काठमाडौं । जिल्लाका सहकारी संघसंस्थाहरुलाई नेतृत्व गर्ने जिल्ला सहकारी संघ अधिकांश जिल्लामा निश्कृय अवस्थामा छन् । जसको कारण जिल्लाका स्थानिय तहमा नीतिगत लविङदेखि संस्थाहरुले आवश्यक सेवा पाउन सकेका छैनन् । तर, दोलखा जिल्ला सहकारी संघ भने विषयमा अलग छ । संघ आफ्ना सदस्य संस्थाहरुको आवश्यक्ता अनुसारको सेवा प्रदान गर्नेदेखि नीतिगत लविङमा समेत सक्रिय भएर लागेको छ । यहि सक्रियताकै कारण राष्ट्रिय सहकारी महासंघले सयौं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभरका संघहरुमध्ये उत्कृष्ट संघका रुपमा पुरस्कृत गरेको छ ।
२०५० साल भदौमा स्थापना भएको संघ जिल्लाको सहकारीको विकासका लागि क्रियाशील रहेको अध्यक्ष हेमन्त चौलागाई बताउँछन् । ५ वटा साझा र २ वटा बचत तथा ऋण सहकारी गरी ७ वटा संस्थापक सदस्यबाट स्थापना भएको संघमा अहिले ४३५ वटा संस्था आबद्ध छन् । अध्यक्ष चौलागाई संघलाई नमूना बनाउन लागिपरेको बताउँछन् । ‘जिल्लालाई रचनात्मक र सिर्जनशील बनाउन दत्त चित्त भएर लागेका छौं’ उनले भने ।
संघमा जोडिएका सदस्य सहकारीको क्षमता विकास गर्न जिल्लाले प्रभावकारी काम गर्दै आएको छ । यसै वर्षदेखि ४ वर्षे व्यवसायिक रणनीति बनाएर काम गरिरहेको अध्यक्ष चौलागाईले जानकारी दिए ।
संघका व्यवस्थापक अनिल दाहालले सहकारीलाई तालिम, गोष्ठी गरी क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने गरिएको बताए । स्थानीय तहसँग सहकार्य गरी नीति कार्यक्रम, बजेट निर्माण तथा सहजीकरण गर्ने गरिएको उनको भनाइ छ । स्थानीय तहसँग साझेदारी गरी प्रारम्भीक सहकारीलाई तालिम दिने गरिएको उनले बताए । स्थानीय तहमै सहकारीसम्बन्धी स्वेतपत्र निर्माण गरिएको उनको भनाइ छ ।
सहकारीका सरोकारवाला निकायसँग समन्वय गरी गतिविधि गर्ने गरिएको व्यवस्थापक दाहालले बताए । संघले बागमती प्रदेश सहकारी मन्त्रालय, विकास बोर्डलगायतसँग सहकार्य गरी कार्यक्रम गर्दै आएको छ ।
संघले प्रविधि प्रयोगमा उच्च प्राथमिकता दिदएको छ । संघले मोबाइल बैंकिङ मार्फत सदस्यलाई सेवा दिइरहेको छ । संस्थाले वित्तीय कारोबार पनि बढाउँदै लगेको छ । यो वर्ष संस्थाले ५१ करोडको कारोबार गरेको छ ।
सामाजिक कार्यमा पनि जिल्ला संघ उत्तिकै सक्रिय छ । प्राकृतिक प्रकोपमा परेका सहकारीलाई सहयोग गर्र्दै आएको छ । सहकारीका कर्मचारीलाई दिगो रुपमा सेवा दिन कल्याणकारी कोष स्थापना गरेको छ । त्यसमा संघले २५ हजार रकम जम्मा गर्दै अन्य सहकारीलाई पनि कोषमा पैसा जम्मा गर्न आह्वान गरेको छ । संघले सामाजिक सेवा कोष पनि सञ्चालनमा ल्याएको छ ।
संघले घरजग्गा कोष पनि सञ्चालनमा ल्याएको छ । सहकारीको विकासका लागि बहस समेत सञ्चालन गर्दै आएको छ । संघले कोभिडदेखि सामाजिक गतिविधि अझै बढाउँदै लगेको छ ।
कोशेली घर निर्माण तयारी
जिल्ला सहकारी संघ दोलखाले कोशेली घर सञ्चालन गर्ने तयारी गरेको छ । दोलखाका सबै उत्पादन एकै थलोबाट बिक्री गर्ने उद्देश्यले कोशेली घर निर्माण गरिएको व्यवस्थापक दाहालले बताए ।
संघले एकीकरण पहलका साथै, निश्क्रियलाई सक्रिय बनाउँदै आएको छ । यो वर्षदेखि सहकारीलाई कम्प्युटर प्रिन्टर, इन्टरनेट, सफ्टवेयर सेवा पनि दिइरहेको व्यवस्थापक दाहालले बताए ।
विषयगत संघ सक्रिय बनाउने, मर्ज गर्ने र खारेज गर्ने तयारी गरेको दाहाललको भनाइ छ । प्रविधिमैत्री बनाउँदै एकरुपतामा जोड दिइएको संघका पदाधिकारी बताउँछन् । ‘आपतकालीन कोष पनि खडा गर्दै छौं । सूचना डायरी प्रकाशन गर्दैछौं’ उनले भने ।
Leave a comment