बखानसिंह, सहकारी र संग्रहालय

बखानसिंह, सहकारी र संग्रहालय :: Sahakari Akhabar

सहकारिताको भावना भएका बखान सिंहले बस्ती बसाउन जग्गा वितरण भइरहेको बेला स्थानीय ६० जनालाई भेला गराई प्रति व्यक्ति १० रुपैयाँका दरले ६०० रुपैयाँ जम्मा गरी २०१३ साल चैत २० गते “बखानपुर सहकारी ऋण समिति” संस्था गठन गरेको इतिहास छ । त्यति बेला बस्ती बसाएको चितवनको उक्त स्थानलाई उनकै नामबाट बखानपुर नामाकारण समेत गरिएको थियो ।

 प्रसङ्गः १ सय २३ औं बखानसिंह जन्मजयन्ती 

६५ वर्षपुगेको नेपालको सहकारी अभियानको सुत्रधार स्वर्गीय बखानसिंह गुरुङको आज १ सय २३ औं जन्मजयन्ती हो । ६५ औं राष्ट्रिय सहकारी दिवस मनाएर अघिल्लो साललाई बिदाइ गरेको नेपाली सहकारी अभियानले नयाँ वर्षको सुरुवात अभियानका जन्मदाताको जन्मजयन्तीबाट गर्दैछ । व्यक्तिको जन्म विराट अभियानको जन्मसँग प्रत्यक्ष परोक्ष जोडिएकाले पनि बखानको ‘बायोग्राफी’बुझ्नु आजको दिनमा सान्दर्भिक नै हुन्छ ।

त्रिभुवनलाई बिन्तीपत्र

सहकारीका संस्थापक गुरुङको जन्म १९५६ साल बैशाख ५ गते तनहुँको पुलीमराङमा भएको थियो । राणाकालमै उनी सैन्य सेवामा भर्ती भए । त्यहाँ काम गरी उनले तारिफ कमाएका थिए । चिन्नेहरु सिंहलाई प्रतिभाशाली र फुर्तिलो भन्छन् ।

औपचारिक शैक्षिक अध्ययन बिनानै अनुभवको निखार थियो उनमा । छोटो समयमा उनी कामबाट चिनिए । सोही कारण छिट्टै बढुवा पनि भए । त्यसबेला गण्डक क्षेत्रको सदरमुकाम बन्दीपुरमा बसेर लमजुङ, तनहुँ, म्याग्दी, मनाङ, मुस्ताङ, कास्की, पर्वत लगायतका जिल्लाको कमानी उनले सम्हालेका थिए ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सिंहले छोरा गुमाए । केही समपछि उनी परिवारै लिएर चितवन बसाइँ सरे । त्यससमय गण्डक क्षेत्रमा भीषण बाढीले बितण्डा मच्चाएको थियो । सोही कारण भूमिहीन बिस्थापितहरुलाई चितवनमा बसोबासको व्यवस्था मिलाउन सकिने सम्भावना सिंहले देखे ।

यस विषयमा उनले राजा त्रिभुवनलाई बिन्तीपत्र समेत बुझाएका थिए । तर, त्यसबीच २०११ सालमा त्रिभुवनको निधन भयो । २०१२ सालमा राजा महेन्द्रले तत्कालीन राप्ती दून विकास परियोजनाका डाइरेक्टर कृण्ण ध्वज मल्ल (पछि मुख्य सचिव) लाई ‘तपाई चितवन जानुहोस् र गण्डक क्षेत्रका भूमिहिनहरुलाई चितवनमा बस्ती बसाउने सम्भावना बुझ्नुस्’ भनी आदेश दिए ।

त्यसका लागि बखान सिंहसँग सहकार्य गर्न उनले सचिव मल्ललाई निर्देशन दिएका थिए । सोही अनुरुप सचिव मल्लले गुरुङसँग सहकार्य गरी २०१३ सालमा चितवनको राप्ती दून क्षेत्रमा बाढीबाट बिस्थापितहरुलाई जग्गा दिलाएर बस्ती बसाउने राप्तीदून विकास परियोजना अन्तर्गत सहकारिताको माध्यमबाट ऋण सहयोग परिचालन गर्ने उद्देश्यले ऋण सम्बन्धी संस्था गठन कार्यमा भूमिका खेले । बस्ती बसाउने क्रममा चितवनको घना जंगल फडानी गरेबापत १३ लाख रुपैयाँ बराबरको मुद्दा पनि खेप्नुपर्यो सिंहले ।

