न थाल्यो निक्षेप, नेफ्स्कूनमा २४.१४ % तरलता 

सहकारीमा पनि बढ्न थाल्यो निक्षेप, नेफ्स्कूनमा २४.१४ % तरलता  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थासँगै सहकारीमा पनि निक्षेप बढ्न थालेको छ । देशको आर्थिक सूचक सकारात्मक भएको नेपाल राष्ट्र बैंकको रिपोर्टसँगै आम निर्वाचनका कारण बजारमा आर्थिक गतिविधि बढेपछि वित्तीय बजारमा नगद प्रवाह बृद्धि भई तरलताको अवस्था सहज देखिएको हो ।

बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पनि कात्तिक महिनामा तरलता बढेको छ । नेफ्स्कूनले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार कात्तिक महिनामा संघमा तरलता २४.१४ प्रतिशत पुगेको छ । असोजमा तरलता १८.१६ प्रतिशत रहेको थियो ।

संघको सदस्यता संख्या, शेयर पुँजी र बचत संकलन पनि बृद्धि भएको छ  । असोज मसान्तसम्ममा संघमा १५ अर्व ६९ करोड ३३ लाख ३१ हजार रुपैयाँ बचत रहेकोमा कात्तिकमा बृद्धि भई १५ अर्व ९१ करोड २७ लाख १४ हजार पुगेको छ ।

बचत बृद्धि भएपनि संघले ऋण प्रवाहमा भने कडाइ गरेको छ । जसको कारण संघको ऋण घट्दै गएको छ । असोजमा संघको ऋण प्रवाह १५ अर्व ३७ करोड ७९ लाख २९ हजार रुपैयाँ रहेकोमा कात्तिकमा १५ अर्व २५ करोड ३४ लाख २२ हजारमा झरेको छ । तर संघमा ऋणीको संख्या भने बृद्धि भएको छ ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल पछिल्लो समय सहकारी संस्थाहरुमा बचत बृद्धि हुन थालेको बताउछन् । ‘सहकारी समस्याग्रस्त भएका केहि क्षेत्रमा बाहेक अन्य क्षेत्रका सहकारीहरुमा बचत बढ्न थालेको छ’ उनले भने, ‘यसबाट संघमा पनि निक्षेप बृद्धि भई तरलताको अवस्था केहि सहज देखिएको छ ।’ ललितपुर बाहेक अन्य क्षेत्रहरुमा भने निक्षेप बृद्धि भएको उनले जानकारी दिए । तर, तरलता व्यवस्थापनका लागि ऋण प्रवाहमा कडाइ गरिएको उनको भनाइ छ ।

कात्तिक महिनामा बाणिज्य बैंकहरुमा पनि १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपिएको छ । ब्याजदर महंगो भएपछि कर्जा प्रवाह भने सुस्त भएको छ । कात्तिकमा बैंकहरुले एक अर्व २९ करोड कर्जा प्रवाह गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।



Leave a comment