अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने गरिन्छ । यो वर्ष जुलाई ४ मा विश्वभर १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ।
यो वर्षको नारा Cooperatives for a Peaceful World ‘शान्त विश्वका लागि सहकारी’ तय गरिएको छ । यस नाराले विश्वमा सामाजिक न्याय, सद्भाव र समावेशिता फैलाउँदै शान्तिपूर्ण समाज निर्माण गर्न सहकारी मोडेलले खेल्ने महत्वपूर्ण भूमिकालाई उजागर गर्दछ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) ले यो दिवसलाई भव्य रूपमा मनाउन र यसको सन्देश प्रवाह गर्न विभिन्न विश्वव्यापी कार्यक्रमहरू तथा रणनीतिहरू तय गरेको छ । महासंघले सामाजिक सञ्जाल र आफ्नो आधिकारिक संयन्त्रमार्फत विश्वभरका सहकारीहरूको सकारात्मक प्रभाव र शान्ति स्थापनामा उनीहरूको योगदान झल्काउने कथाहरू र सामग्रीहरू प्रचार प्रसार गर्दैछ ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (शान्ति, न्याय र बलियो संस्थाहरू) सँग यो नारा मिल्ने भएकाले, आइसिएले ‘शान्ति स्थापनामा सहकारीको भूमिका’ सम्बन्धी नीतिगत प्रतिवेदन सार्वजनिक तथा वहस पैरवी गर्दैछ।
दिवसको पूर्वसन्ध्यामा विश्वभरका सदस्यहरूलाई एउटै मञ्चमा जोड्न र कसरी आआफ्नो देशमा यो दिवस मनाउने भन्नेबारे छलफल गर्न ‘अनलाइन मेम्बर्स च्याट’ जस्ता डिजिटल कार्यक्रमहरू आयोजना गरिएको छ। महासंघले स्थानीय भाषाहरूमा अनुवाद गर्न मिल्नेगरी विशेष लोगो, प्रवद्र्धनात्मक सामग्री र आधिकारिक सन्देशहरू जारी गरेको छ, ताकि स्थानीय स्तरका सहकारीहरूले पनि यसलाई अपनत्व लिनसकुन्।
आगामी विश्व सम्मेलनको तयारीः यो नारालाई सेप्टेम्बर २०२६ मा पानामामा हुन गइरहेको "ICA Global Conference" (जसको मुख्य विषय नै Building Bridges: Cooperative Contributions for a Peaceful World रहेको छ ) सँग जोडेर विभिन्न छलफलहरू गरिरहेको छ।
मानव समाजमा आपसी सहयोग, सहकार्य र सामूहिक हितको भावना प्राचीन कालदेखि नै रहँदैआएको भएतापनि आधुनिक सहकारी अभियानको सुरुवात सन् १८४४ मा बेलायतको रोचडेलबाट भएको मानिन्छ । ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मूल मर्मकासाथ सुरुभएको यो अभियान आज विश्वभर एक अपरिहार्य आर्थिक तथा सामाजिक मोडेलका रूपमा स्थापित भइसकेको छ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) का अनुसार सहकारी भनेको “समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका लागि स्वेच्छिक रूपमा एकजुट भएका व्यक्तिहरूको स्वायत्त संस्था’ हो । पुँजीवादी बजार व्यवस्थाको विकल्पका रूपमा र समाजका तल्लो तहका नागरिकको जीवनस्तर उकास्ने भरपर्दो माध्यमका रूपमा अन्तर्राष्ट्रिय सहकारी अभियानले विश्वव्यापी रूपमा ठूलो फड्को मारेको छ।
