सदस्यलाई घर निर्माण गर्दै मेची सहकारी

सदस्यलाई घर निर्माण गर्दै मेची सहकारी :: Sahakari Akhabar

सुरुमै पैसा तिर्न नसक्ने सदस्यलाई ऋण दिने पनि संस्थाको तयारी छ । संस्थाको नियमानुसार सदस्यको  आवश्यकता अनुसार कर्जा किस्तामा घर उपलब्ध गराउने योजना रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । सहकारी आवासभित्र एक आवास सञ्चालक समिति गठन हुने छ ।

झापा । झापाको मेची सहकारी संस्थाले सदस्यलाई घर बनाएर बिक्री गर्ने भएको छ । यहीँ फागुनदेखि आवास निर्माण गर्ने सहकारीको तयारी छ । सहकारीका व्यवस्थापक खोमप्रसाद बगालेले मेची नगरपालिकबाट छिट्टै घरको इजाजत लिई फागुनदेखि निर्माण सुरु हुने बताए । ‘डेढ वर्षसम्म निर्माण सकेर सदस्यलाई घर हस्तान्तरण गर्र्छाै’ उनले भने । 

आवास निर्माणका लागि संस्थाले १ बिगाह १६ कठ्ठा जग्गा खरिद गरेको छ । उक्त आवास क्षेत्रमा ५३ वटा घर बन्ने छन् । घर दुईतले हुने छ । भुइँ तलामा ३ वटा कोठा, ट्वाईलेट बाथरुम र पहिलो तलामा २ वटा कोठा एक ट्वाईलेट बाथरुम हुने छ । १० धुर क्षेत्रफलभित्र बनेको घरको मूल्य ४५ लाख पर्छ । तर १० धुरभन्दा बढी या घटी क्षेत्रफल भएमा उल्लेखित मूल्यमा केही बढी या घटी हुने छ ।

व्यवस्थापक बगालेका अनसार पहिलो चरणमा ५३ वटा घर बनाउने योजना भएपनि ७२ जना सदस्यले बुक गरिसकेको जानकारी दिए । ‘बुक गरेका सबै इच्छुक भएपछि हामी अर्को स्थानमा जग्गा खरिद गरेर निर्माण सुरु गर्छौ’ उनले भने । आवास क्षेत्रभित्रका घर खरिद गर्दा बुक गरेको समयमा जम्मा मूल्यको १५ प्रतिशत रकम बुझाउनुपर्छ । घर ढलान भएपछि ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने र बाँकी रकम घर सम्पन्न भएपछि भुक्तानी गर्नुपर्ने प्रावधान राखिएको छ ।

सहकारी आवासभित्रका सबै घर एकै प्रकृतिका हुनेछन् । आवासभित्र कम्पाउण्ड वाल, सडक, ढल, फूलवारीको व्यवस्था गरिएको छ । प्रत्येक घरको जग्गाको क्षेत्रफल न्यूनतम ८ धुरदेखि अधिकतम १६ धुर सम्मको जग्गा प्रकृतिको अनुसार हुने छ । आवासभित्र संस्थाले बनाएको संरचनाको बाहिरी भागमा तोडमोड गर्न, थप्न वा हटाउन पाइने छैन । ५ वर्षअघिसम्म घर बिक्री गर्न पाइदैँन । तर ५ वर्षपछि घर बिक्री गर्न चाहेमा संस्थाको सहमति अनिवार्य चाहिन्छ ।

सुरुमै पैसा तिर्न नसक्ने सदस्यलाई ऋण दिने पनि संस्थाको तयारी छ । संस्थाको नियमानुसार सदस्यको  आवश्यकता अनुसार कर्जा किस्तामा घर उपलब्ध गराउने योजना रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । सहकारी आवासभित्र एक आवास सञ्चालक समिति गठन हुने छ ।

आवासभित्रका प्रत्येक घरले सदस्यता लिनुपर्ने छ । आवास सञ्चालक समितिले तयार पारेको आचारसंहिता सवैले पालना गर्नुपर्ने छ । आवास क्षेत्रका प्रत्येक घरमा अगाडि २ वटा र पछाडी २ ठूला बिरुवा रुख रोप्नुपर्ने छ । त्यस्तै प्रत्येक घरको अगाडि फूलवारी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । आवास क्षेत्रको सुरक्षाका लागि मुल गेटमा १ जना सुरक्षाकर्मीको सञ्चालक समितिले व्यवस्था गर्ने छ । 
आवासभित्रको संरचनाहरुको मर्मत सम्भारका लागि आवास सञ्चालक समितिले एक कोष खडा गर्ने छ । 



Leave a comment