सहकारिताको भावना भएका बखान सिंहले बस्ती बसाउन जग्गा वितरण भइरहेको बेला स्थानीय ६० जनालाई भेला गराई प्रति व्यक्ति १० रुपैयाँका दरले ६०० रुपैयाँ जम्मा गरी २०१३ साल चैत २० गते “बखानपुर सहकारी ऋण समिति” संस्था गठन गरेको इतिहास छ । त्यति बेला बस्ती बसाएको चितवनको उक्त स्थानलाई उनकै नामबाट बखानपुर नामाकारण समेत गरिएको थियो ।

२०१७ सालको राजनीतिक परिवर्तन पछि राजद्रोही कहलिए बखान सिंह । सोही कारण महेन्द्रले बखानपुर नाम परिवर्तन गरी आफ्नी माहिली छोरी शारदाराज्य लक्ष्मीको नाममा उक्त ठाउँको नाम शारदानगर राखेका थिए ।सहकारी अगुवा भएपनि कहिल्यै सञ्चालक समितिमा रहेर काम नगरेका उनी संरक्षकीय जिम्मेवारीमै रही नेतृत्वदायी भूमिका खेले । उनका नाति चन्द्रध्वज हाल बखान बहुउद्देश्यीय सहकारीको संरक्षक छन् ।

बखान सिंहले सहकारी स्थापना गरेको दिनको स्मरणमा चैत २० लाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइन्छ । गत महिना चैत २० गते मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरि मनाइयो ।

दुबै छोरा गुमाए

गुरुङका दुई छोरा धर्मध्वज र लालध्वजमध्ये २००७ सालको बन्दीपुर काण्डमा धर्मध्वज मारिएपछि उनी नेपाली कांग्रेसकातर्फबाट पूर्णरुपमा प्रजातान्त्रिक आन्दोलनमा होमिए । बीपी कोइरालासँग गुरुङको सान्निध्यता थियो । २०१५ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

२०१७ सालको महेन्द्रीय “कू” पछि बखानसिंह कोलकत्ता हुँदै बिहारको नरकटिया पुगे । पञ्चायती सरकारले उनको श्रीसम्पत्ति कब्जा गरेर बखानपुरस्थित घरमा आगजनी ग¥यो । बखान बाका अर्का छोरा लालध्वज पनि २०१८ सालको क्रान्तिमा कास्कीको कोत्रेमा सहिद भए । लगाएको एकसरो लुगाबाहेक घरबाट केही झिक्न नपाएको उनको परिवार ज्यान जोगाएर जङ्गलको बाटो हुँदै भारत पसेको थियो ।

भारतमा रहँदा बखान सिंह सुवर्ण शम्सेर निकट भए । पछि आन्दोलनकारीहरुलाई आममाफीको घोषणासँगै उनी स्वदेश फर्किए । २०३६ सालको जनमतसंग्रहमा नेपाली कांग्रेसका तर्फबाट बहुदलीय प्रजातन्त्रको पक्षमा वकालत गरेका उनी पार्टीमा खटपटपछि पञ्चायतका तर्फबाट निर्वाचनमा सहभागी भई राष्ट्रिय पञ्चायत सदस्य चुनिए । २०३९ सालमा बखान सिंह न्याय तथा कानून मन्त्री भए ।

पाटन अस्पतालमा निधन

मन्त्री पदमै रहँदा अस्वस्थ्य भएका उनी उपचारका लागि थाइल्याण्ड गए । तर फर्केको केही समयपछि नै पुनः थलिएका उनलाई पाटन अस्पताल भर्ना गरियो । अस्पतालमै २०४० साल माघ २५ गते उनको इहलीला समाप्त भयो ।

बखान सिंहका बिषयमा राष्ट्रिय सहकारी विकास बोर्ड (तत्कालीन साझा केन्द्र लि.) का संस्थापक अध्यक्ष विश्वबन्धु थापाले लेखकसँग निक्कै वर्षअघि उनकै निवासमा भनेका थिए– “बखानसिंह गुरुङ चितवनमा नेपाली कांग्रेसमा काम गर्थे । सामाजिक र असल मानिस थिए । उनले त्यहाँ सहकारी अभियानमा काम गरेका थिए ।

सरकारले चितवनमा पहाडियालाई ल्याएर जग्गा बाँडेपछि हरेक गाउँमा सहकारी खोलिदिएको थियो, मिलेर काम गरेर भनेर । बखानसिंह त्यस अभियानका अगुवा थिए । त्यतिबेला एउटा बोर्ड थियो । बोर्डमा बखानसिंह जनताका प्रतिनिधि थिए ।

