म लुटाउँदै जान्छु, तिमी बहाना बनाई बनाई मलाई लुट्दै जाऊ । म सदस्य थपिँदै जान्छु, तिमी पाँच रुपैयाँ पचाउन पञ्चवर्षीय योजना बनाउँदै जाऊ । म नाङ्गलाेमा, गिटी बालुवामा, डोकोमा आर्थिक भविष्य खोजेर पाँच रुपैयाँ फलाउँदै जान्छु । तिमी त्यही नारा लगाएर जय सहकारी भन्दै जाऊ । कि कसो त !
विषेशत् बचत तथा ऋण सहकारीका सदस्यलाई जानकारी नदिई उ संग वार्षिक रूपमा उठाइने शुल्कको विषयमा यो लेख आधारित छ । नेपालमा बचत सहकारीका अलवा अन्य सहकारीले पनि वित्तीय कारोबार गर्ने गरेका छन् ।
तीस हजारको हाराहारीमा रहेको सहकारी मध्ये १३ हजार बचत सहकारी रहेका छन् । त्यस बाहेकका बहुउद्देश्यीय, कृषि, उपभोक्ता लगायतका सहकारीले वित्तीय कारोबार गर्छन् । सबै सहकारीले सदस्यता दिए पछि मात्र कारोबार गर्न पाउँछन् । अन्य सहकारीले सदस्यसङ सदस्य भएकै अधारमा वार्षिक रूपमा कुनै शुल्क लिदैनन् ।
तर बचत सहकारीले सदस्य भएकै आधारमा वार्षिक शुल्क असुल्नु कानुन सम्मत छ त ? सदस्य किन मौन छन् यो विषयमा ? सदस्यसङ कानुनी अधार बिनै असुलेको यो रकम कहाँ केकोलागि खर्च भइरहेको छ ? सदस्यको आर्थिक सामाजिक उत्थानको नारा सफल पार्न यो रकम प्रयोग भएको छ त ? छ भने,सहकारीको सदस्य भएर के कतीकाे आर्थिक सामाजिक उत्थान भएको छ कुनै तथ्याङ्क पनि छ की ? भए जानकारी गराउनु पर्छ भन्ने उद्देश्यले यो विषय उठान गरिएको हो ।
यस अघि पनि यसै विषयमा पहिलो लेख लेखिएको थियो, उबेला विषय उठान मात्र भएकोले यसको दोस्रो भागमा केही तथ्यसहित यो लेख तयार पार्ने कोसिस भएको छ । यस्ता विकृतिको सख्यामा कमी नआउन्जेल सदस्यलाई सचेत गराइरहने नैतिक जिम्मेवारीको निरन्तरता रहने छ । यसैको निरन्तरताकोलागि यो दास्रो भाग भएर आएको हो ।
‘म’ बचत तथा ऋण सहकारीको सदस्य । म बचत सहकारीको सदस्य भएबापत मेरो नामबाट हरेक वर्ष पाँच रुपैयाँ जान्छ । त्यो कहाँ जान्छ ? कसले लान्छ, के को लागि लान्छ ? म सँग किन लिन्छ ? कतै बचत सहकारीको सदस्य भएबापत जरिवाना त लिएको हैन ? अनुत्तरित प्रश्नको जवाफ खोज्ने क्रममा पत्ता लगाएको यथार्थ यस्तो रहेछ ।
‘म २६ लाख सदस्य’ मेरो पाँच रुपैयाँ ४ हजार सङ्घ संस्था मार्फत ६३ वटा सङ्घ र एउटा केन्द्रीय सङ्घमा जान्छ । यी दुई वटा निकायले बिना कारण ६०÷४० को भाग लगाएर पेवा झैँ बनाई मेरो पाँच रुपैयाँ खाँदा रहेछन् । जाबो पाँच रुपैयाँ त हो नि ! नभन्नु होला । २६ लाखको पाँच रुपैयाँका दरले वार्षिक १ करोड ३० लाख । कसले खान्छ त मेरो पाँच रुपैयाँ ? यसरी लुछाचुँडी हुन्छ पाँच रुपैयाँ ।
जिल्लामा रहेका प्रारम्भिक बचत सहकारीले बजार प्रतिनिधि नामका पैसा सङ्कलन गर्ने एजेन्ट पठाउँछन् मेरोमा । ती एजेन्टहरू साग बेच्ने म, बाटोमा बसेर मकै पोल्ने म, नाङ्लोमा दोकान थापेर बालबच्चाको भविष्य खाेज्ने, खोलाको बगरमा बालुवा चालेर जिवन जिउने म, अनि गिट्टी कुटेर जीविका चलाउने म ।
