काठमाडौं । बचत तथा ऋण सहकारीका ब्यवस्थापन प्रमुखहरुले अहिलेको अवस्थामा सहकारीको इमेज बचाउने चिन्ता रहेको बताएका छन् ।
उनीहरुले मुलूकको सहकारी अभियान सबैभन्दा चुनौतिपूर्ण मोडमा रहेको भन्दै बजारमा गिर्दो सहकारी क्षेत्रको इमेज बचाउन लागि पर्नुपर्ने बताएका हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सहकार्यमा नेफ्स्कून म्यानेजर्स क्लवले भक्तपुरमा आयोजना गरेको ‘२१औं शताव्दीमा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व’ विषयक दुई दिवसीय कार्यशाला गोष्ठीमा सहभागीहरुले सहकारीको इमेज बचाउने चिन्ता रहेको बताएका हुन् ।
चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले मुलूकको सहकारी अभियान सबैभन्दा चुनौतिपूर्ण मोडमा रहेको बताए । उनले बजार क्षेत्रमा गिर्दै गरेको सहकारी क्षेत्रको इमेज बचाउन लागिपर्नु तत्कालिन आवश्यकता रहेको औंल्याए।
विगत दुई वर्षदेखि कोभिडका कारण विश्वव्यापी आर्थिक मन्दी देखिएको र त्यसको असर मुलूकमा समेत परेकाले र यसको प्रभाव अझै कति समय रहन्छ भन्ने यकिन नभएको अवस्थामा साकोसहरु संयमित र सजग हुनुपर्ने बताए । असहज परिस्थितिकाबीच आयोजना भएको गोष्ठीले केहि उर्जा थपेको भन्दै उनले आफुहरु उत्प्रेरित भएको जनाए ।
नेफ्स्कून म्यानेजर्स क्लवका संयोजक तथा हाम्रो जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले सहकारीको बर्तमान अवस्थाको विषयमा समिक्षा गर्न कार्यशाला गोष्ठी आयोजना गरेको बताए ।
उनले सहकारीमा भएको समस्या तथा अवसरका विषयमा समेत छलफल भएको बताए । त्यसैगरी सहकारीमा मानव संसाधनका विषयमा, सहकारीमा प्रविधिको प्रयोगको विषयका साथै सदस्यको वित्तिय स्वास्थ्यलगायतका विषयमा छलफल भएको जनाए।
सहायक कार्यकारी अधिकृत गणेश तिमिल्सिनाले म्यानेजर्स क्लवको आगामी बाटो तय गर्नुपर्ने बताए । उनले सहकारीमा योग्य कर्मचारी उत्पादनको खाँचो रहेको औल्याए ।
प्रदेशस्तरीय म्यानेजर क्वल गठन र सदस्यता विस्ताको आवश्यकता रहेको साथै सक्षम ब्यवस्थापक उत्पादन गर्नुपर्ने बताए । उनले भने ‘हामीले राम्रो मान्छे पाएको छैन, मान्छेले काम पाएका छैनन्’ । उनले तत्कालै एचआर बैंकको आवश्यकता रहेको बताए ।
त्यस्तै कार्याशालामा सहभागी महिला मिलन मकवानपुरकी ब्यवस्थापक फूलमाया मोक्तानले विषम् परिस्थितिमा सहकारीका विकृतिलाई केलाएर संस्थाहरु अगाडी बढ्नुपर्ने अवस्था आएको र सवै सहकारीका ब्यवस्थापकहरुको क्षमता वृद्धिमा म्यानेजर्स क्लवले भूमिका खेल्नुपर्ने बताइन् ।
उनले निति बिधिमा चलेका सहकारीबाहेक अन्य सहकारीहरुलाई पनि समेटेर उनीहरुलाई पनि निति बिधिमा चल्न प्रेरित गर्ने काममा क्लवले भूमिका खेल्नुपर्ने बताइन् ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सहकारीमार्फत प्राप्त उपलब्धीको सम्वद्र्धन गर्दै साकोस अभियानको स्वस्थ विकासलाई प्रोत्साहित गर्न लाग्नु पर्ने बताए ।
कार्यशाला गोष्ठी सातबुँदे संकल्प पत्र जारी गर्दै सम्पन्न भएको छ । संकल्प पत्रमा अभियानको श्रोत, अभियानकै लागि संकल्प सहित सञ्जालको श्रोतमा पहुँच र साझा प्रविधि अवलम्बन गर्ने जनाइएको छ ।
त्यसैगरी सञ्जाल सुदृढिकरण, नविनतम प्रविधि र अभियानमैत्री नीतिगत व्यवस्थाका लागि निरन्तर बहस तथा पैरवी गर्न अनुकूल वातावरण निर्माण गर्ने । साकोस एकरुपता प्रणाली कार्यान्वयनका लागि ऐक्यवद्धता कायम गरी छवि प्रवर्धन गर्ने उल्लेख छ ।
त्यसैगरी साकोसमा देखिएका वित्तीय जोखिम न्यूनिकरणका लागि मानदण्डहरुको विकास र कार्यान्वयन गरी निरन्तर समन्वय र सहकार्यमा स्वनियमनको अभ्यासमा सहकार्य गर्ने ।
सञ्जालमा योग्य एवं दक्ष जनशक्ति विकासमा मानव संशाधन बैंक निर्माणका लागि नविनतम् प्रविधिको विकास गर्न म्यानेजर्स क्लबमार्फत प्राविधिक समन्वय तथा सहजिकरण गर्ने । अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आन्तरिकीकरण गरी दिगो विकास लक्ष्य प्राप्तिमा योगदानका लागि सहजिकरण तथा सहकार्य गर्ने ।
तथा वित्तीय सहकारी अभियानलाई सुरक्षित तथा सुदृढ बनाई जोखिम न्यूनिकरणका लागि स्थिरीकरण कोषमा सहभागिता अभिवृद्धि गनृ सहजीकरण गर्ने उल्लेख छ । गोष्ठीमा ६ वटा प्रदेशका बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापकहरुको सहभागीता रहेको थियो ।
Leave a comment