त्यसकारण बखानसिंहको नाम बढ्ता आएको हो । उनी गरिबका लागि केही गरौं भनेर लागेका असल मान्छे थिए, तर उनीसँग ‘कन्सेप्ट’ थिएन । बरु कृष्णबम मल्ल भन्ने सचिव थिए । उनी चाहिँ कन्सेप्ट भएका मान्छे थिए, पढेलेखेका कृषि विज्ञ पनि थिए । उनले बखानसिंहलाई सिकाएका हुन् । बखानसिंहले त जे–जे अहयो, त्यो इमान्दारीपूर्वक पूरा गरे । उनी सहकारीबाट धनीचाहिँ भएनन् ।”

जसको निर्देशनमा जे जसरी भएपनि बखान सिंह नेपालमा सहकारीको बीजारोपण गर्ने व्यक्ति हुन् । बखान सिंह र सहकारिताबीच अविनाभाव सम्बन्ध उनको इहलीला समाप्त भएको १ सय २२ वर्ष प्राचीन छ । बखान सिंहले रोपेको विरुवा राम्रो भएपनि हेरचाहका कारण अपेक्षित पल्लवित हुन सकेको छैन ।

इतिहासको वैभवमा मात्रै सधै बखान सिंह र उनको सहकारी बाँचिरहनुहुन्न भन्ने हो । उनको चिनोको यथोचित संरक्षण र सम्वद्र्धनमा सामूहिक ध्यान पु¥याउन सके आगामी बैशाखमा पालुवाहरु पल्लवित हुने थिए । जसरी भानु, देवकोटा, पृथ्वी, लेखनाथ, सम आदि जयन्तीहरु रौनकका साथ मनाइन्छन् त्यसरी नै सहकारी क्षेत्रले बैशाख ५ बखान जयन्तीका रुपमा भव्यताका साथ किन नमनाउने ?

बखान सहकारी बौरिनुपर्छ

बैशाख ५ को सेरोफेरो पारेर बखान सिंहको इतिहास खोतल्ने, उनको विषयमा चर्चा परिचर्चा गर्ने र मुलतः उनको “सन्तान” बौरिनुपर्छ । उमेरले ७३ पुगेका भक्त गुरुङको कमानीमा पुगेको छ बखान बहुउद्देश्यीय सहकारी संस्था गएको चैतमा। उमेर ढल्के पनि जिम्मेवारी लिनुपर्ने अवस्थामा पुगेको उनी बताउछन् ।

निवर्तमान अध्यक्षले पदीय मयार्दा विपरित काम गरेका कारण कार्यकाल सकिनु १ वर्ष अघि नै बिशेष साधारण सभा गर्नुपर्ने स्थिति सृजना भयो । उद्देश्य परिवर्तन गरेपनि, अध्यक्ष नयाँ निर्वाचित गरेपनि, तेल बेचेपनि अनि बखान सिंहको विरासतमा रमाएपनि सहकारीले ‘ग्रोथ’ को घुम्टो कहिल्यै उघार्न सकेन । यो नेपाली सहकारी अभियानकै लागि बिडम्वनाको कुरा हो ।

सहयोग पर्खदै संग्रहालय

त्यस्तै, केही वर्षदेखि सुरु भएको बखान संग्रहालय निर्माणको काम पनि बजेट अभावमा सम्पन्न हुन सकेको छैन । विश्वलाई बखान सिंह र सहकारी अभियान चिनाउने उद्देश्यका साथ निर्माण सुरु गरिएको संग्रहालय सहयोग कुरेर बसिरहेको छ । ५ करोड खर्च भएपनि काम सम्पन्न हुन अझै धेरै बाँकी छ ।

पछिल्लो इस्टमेट अनुसार सम्पूर्ण सकिन ७ करोड २० लाख रुपैयाँ लाग्दछ । गत वर्षसम्म ५ करोड भएपुग्ने अनुमान गरिएकोमा बढ्दो महंगीले अनुमानित बजेट बढेको हो । पोखरेली प्रखर सहकारीकर्मी भीम गुरुङ राष्ट्रिय सहकारी महासंघको यसतर्फ चासो र चिन्ता आवश्यक ठान्छन् ।

बेलायतमा रोचडेल म्युजियम, जर्मनीमा राइफाइसन र शुल्ज म्युजियम, क्यानाडामा डेजार्डे म्युजियमहरु ठूलो छाती फुकाएर दिनप्रतिदिन फराकिलो हुँदै जाँदा बखान सहकारी संग्रहालय भने भौतिक रुपमा ठडिन नसक्नु पनिसुखद समाचार पक्कै होइन । यी सबै काम गर्न सक्नु नै साँचो अर्थमा बखान सिंहलाई सम्मान प्रकट गर्नु हो ।



Leave a comment