बालबच्चाको गाँस काटेर न्यानो कपडाको आशा देखाएर वर्तमानकै टुङ्गो नलाग्दै भविष्यको सपना देख्ने ‘म’ सम्म आइपुग्छन् । मलाई बचतको बहानामा सदस्यको नामबाट बर्सेनि पाँच रुपैयाँ सङ्कलन गर्छन् र जिल्ला बचत सङ्घ नामका माथिल्लो एजेन्टसम्म पुराउँछन् । त्यो एजेन्टले मेरो पाँच रुपैयाँबाट दुई रुपैयाँ आफूलाई राखेर तीन रुपैयाँ मेरो अनुमति बिना, मेरो दूर सम्मको पनि कुनै नाता सम्बन्धै नभएको केन्द्रीय सङ्घ नामको एजेन्टलाई पठाउँदो रहेछ ।
यसरी मेरो पाँच रुपैयाँ चैट् । कसरी कसले मेरो पाँच रुपैयाँ चैट बनाउँदा रहेछन् त्यसको पनि खोजी गरेको छु । राज्यलाई कर तिर्न किचकिच गर्ने उनीहरू कानुन विपरीत म सँग बर्सेनि पाँच रुपैयाँ उठाउँछन् । केन्द्रीय एजेन्टमा रहेका नाइकेहरूले मेरो पाँच रुपैयाँ खर्च गर्ने वर्ष भरीको योजनाको जालो बनाएका छन् । सहकारी शिक्षा, अध्यान भ्रमण, गोष्ठी, सेमिनार, रणनीतिक योजना निर्माण, तलब भत्ता आदी इत्यादि नाममा ।
कति न देशै बनाउन जिम्मा पाएको जस्तो भ्याइ न भ्याई छ पाँच रुपैयाँ पचाउनलाई । डाँडामा चढेर ताण्डव गरी गरी पाँच रुपैयाँ चैट् । मसँग वर्षेनी पाँच रुपैयाँ असुल्ने गरेको पनि आज ३० वर्ष पुगेछ, वर्षै पिच्छे फेरिन्छन् आँ गर्ने मुखहरू । सिनित्तै निलिन्छ मेरो पाँच रुपैयाँ नडकारी कन । न राज्यले खोज्छ, न कसैलाई हिसाबको निवास गरिदिनु परेको छ ।
सदस्य उत्थानका रणनीतिक योजना भन्ने सम्झनु भएको होला ! के को हुन्थ्यो नि रणनीतिक योजना, त्यही पाँच रुपैयाँ सक्ने योजना हो । हैन भने मेरो पाँच रुपैयाँ खै ? त्यही पाँच रुपैयाँ खान पूर्व र पश्चिमदेखि हवाई जहाज चढेर केन्द्र आउँछन् । केन्द्रबाट हवाई जहाजमै देश दाैडाह गर्छन् । सञ्चालक बैठक भत्ताकाे नाममा खान्छन् । तारे होटेलमा गोष्ठी र सेमिनारका नाममा खान्छन् । सञ्चार र अन्य सुविधाका नाममा खान्छन् ।
कति न देशै बनाउन जिम्मा पाएको जस्तो भ्याइ न भ्याई छ पाँच रुपैयाँ पचाउनलाई । डाँडामा चढेर ताण्डव गरी गरी पाँच रुपैयाँ चैट् । मसँग वर्षेनी पाँच रुपैयाँ असुल्ने गरेको पनि आज ३० वर्ष पुगेछ, वर्षै पिच्छे फेरिन्छन् आँ गर्ने मुखहरू । सिनित्तै निलिन्छ मेरो पाँच रुपैयाँ नडकारी कन । न राज्यले खोज्छ, न कसैलाई हिसाबको निवास गरिदिनु परेको छ ।
म निरीह सदस्य सत्तोसराप गर्न मन लागेको छ, तर पनि म उनीहरू जस्तो गिर्न सक्दिन, लाज पचाएर आसन र भाषणको भरमा पाँच रुपैयाँ पचाउन सक्दिन । अक्कु र ओक्कु नामका अन्तर्राष्ट्रिय एजेन्टलाई वार्षिक लाखौँ लेबी तिरेर रबाफ देखाउन मेरो नैतिकताले पनि दिँदैन । अध्ययन भ्रमणका नाममा पार्टीगत गुटबन्दीमा पनि फुर्मास गर्न जान्दिन ।
आर्थिक सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्ने नाराको आडमा तारे होटलमा ह्विस्कीको तालमा डुबुल्की मार्न मेरो हिम्मत छैन । अनि अक्कु, ओक्कुको एजेन्ट बनेर विदेशसम्म घुम्न गएको मेरो पाँच रुपैयाँ फेरी फर्केर मेरो आर्थिक सामाजिक उत्थान गर्ने भरोसा पनि छैन । म लुटाउँदै जान्छु, तिमी बहाना बनाई बनाई मलाई लुट्दै जाऊ ।
म सदस्य थपिँदै जान्छु, तिमी पाँच रुपैयाँ पचाउन पञ्चवर्षीय योजना बनाउँदै जाऊ । म नाङ्गलाेमा, गिटी बालुवामा, डोकोमा आर्थिक भविष्य खोजेर पाँच रुपैयाँ फलाउँदै जान्छु । तिमी त्यही नारा लगाएर जय सहकारी भन्दै जाऊ । कि कसो त !
Leave a comment