विश्वव्यापी सहकारीको तथ्याङ्कीय झलक
सहकारी अभियान कुनै सीमान्तकृत क्षेत्र नभएर विश्व अर्थतन्त्रको एउटा मुख्य हिस्सा बनिसकेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) र युरोपियन रिसर्च इन्स्टिच्युट अन कोअपरेटिभ एन्ड सोसल इन्टरप्राइजेज द्वारा प्रकाशित ‘वल्र्ड कोअपरेटिभ मोनिटर २०२५’ को प्रतिवेदनले यसको विशाल रूपलाई स्पष्ट पार्छ ।
सहभागिताः विश्वभरका कुल ३ मिलियन (३० लाख) भन्दा बढी सहकारीहरूमा १ अर्बभन्दा बढी मानिसहरू आबद्ध भएका छन्। यो संख्या कुल विश्वको जनसंख्याको झण्डै १२ प्रतिशत हुन आउँछ।
रोजगारीः सहकारी क्षेत्रले विश्वको कुल रोजगार जनसंख्याको १० प्रतिशत अर्थात् करिब २८ करोड ८० लाख मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी तथा स्वरोजगारका अवसरहरू प्रदान गरेको छ । यो संख्या संसारका सबै बहुराष्ट्रिय कम्पनीहरूले दिने रोजगारी भन्दा बढी हो ।
शीर्ष तीनसयको योगदानः
विश्वका ठूला ३०० सहकारीहरूको मात्र वार्षिक कारोबार ४२.७८९ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यदि यो शीर्ष ३०० सहकारीहरूको अर्थतन्त्रलाई एउटै देश मान्ने हो भने, यो विश्वकै नवौँ ठूलो अर्थतन्त्र सरह हुनआउँछ ।
विश्वका ३ सयठूला सहकारीहरूः
१, फ्रान्सः
फ्रान्सका सहकारीहरू विशेषगरी बैंकिङ क्षेत्रमा विश्वमै सबैभन्दा ठूला छन्
Crédit Agricole: विश्वकै नम्बर १ सहकारी वित्तीय संस्था ।
Groupe BPCE: फ्रान्सको अर्को विशाल सहकारी बैंकिङ समूह ।
Crédit Mutuel: वित्तीय सहकारी ।
E.Leclerc / Système U: ठूला रिटेल (खाद्यान्न तथा बजार) सहकारीहरू ।
२, अमेरिका
शीर्ष ३०० मा अमेरिकाका सबैभन्दा बढी (करीब ७५ वटा) सहकारी तथा म्युचुअल संस्थाहरू पर्छन् ।
State Farm / Liberty Mutual: विश्वप्रसिद्ध बिमा सहकारीहरू ।
CHS Inc.: संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो कृषि सहकारी ।
Dairy Farmers of America: दुग्ध उत्पादकहरूको विशाल नेटवर्क ।
Navy Federal Credit Union: विश्वकै ठूलो बचत तथा ऋण सहकारी (Credit Union)
३, जर्मनीः
REWE Group: यूरोपभरि फैलिएको व्यापारिक तथा रिटेल सहकारी ।
Edeka Group: जर्मनीको ठूलो सुपरमार्केट सहकारी चेन ।
Raiffeisen Bank network: जर्मनीका हजारौँ सहकारी बैंकहरूको केन्द्रीय संजाल ।
DATEV: प्रविधि र सफ्टवेयर क्षेत्रको ठूलो सहकारी ।
४, जापानः
Zen-Noh (JA Group): जापानका लगभग सबै किसानहरू जोडिएको विश्वकै ठूलो कृषि सहकारी ।
Nippon Life / Zenkyoren: जापानका विशाल बिमा सहकारीहरू ( Mutual Insurance)
