हाइलाइट

महामारीमा सहकारी खोल्ने कि, सेवा दिने ?

महामारीमा सहकारी खोल्ने कि, सेवा दिने ? :: Sahakari Akhabar

जुन संस्था यो संकटको समयमा उपलब्ध स्रोत तथा साधनहरुको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई हरसम्भव निरन्तरता दिन्छन्, ती संस्था नै टिकाउ हुन्छन् । अन्तर्राष्टिय श्रम सङ्गठन (आईएलओ) का अनुसार प्रभावकारीताले सही कार्य सम्पादन बुझाउँदछ, कार्यदक्षताले कार्यको सही सम्पादन बुझाउँदछ भने उत्पादनशीलताले सही काम सही तरिकाबाट सम्पादन बुझाउँदछ । त्यसैले यो समयमा सहकारीहरुले कामकै लागि काम भन्दा सुझबुझ र चलाखीपूर्ण ढंगले जोखिमको स्तर निर्धारण (रिस्क रेटिङ) गर्दै अघि बढ्नुपर्छ ।

-रञ्जनमणि पौड्याल

rmp19nefscun@gmail.com

बर झै तन्किएको बन्दाबन्दीमा सहकारी सञ्चालक र व्यबस्थापकहरु पासको पिरलोमा छन् । धेरै सहकारीकर्मीहरुलाई पास पाइएन, कार्यालय खोल्न पाइएन, काम नै नगरी कर्मचारीलाई कसरी तलब दिने ? सदस्यलाई सेवा दिन गाहे भयो, सदस्यहरु सहकारी बन्द हुन्छ कि भनेर आत्तिएका छन्, विषय पेचिलो  बनेको छ । फेसबुकका भित्ताहरुमा बेलाबेलामा आक्रोश पोखिन्छन् । यस्ता गाँठाहरु फुकाउने आजको प्रयास हो । शीर्षकमा अन्तर्निहित दुई पाटाहरुमा आलेख केन्द्रित रहनेछ ।

पहिलो पाटो सहकारी खोल्ने कि नखोल्ने भन्ने हो । यसमा सबै सहकारीकर्मीहरु प्रष्ट छन्–पाए नखोल्ने कुरै छैन । धेरै स्थानमा स्थानीय प्रशासन र खासगरी बाटोमा खटिएका सुरक्षाकर्मीहरुले कार्यालय जान रोकेको अवस्था छ । प्रशासनले पास उपलब्ध नगराएको गुनासो छ । कतै सरकारी बैंकका सीमित कर्मचारीबाहेक अन्य वित्तीय संस्थाहरु सञ्चालनमा रोक लगाएको सार्वजनिक सूचना जारी भएको समेत पाइएको छ । भौतिक उपस्थिति सहित गर्नुपर्ने अत्यावश्यकीय कार्यालयीय काममा समेत अनुमति नपाएको अवस्था छ । परिस्थिति पक्कै असहज छ ।

पासका विषयमा हाम्रो पहलकद्मी नपुगेको पनि हुनसक्छ । केही दिनअघि कोअपरेटिभ म्यानेजर्स क्लब (सीएमसी), कास्कीले आयोजना गरेको भर्चुअल भेटमा सहकारीकर्मीहरुले व्यक्त गरेको विचारहरु सापटी लिन चाहन्छु । लकडाउन कडाईको समयमा प्रदेश सहकारी अभियन्ताहरुले मुख्य मन्त्रीलाई भेटी सहकारी सेवा अत्यावश्यकीय वित्तीय सेवा भित्र पर्ने भएकाले आवतजावतको सहज व्यबस्थाका लागि आग्रह गर्दा अत्यन्त सकारात्मक भएर प्रमुख जिल्ला अधिकारीलाई सहजिकरण गरिदिन आग्रह गर्नुभएको बताउनुभएको थियो ।

प्रदेश सहकारी मन्त्री, प्रजिअ र प्रहरी प्रमुखहरुले पनि त्यसमा सहयोग गरेका कारण कार्यालयको पोशाक र परिचय पत्र बोकेर हिड्दा कही समस्या नभएको धारणा राख्नुभएको थियो । यस्तो पहल सबै क्षेत्रका सहकारीकर्मीहरुले एकजुट भएर गर्न सक्दा वातावरण पक्कै सहज बन्छ भन्ने लाग्छ । खासगरी संघीय राजधानी बाहिरका अभिायनकर्मीहरु एकजुट भई यस्तो पहल गर्ने हो भने केही सहज हुन्छ ।  काठमाडौं उपत्यकाको हकमा अभियान नेतृत्वको पास पहलमा थप कसरत आवश्यक छ । नेतृत्वमा पनि २–४ जनाको छुट्टाछुट्टै प्रयास भन्दा निरन्तरको ठूलो सामुहिक सत्प्रयासले सकारात्मक नतिजा दिनसक्छ ।

