हाइलाइट

नेचुरल साकोस र बंगलादेशी सहकारीकर्मी बिच अनुभव आदानप्रदान

नेचुरल साकोस र बंगलादेशी सहकारीकर्मी बिच अनुभव आदानप्रदान :: Sahakari Akhabar

काठमाडौं । नेपाल भ्रमणमा रहेको बंगलादेशका सहकारी अभियानकर्मीहरुको टोलीले बौद्ध, टुसालस्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण गरेको छ । टोलीले कार्तिक २७ गते शुक्रबार नेचुरल साकोसको बौद्ध टुसालस्थित मुख्य कार्यालयको अध्ययन, अवलोकन तथा भ्रमण सहित अनुभव आदानप्रदान गरेको हो ।

टोलीमा बंगलादेशका सहकारी क्षेत्रका उच्च पदस्थ पदाधिकारी तथा अभियन्ताहरू  गरी १९ जना सहभागी थिए । टोलीलाई नेचुरल साकोसकी अध्यक्ष शर्मिला शिल्पकार, सचिव विकल्प पाठक र व्यवस्थापक घनश्याम नेपालले स्वागत गरेका थिए । सोही अवसरमा अध्यक्ष शिल्पकारले भ्रमण टोलीलाई स्वागत गर्दै अध्ययन तथा अवलोकनका लागि संस्था छनोट गरेकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सचिव पाठक र व्यवस्थापक नेपालले संस्थाको समग्र गतिविधि, संस्थागत सञ्चालन तथा सदस्यकेन्द्रित सेवा प्रवाहका विषयमा जानकारी गराएका थिए । साथै, संस्थाले सदस्यहरूको आवश्यकता र हितलाई केन्द्रमा राखेर सञ्चालन गर्दै आएका विभिन्न सेवा तथा गतिविधिबारे समेत प्रस्तुतीकरण गरिएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र द को(अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड CCULB को संयुक्त आयोजनामा सञ्चालित पारस्परिक अध्ययन अवलोकन भ्रमण (Mutual Exposure Visit) अन्तर्गत टोलीले नेचुरल साकोसको संस्थागत संरचना, सञ्चालन पद्धति, व्यवस्थापन प्रणाली तथा वित्तीय सेवासम्बन्धी अभ्यासबारे जानकारी लिएको थियो ।

कार्यक्रममा नेचुरल साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको सक्रिय सहभागिता थियो । सो अवसरमा दुवै देशका सहकारी संस्थाहरूले अवलम्बन गरेका सफल अभ्यास, कार्यप्रणाली तथा संस्थागत अनुभवबारे विचार आदानप्रदान गरिएको थियो ।

बंगलादेशको क्रेडिट युनियन अभियानको केन्द्रीय संघ CCULB को ३०औँ पारस्परिक अध्ययन अवलोकन भ्रमणका क्रममा २० सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको हो । एक सातासम्म सञ्चालन हुने भ्रमण आगामी मंसिर २ गतेसम्म जारी रहने जनाइएको छ ।

भ्रमणका क्रममा टोलीले नेपालका नौवटा बचत तथा ऋण सहकारी संस्था, नेफ्स्कून तथा सहकारी रजिष्ट्रारको कार्यालयमा अध्ययन, अवलोकन, भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका रहेको बताइएको छ । प्रतिनिधिमण्डलमा बंगलादेशको सहकारी क्षेत्र हेर्ने मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिष्ट्रार, CCULB का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत सहकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

नेफ्स्कून र CCULB बीच सन् २००५ देखि पारस्परिक अध्ययन अवलोकन भ्रमणमार्फत सहकारी क्षेत्रको ज्ञान, सीप, अनुभव तथा असल अभ्यास आदानप्रदान हुँदै आएको छ । यसअन्तर्गत बंगलादेशका सहकारी प्रतिनिधिहरू नेपाल आउने र नेपाली सहकारी प्रतिनिधिहरू बंगलादेश जाने अभ्यास रहेको छ ।

यस प्रकारका अध्ययन, अवलोकन तथा अनुभव आदानप्रदान कार्यक्रमले दुई देशबीचको सहकारी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै ज्ञान, सीप र अनुभवको आदानप्रदानमार्फत सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000