JCCU (Japanese Consumers' Co-operative Union): उपभोक्ता सहकारीहरूको ठूलो सञ्जाल ।
५, भारतः
भारतका सहकारीहरू कारोबारका साथै ‘प्रतिव्यक्ति जीडीपी’को अनुपातमा विश्वमै सबैभन्दा अगाडि छन् ।
IFFCO (Indian Farmers Fertiliser Cooperative): विश्वकै ठूलो रासायनिक मल उत्पादक सहकारी ।
Amul (GCMMF): नेपालमा पनि चर्चित, भारतको विशाल दुग्ध उत्पादक सहकारी संजाल ।
६, स्पेनः
Ondragon Corporation: विश्वकै सबैभन्दा सफल र ठूलो औद्योगिक, श्रमिक सहकारी मोडेल ।
ब्राजिलः
Sistema Unimed (ब्राजिल): स्वास्थ्य र मेडिकल क्षेत्रमा विश्वकै ठूलो स्वास्थ्य सहकारी ( Doctors Coop)
विश्वका शीर्ष ३०० सहकारीहरूको कुल वार्षिक कारोबार २.४ देखि २.७ ट्रिलियन अमेरिकी डलर भन्दाबढी रहेको छ । यी ३०० सहकारीहरूमध्ये सबैभन्दा बढी कृषि र बिमा क्षेत्रका छन्, जसले कुल हिस्साको ८० प्रतिशत भन्दा बढी ओगट्छन् ।
विश्वमा सहकारीमार्फत सञ्चालित ठूला उद्योग तथा व्यवसाय
संसारका धेरै विकसित मूलुकहरूमा सहकारीहरू सामान्य बचत तथा ऋणमा मात्र सीमित नभई अर्बौँ डलरका उद्योग, वित्तीय संस्था र व्यापारिक संजालका रूपमा सञ्चालित छन् ।
१. कृषि तथा उद्योग क्षेत्रः
जेन–नोह (जापान), इफ्को ( भारत )
जापानको जेन–नोह कृषि सहकारीहरूको छाता संगठन हो, जसले अर्बौँ डलरको कृषि सामग्री आपूर्ति र खाद्य प्रशोधन उद्योग चलाउँछ । यस्तै, भारतको इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) विश्वकै ठूलो मल उत्पादक उद्योगहरू मध्ये एक हो । यसले भारतका करोडौँ कृषकहरूलाई समेटेर देशभित्र रासायनिक तथा नानो–मल उत्पादनमा क्रान्ति नै ल्याएको छ ।
२. उपभोक्ता तथा खुद्रा व्यापारः रेभ ग्रुप ( जर्मनी )
जर्मनीको रेभ ग्रुप सहकारी मोडेलमा आधारित युरोपको अग्रणी खुद्रा व्यापार र पर्यटन उद्योग समूह हो । यसको वार्षिक कारोबार अर्बौँ युरोमा हुन्छ र यसले लाखौँ उपभोक्तालाई गुणस्तरीय सेवा दिँदै आएको छ ।
३. औद्योगिकः मोन्ड्रागन कर्पोरेसन ( स्पेन )
स्पेनको बास्क क्षेत्रमा रहेको मोन्ड्रागन कर्पोरेसन विश्वकै उत्कृष्ट र ठूलो ‘श्रमिक सहकारी’ (वर्कर कोअपरेटिभ) को नमुना हो । यस अन्तर्गत वित्त, उद्योग, खुद्रा व्यापार र ज्ञान (विश्वविद्यालय समेत) गरी चारवटा क्षेत्रमा सयभन्दा बढी उत्पादनमूलक उद्योग र संस्थाहरू सञ्चालित छन् । यहाँ कामगर्ने श्रमिकहरू नै यसका मालिक हुन्, जसले आधुनिक इलेक्ट्रोनिक्स, अटोमोटिभ र औद्योगिक मेसिनरीहरू उत्पादन गर्छन् ।
४. बैंकिङ र वित्तीय क्षेत्रः क्रेडिट एग्रिकोल ( फ्रान्स )
फ्रान्सको क्रेडिट एग्रिकोल विश्वकै ठूलो सहकारी बैंक हो । यसको सुरुवात कृषकहरूलाई कर्जा दिनका लागि भएको थियो । तर आज यो विश्वकै वित्तीय क्षेत्रको एउटा विशाल र शक्तिशाली खम्बाका रूपमा स्थापित छ ।
