हाइलाइट

अन्तराष्ट्रिय सहकारी दिवस सरकार र अभियानले संयुक्तरुपमा मनाउने 

अन्तराष्ट्रिय सहकारी दिवस सरकार र अभियानले संयुक्तरुपमा मनाउने  :: Sahakari Akhabar

काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस Cooperatives: Driving Inclusive and Sustainable Solutions for a Better World ‘सहकारीहरूः एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ असार २१ गते शनिबार मनाइदै छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सहकारी महासंघले दिवसको मूल उद्देश्य समावेशी विकास र दिगो समाधानका लागि सहकारीको महत्वपूर्ण योगदानलाई सम्मान गर्नु रहेको जनाएको छ । यो कार्यक्रम देशभरका सबै सहकारी संघसंस्थाहरू, संघीय सरकारका विभिन्न मन्त्रालयहरू, प्रदेश सरकारहरू, स्थानीय तहहरू, दातृ निकायहरू, गैरसरकारी संस्थाहरू र अन्य सरोकारवालाहरूको सहभागितामा आयोजना हुने जनाएको छ ।

होटल हिमालय कुपण्डोलमा हुने कार्यक्रममा अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक, सहकारी विकास बोर्ड लगायतका सरकारी निकायहरूको पनि संलग्नता रहने जनाइएको छ । दिवसले सहभागितामूलक, समानता, न्याय र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिने सन्देश दिएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लल अन्तर्राष्ट्रिय दिवसका साथ सन्दर्भयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिने, हरेक क्षेत्र, समाज, वर्ग र समुदायको प्रगतिमा सहकारीको योगदानबारे आफ्ना धारणाहरू प्रस्तुत गरिने जनाइन् ।

उनले उपभोक्ता सहकारीको व्यावसायिकता विकासको प्रदर्शनी स्टल राखिने, महिला सहकारी संस्थाहरूको उत्पादन वस्तुको प्रदर्शनी स्टल राखिने, नीतिगत साझेदारीमा सहकारी मैत्री नीति निर्माणमा प्रतिबद्धता व्यक्त गरिने जनाइन् ।

त्यसैगरी सहकारी क्षेत्रमा उत्कृष्ट योगदान र्पुयाउने संघसंस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष मल्लले जनाइन् । विश्व सहकारीले सन् १९९५ देखि हरेक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।

यस वर्ष १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । यो दिवसले सहकारी सिद्धान्त, समावेशीकरण, सुशासन र दिगोपनाका आधारहरूलाई अँगालेर विश्वभरका सहकारी आन्दोलनलाई एकताबद्ध गर्ने सन्देश दिएको छ ।

यो वर्ष अन्तराष्ट्रिय सहकारी महासंघ (आइसिए)ले अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ समेत घोषणा गरेको छ । 'Cooperative Build a Better World' भन्ने थिमका साथ विश्वभर सन् २०२५ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाइँदैछ ।



Leave a comment