काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले कच्चा पदार्थ आयात रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष नारायण देवकोटा र महासचिव रामप्रसाद आचार्यद्धारा जारी विज्ञप्तिमा २ वर्षअघि नै दूधमा आत्मनिर्भर उन्मुख घोषणा भए पनि कच्चा पदार्थ ल्याउन नछोडेको जनाइएको छ ।
किसानलाई निरुत्साहित गर्ने दूधको भुक्तानी नगर्ने गुनासो संघको छ । चैत्र÷वैशाखमा दूध ल्याउन आवश्यक नपर्ने तर प्लस सिजन सुरु भएपछि विभिन्न बाहानामा कच्चा पदार्थ ल्याउने गरिएकोमा संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
‘किसानलाई पलायन गराउने गरी दूग्ध विकास संस्थान र डेरी उद्योग लागेका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘स्वदेशमै आत्मनिर्भर हुन सक्ने भएपनि बाहिरबाट ल्याउनु दुखद हो ।’ संघले उक्त समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
किसानको महिनौंको भुक्तानी नदिने तर विदेशबाट पहिला डलरमा रकम भुक्तानी गरेपछि मात्र दूध ल्याउनमा संस्थान र डेरी उद्योगहरु लागिपरेको संघको आरोप छ । किसानलाई प्रोत्साहन गर्नुको साटो महंगो मूल्यमा विदेशबाट दूध खरिद गर्ने गरिएको संघले रोष प्रकट गरेको छ ।
दूधको कच्चा पदार्थ आयातले १ हजार ८ सय ७२ सहकारीका ६ लाख परिवार विचल्लीमा परेका छन् । पशु सेवा विभागबाट २० प्रतिशत औपचारिक क्षेत्रबाट दूध खपत भइरहेको जनाइएको छ । ३० प्रतिशत अनौपचारिक क्षेत्रमा खपत भइरहेको र ५० प्रतिशत अझै गाउँघरमै खपत भइरहेको भन्दै औपचारिक क्षेत्रमा ल्याउन जोड दिइएको छ ।

Leave a comment