हाम्रो चिन्तन, अध्ययन र खोज राष्ट्रिय अन्तर्राष्ट्रिय वैकल्पिक विधिहरुमा हुनुपर्दछ जसले हरहालतमा सेवा सुनिश्चित गर्छ । सहयोगका लागि नेफ्स्कूनले निरन्तर भर्चुअल छलफलहरु सञ्चालन गर्दै आएको छ यस्तै, सहकारी सम्बद्ध अन्य निकायबाट पनि भर्चुअल प्रशिक्षण र अन्तरक्रिया दिनहुँ जसो भैरहेका छन् । यसबाट प्राप्त जानकारी अबलम्बन गर्न सकिन्छ

पास सदुपयोग सुनिश्चिताका आधारहरु पनि सम्बन्धित निकायलाई प्रस्तुत गर्न सक्नुपर्छ । संक्रमणको दर बढ्दो रहेको समुदायमा भने स्थानीय प्रशासनको कडाइ स्वाभाविक हो । कार्यालय नजिक रहेका कर्मचारी, व्यक्तिगत पहुँच र पास प्राप्त सञ्चालकहरुका माध्यमबाट पनि अत्यावश्यकीय काममा सहयोग लिन सकिन्छ । स्थिति थप प्रतिकुल बन्यो भने कार्यालय खोल्न निक्कै गाहे हुन्छ । यस्तो अवस्थामा अब के गर्ने त ?

अब दोश्रो पाटोको चर्चा एउटा प्रश्न बाट गर्छु । आफुलाई संकट पर्दा सबैभन्दा पहिले हामी कसको साथ खोज्छौ ? अवश्य पनि परिवारको । सेवाग्राहीहरुलाई सदस्य मान्ने साकोस उनीहरुका लागि परिवार हो । सहकारीले परिवारको सदस्य समस्यामा पर्दा हात बाँधेर बस्न मिल्छ होला ? परिस्थिति जति जटिल बन्छ, समुदायलाई सहकारीको आवश्यकता त्यति बढ्दै जान्छ ।  हर हालतमा सेवा निरन्तरता सहकारीको विशिष्ट पहिचान हो । अहिले सेवा निरन्तरता भनेको दैनिक कार्यालय खोल्ने नखोल्ने बिषय होइन । कर्मचारी कार्यालय दिनहुँ जाने नजाने कुुरा होइन ।

महामारीमा सेवा निरन्तरता भनेको अत्यावश्यकीय सेवाको निरन्तरता हो । यी दुबै काम गर्न नसक्दा समेत सदस्यको बचत संकलन, फिर्ता, आकस्मिक ऋण प्रवाह, खाताबन्दी, आवश्यक प्रतिवेदनहरुको तयारी, बाँकी बसेका कामहरुको सम्पन्नता, लेखा व्यबस्थापन जस्ता कामको निरन्तरता हो । यति लामो समय कार्यालय बन्द भएको इतिहास नभएका कारण पनि घरबाट काम (वर्क फम होम) संस्कृतिका काइदा र फाइदामा हामी अभ्यस्त छैनौं । हिजोसम्म हाम्रो बुझाई काम भनेको कार्यालय गएर वा खोलेर मात्रै गर्न सकिन्छ भन्ने हो । सम्भव भएसम्म खोल्ने नभए कार्यालय बन्द गरेरै भएपनि सदस्यलाई सेवा पुर्याउनुपर्छ ।

हाम्रो चिन्तन, अध्ययन र खोज राष्ट्रिय अन्तर्राष्ट्रिय वैकल्पिक विधिहरुमा हुनुपर्दछ जसले हरहालतमा सेवा सुनिश्चित गर्छ । सहयोगका लागि नेफ्स्कूनले निरन्तर भर्चुअल छलफलहरु सञ्चालन गर्दै आएको छ यस्तै, सहकारी सम्बद्ध अन्य निकायबाट पनि भर्चुअल प्रशिक्षण र अन्तरक्रिया दिनहुँ जसो भैरहेका छन् । यसबाट प्राप्त जानकारी अबलम्बन गर्न सकिन्छ । अर्को भनेको मल्टि टास्किङ वा क्रस ट्रेन इम्प्लोइज् भनिन्छ । सीमित कर्मचारीबाट काम लिनुपर्ने अवस्थामा एउटै कर्मचारीले धेरै काम गर्न सक्ने अवस्था सृजना हो ।

