आइसीए अफ्रिकामा नयाँ सञ्चालक समिति

आइसीए अफ्रिकामा नयाँ सञ्चालक समिति :: Sahakari Akhabar

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अफ्रिका महादेश हेर्ने क्षेत्रीय निकाय आइसीए अफ्रिकामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।विश्वभरका सहकारीहरुको साझा मञ्च आइसीएका ४ क्षेत्रीय कार्यालय र तिनको सञ्चालनका लागि क्षेत्रीय बोर्ड छन् । आइसीए अन्तर्गत हाल ग्लोबल बोर्ड बाहेक एशिया प्रशान्त क्षेत्रका लागि आइसीए–एपी, युरोपका लागि कोअपरेटिभ्ज्–युरोप (कोप्स युरोप), अफ्रिकाका लागि आइसीए–अफ्रिका र उत्तर तथा दक्षिण अमेरिकी महादेशका लागि कोअप अमेरिकाज् गरी क्षेत्रीय बोर्ड छन्।

जसअन्तर्गत सन् २०२१ अक्टोबर १५ अर्थात् यही अंग्रेजी महिनामा आइसीए अफ्रिकाको १५ औं क्षेत्रीय साधारण सभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएको हो ।  विद्युतीय प्रणालीबाट भर्चुअल रुपमा सम्पन्न मतदान अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो। निर्वाचनबाट २ जना अनुहारहरु भिन्न भूमिकामा दोहोरिएका छन् भने बाँकी नयाँ अनुहारहरु समितिमा आएका छन् । निर्वाचनबाट नाइजेरियाली सहकारी महासंघ–(कोअपरेटिभ फेडेरेशन अफ नाइजेरिया) को प्रतिनिधित्व गर्दै आइओला टाजुडिन ओरियोमि अध्यक्ष निर्वाचित भएका छन् भने उपाध्यक्षमा केन्याली बचत तथा ऋण सहकारी संघ–(कुस्को) का जर्ज मागुटु चुनिएका छन् । अघिल्लो सञ्चालक समितिमा उनी केवल सदस्य थिए । समितिका अन्य ३ सदस्यमा इथोपियाली बचत तथा ऋण सहकारीका मेस्फिन गेब्रेस्लासी गर्गर, क्यामरुनी सहकारीका नेम्ब जिन क्रिस्टियन र बोत्सवानाको सहकारी संघका थापेलो ओबाटेङ निर्वाचित भएका छन् । समितिको एक मात्र महिला सदस्यमा केन्याली बचत तथा ऋण सहकारी संघकी हिल्डा ओजल चुनिएकी छिन् । यसअघि उनी आइसीए अफ्रिका युथ प्रेजिडेन्ट अर्थात् आइसीए अफ्रिकाको युवा अध्यक्ष थिइन् । पछिल्लो निर्वाचनबाट क्यामरुन पहिलो पटक आइसीए अफ्रिकाको सञ्चालक समितिमा चुनिएको छ । आइसीए ग्लोबलको पूर्ण सदस्य भएको ३ महिना पछि क्यामरुन आइसीएको क्षेत्रीय बोर्डमा निर्वाचित भएको हो । क्यामरुन जुलाई २०२१ मा आइसीएमा आबद्ध भएको थियो । आइसीए अफ्रिकाको कार्यालय केन्याली राजधानी नैरोबीमा अवस्थित छ । 

यसैबीच, आइसीए अफ्रिकाका निवर्तमान अध्यक्ष जाफेथ म्यागोमियरले संक्षिप्त प्रतिक्रिया दिदैं आफुले एक ढिक्का बनेको अफ्रिकी सहकारीलाई छोडेको बताएका छन् । नाइजेरियाको राजधानी अबुजामा सम्पन्न आइसीए अफ्रिकाको १३ औं क्षेत्रीय साधारण सभाबाट उनी अध्यक्ष निर्वाचित भएका थिए । यसअघि, कोप्स् युरोपमा पनि सुसान वेस्थाउसिनको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो ।




Leave a comment