कृषि, उत्पादन र खाद्य सुरक्षामा सहकारीको योगदान
विश्वको कृषि तथा उत्पादन क्षेत्रलाई जीवन्त राख्न र खाद्य सुरक्षा सुनिश्चित गर्न सहकारी अभियानको योगदान अतुलनीय छ । ‘वल्र्ड कोअपरेटिभ मोनिटर’का अनुसार शीर्ष ३०० ठूला सहकारीमध्ये सबैभन्दा धेरै (करिब २७ देखि ३० प्रतिशत ) सहकारीहरू कृषि र खाद्य उद्योग क्षेत्रकै छन् ।
विश्वका शीर्ष ३०० सहकारीमा क्षेत्रगत हिस्सा
बिमा क्षेत्रः ४६ प्रतिशत
कृषि तथा खाद्य उद्योगः २७ प्रतिशत
थोक तथा खुद्रा व्यापारः २० प्रतिशत
बैंक, उद्योग तथा अन्यः ७ प्रतिशत
१. साना किसानको बजारमा पहुँच र लागत न्यूनीकरणः
सहकारीले साना र छरिएका किसानहरूलाई एक ठाउँमा ल्याएर “सामूहिक बार्गेनिङको शक्ति प्रदान गर्दछ । बीउ, मल, र प्रविधि किन्दा सस्तो पर्ने र उत्पादित सामान बिक्री गर्दा बिचौलियाको शोषणबाट जोगिने भएकाले कृषिमा सहकारी मोडल निकै सफल छ।
२. दुग्ध उत्पादनमा नेतृत्वः
डेनमार्क, न्युजिल्यान्ड र भारत जस्ता देशको दुग्ध क्षेत्र पूर्णरूपमा सहकारीमा आधारित छ । न्युजिल्यान्डको फोन्टेरा सहकारीले त्यहाँको कुल दुग्ध उत्पादनको ठूलो हिस्सा ओगट्छ र विश्वभर दुग्धजन्य पदार्थ निर्यात गर्दछ । भारतमा ‘अमुल’ (अमुल–गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडेरेशन) को सफलताको कथा विश्वप्रसिद्ध छ । जसले साढे ३ लाखभन्दा बढी दुग्ध उत्पादक किसानहरूलाई जोडेर भारतलाई विश्वकै सबैभन्दा ठूलो दूध उत्पादक राष्ट्र बनाउन मुख्य भूमिका खेलेको छ।
३. दिगो विकास र जलवायु अनुकूलनः
कृषि सहकारीहरूले किसानहरूलाई अर्गानिक खेती, थोपा सिँचाइ र जलवायु अनुकूलन गर्ने प्रविधिहरू सिकाएर संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष मद्दत पुर्याइरहेका छन् ।
अन्तर्राष्ट्रिय सहकारी अभियानले नाफा केन्द्रित पुँजीवाद र राज्य नियन्त्रित अर्थतन्त्रको बीचमा ‘तेस्रो धार’ का रूपमा लोकतान्त्रिक, समतामूलक र मानवीय अर्थतन्त्रको विकास गरेको छ । विश्वका ठूला औद्योगिक मूलुकहरू ( अमेरिका, फ्रान्स, जर्मनी, जापान) देखि उदीयमान अर्थतन्त्र (भारत, ब्राजिल) सम्म सहकारीले कृषि, बिमा, बैंकिङ र उत्पादनमूलक उद्योगमा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।
नेपाल जस्ता विकासोन्मुख देशहरूका लागि पनि अन्तर्राष्ट्रिय सहकारी आन्दोलनका यी तथ्याङ्क र सफलताका कथाहरू प्रेरणादायी छन् । बचत र ऋणको घेराभन्दा माथि उठेर कृषि प्रशोधन, ठूला उद्योग र सेवा क्षेत्रमा सहकारीलाई अगाडि बढाउन सकेमात्र गरिबी निवारण र दिगो आर्थिक विकास सम्भव देखिन्छ।
Leave a comment