काठमाडौं । मुद्दति योजनाका कारण सहकारीको निक्षेप तानिरहेका बैंकहरुमा चुनावी चहलपहलसँगै घट्न थालेको छ । असोजमा बाणिज्य बैंकहरुमा निक्षेप बढेपनि कात्तिकबाट भने घट्न थालेको हो ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा मात्र बाणिज्य बैंकहरुबाट मात्र १७ अर्व १३ करोड निक्षेप बाहिरिएको छ । असोज मसान्तसम्ममा बाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ४७ अर्व रुपैयाँ निक्षेप रहेकोमा कात्तिक ११ गतेसम्ममा ४५ खर्ब २४ अर्व रुपैयाँमा झरेको छ । कात्तिक पहिलो साता पनि बैंकहरुबाट ६ अर्व २४ करोड रुपैयाँ बाहिरिएको थियो ।
निक्षेपसँगै बैंकहरुको कर्जा लगानी पनि घटेको छ । कात्तिक दोस्रो साता बाणिज्य बैंकहरुले ५६ करोड रुपैयाँ कर्जा घटाएका छन् । कात्तिक पहिलो साता भने ४ अर्व ५४ करोड कर्जा बृद्धि भएको थियो ।
बैंक तथा वित्तीय संस्थासँगै सहकारी क्षेत्रले पनि तरलता अभावको समस्या भोगिरहेको छ । जसको कारण कतिपय सहकारीहरुले सदस्यको माग अनुसार बचत समेत फिर्ता गर्न सकिरहेका छैनन् ।
Leave a comment