समुदायमा पुगेर, समुदायकै लागि धेरैभन्दा धेरै वित्तिय कारोबार गर्ने संस्था हो सहकारी । जसले वित्तिय सेवा मात्र नभई मानिसको जन्मदेखि मृत्युसम्म हरेक कृयाकलापमा जोडिएर कार्य गरिरहेको हुन्छ । घर परिवार तथा समाजका हरेक ब्यक्तीको नाडी छामेको हुन्छ सहकारीले ।
त्यसैले त ३० हजार सहकारीमा ७० लाख मानिस आवद्ध छन् । तर, सहकारीमा मानिस किन र कसरी आवद्ध भएका छन् भन्ने कुरा चाही मुख्य कुरा हो । के ७० लाख मानिसले सहकारीलाई चिनेका वा बुझेका छन् त? छैनन्, पक्कै छैनन् ।
सदस्यले सहकारी बुझेका छैनन् सरोकारवालाहरुले पनि बुझाउने कोसिस गरेका छैनन् अनि सदस्यले पनि बुझ्न चाहेका छैनन् । किन भने सहकारीका अगुवाहरु र संचालकहरुले सहकारीको बाटो मोडिदिएका छन् । सदस्यले सहकारी बुझ्ने कसरी ? सदस्यलाई सहकारी बुझाउने कार्यक्रम नै छैनन् ।
भएका सहकारी शिक्षाजस्ता कार्यक्रमका बजेट सहकारी नेता र नियामकहरुले देश बिदेश घुमेर, रिसोर्ट र जंगल चाहरेर सकेका हुन्छन् । सहकारीका संचालकले जंगल चाहरेर रुख बुट्टालाई अंगालो हालेर ध्यान गर्दैमा सदस्यमा सहकारी शिक्षा पुग्छ र !
जिल्लादेखि केन्द्र तथा महासंघसमेत सदस्यलाई सहकारी शिक्षा पुर्याउनमा चुकेको छ । सहकारीमा ब्याजको लोभमा कारोबार गरिरहेका छन् । सहकारीहरु गलत बाटोमा जाने खतरा छ । आर्थिक गतिबिधि गर्ने संघ संस्थालाई यतिखेर खाता बन्दिको चटारो छ, बार्षिक गतिबिधिहरुको मैझारो मार्नु छ ।
मूलुकको वित्तिय क्षेत्र असहज बन्दै गर्दा, सहकारीहरुलाई पनि सहजता छैन् । तरलता ब्यवस्थापन गर्नेदेखि सदस्यलाई मुनाफा दिनेसम्मको चुनौति छ । सदस्यलाई नगदमा मुनाफा चाहिन्छ, सहकारीले सदस्यलाई देखाउनकै लागि भएपनि नाफा बाँडेका हुन्छन् ।
किनकी यती दिन्छु भनेर प्रतिवद्धता सहित सदस्यसँग रकम संकलन गरिएको हुन्छ । सदस्यले पनि ब्याजको लोभमा पैसा राखेको हुन्छ । त्यसले गर्दा सहकारीमा सहकारीता रहेन, सदस्यले सहकारी बुझेन, अभियानले बुझाउन चाहेन र सहकारीमा समस्या आउने क्रम बढ्दै छ ।
सदस्य केन्द्रीत र सदस्यद्धारा नियन्त्रित सहकारी हो भने सहकारीमा समस्या आउँदैन र भवितब्य आइहालेपनि सदस्यद्धारा नै समाधान हुन्छ, बजारमा छताछुल्ल हुन्न ।
बैंक वित्तिय संस्थामा जस्तै सहकारीमा तरलता अभावको समस्या देखिदैछ । संस्थामा भएको निक्षेप दिनका दिन घट्दै छ । पूर्व गभर्नर युवराज खतिवडाले धुलिखेलमा भएको एउटा कार्यक्रममा सहकारीलाई समस्या आउनु नहुने र आएमा त्यो सहकारी नहुने बताएका थिए ।
बास्तवमा हो पनि यदी सदस्य केन्द्रीत र सदस्यद्धारा नियन्त्रित सहकारी हो भने सहकारीमा समस्या आउँदैन र भवितब्य आइहालेपनि सदस्यद्धारा नै समाधान हुन्छ, बजारमा छताछुल्ल हुन्न । प्रत्येक सदस्यलाई आफू आवद्ध संस्थाको बारेमा पूर्ण जानकारी हुनु पर्छ, हरेक गतिबिधिमा आवद्ध हुनु पर्छ ।
सहकारीले तपाइको पैसाको ब्याज मात्र दिंदैन, तपाइको परिवार र जीवनसंग पनि सरोकार राख्दछ । समाज र सामाजिक कार्यमा पनि चासो र चियो चर्चा गर्छ । यदी यसो गरेको छैन भने त्यो सहकारी हैन्, मात्र पैसाको पसल राखेको दुकान मात्र हो । त्यसबाट तपाई परै बस्नुस् ।
अनि तपाई सहकारीसँग ब्याज मात्र हिसाव गर्ने, अरु कृयाकलापमा सहभागी नहुने र सहकारीका बारेमा बुझ्ने कोसिस गर्नुहुन्न भने तपाईका लागि कारोबार गर्न बैंक वित्तिय संस्था नै ठिक छन्, सहकारीका कार्यालय नधाउनुहोस् । ब्यापारी मगजमा सहकारीमा कारोबार गर्ने सदस्य र संचालकले सहकारी छाडेकै राम्रो ।
नगदको मात्र हिसाब हुन्छ, सामाजिक गतिबिधि हुन्नन् भने त्यो सहकारीले बाटो बिराउन थालेछ भन्ने बुझे हुन्छ । संरक्षित पूँजी फिर्ता कोष, सहकारी शिक्षा कोष, जगेडा कोष, सहकारी प्रवर्धन कोष, सेयर लाभांस कोष, सामुदायीक विकास कोषलगायतका एक दर्जन कोषहरुबाट सदस्यले लाभ लिन सक्छन् ।
के तपाईले यी कुरा ख्याल गर्नु भएको छ ? त्यसैले सहकारीको सेवाहरुलाई ब्याजमा मात्र तुलना गर्न हुँदैन र अन्य तरिकाबाट पनि लाभ लिन सकिन्छ । जुन सहकारीमा तरलता अभावजस्ता समस्याले बिकराल रुप लिन्छ भने त्यसको भागिदार सदस्य पनि हुन्छन्, सदस्यले पनि संस्थाप्रति आफ्नो कर्तब्य र जिम्मेवारी भुलेको ठानिन्छ।
सहकारीमा अहिले क्लोजिङको चटारोलाई ब्याजको झटारोका रुपमा सदस्यले र सहकारीले नगद नाफालाई मात्र हेर्न भएन । यो नियमित प्रकृया हो समय परिस्थिति र देशको अवस्थाले गर्दा गतिबिधिमा फरक आए पनि सहकारी र सदस्यमा फरकपन आउनुभएन । ‘क्लोजिङ टाइम’ फलामको चिउराका रुपमा नलिने की ! कि कसो त !
Leave a comment