धेरै कार्यालयमा त्यस्तो अवस्था रहदा काममा सहज हुन्छ । त्यस्तै, दक्ष वा प्रशिक्षित जगेडा जनशक्ति राख्ने जसले गर्दा काममा उपयोग गर्न सकिन्छ । यी सबै काम गर्न पहिला साकोससँग व्यवसाय निरन्तरता योजना (बिजनेश कन्टिन्युटी प्लान–बीसीपी) छ कि छैन भन्ने हो । खासगरी महामारी लक्षित बीसीपी छ कि छैन ? बीसीपी औजार हो । साकोसहरुलाई युद्धभूमिमा लड्न जाने अस्त्र हो ।

बीसीपीले समेट्नुपर्ने कुराहरुमा निम्नानुसार छन्ः

१.फरक परिदृश्यको सम्बोधन
बीसीपीको कुरा गर्दा यो नै अचुक विधि, अस्त्र वा औजार हुन्छ भन्ने छैन । समय, परिस्थिति र घटनाक्रम अनुसार बीसीपी बनाउनुपर्ने अवस्था आउन सक्छ ।  प्रत्येक संस्थाको बीसीपी फरक हुनसक्छ । कोभिड–१९ जस्तो अवस्थामा र यो स्थान, समुदाय, प्रदेशमा जसरी संक्रमणको दर फैलिरहेको हुन्छ, त्यसलाई ख्याल गर्दै बीसीपी तयार गर्नुपर्दछ । पहिल्यै तयारी अबस्थामा रहेका बीसीपीलाई पनि घटनाक्रम अनुसार संशोधन परिमार्जन गर्न सकिने योजना तथा विधिहरु तयारी अवस्थामा राख्नुपर्छ ।

२.निरन्तर सञ्चारः
महामारीको समयमा संस्था के गर्दै छ भन्ने अत्यन्तै महत्वपूर्ण प्रश्नको उत्तर सदस्यहरुसँग हुनुपर्दछ । यसको अर्थ तपाईको उपस्थितिको बारेमा प्रत्येक सदस्य जानकार हुनुपर्दछ । कार्यालय समय, सम्पर्क व्यक्ति, सेवा, कर्मचारीको अवस्था लगायत सबै विषयमा सबै सदस्य जानकार हुनुपर्दछ । कहिलेकाही हामी सतही मुल्याङ्कन गर्छौ । सञ्चार र समन्वयको विषय जोडिदा हामी विभिन्न अनलाईन डिजिटल पत्रिका, वेबिनार, फेसबुक, ग्रुप म्यासेजिङ, आधिकारिक फेसबुक पेज आदि मार्फत नियमित सञ्चार सम्पर्कमा रहने कोशिस गर्छौ । त्यस बाहेक स्थानीय रेडियो, टेलिभिजनबाट पनि संस्थाको संञ्चालक समितिका सदस्य र उच्च व्यबस्थापकहरुले अन्तर्वार्ता दिइरहुनभएको हुन्छ । यसले गर्दा हामीलाई लाग्छ, सबै उपलब्ध माध्यमहरुको प्रयोग गरेका छौं । तर यो अपुग हुन सक्दछ । खासगरी हाम्रो परिवेशमा, सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिक अवस्थाका अतिरिक्त महामारीको प्रभावबीचमा कही न कही रिक्तता हुन्छ । त्यसो भएर हामीले मसिनो ढंगले सदस्यहरुको बिश्लेषण गर्नुपर्छ ।

अहिले हामी प्रविधिमा अत्यधिक जोड दिइरहेका छौं । कति सदस्यहरुसँग त्यसको उपलब्धता र पहुँच नै छैन । कतिको ध्यान तपाईले प्रविधिको सहयोगमा सञ्चालन गरेको २ घन्टा लामो दूर प्रशिक्षणमा समेत आसन ग्रहण, स्वागत मन्तव्य, लम्बेतान भूमिका, विषयवस्तुको पुनरावृत्ति जस्ता कारण सदस्यहरुलाई दिक्क लाग्छ । बारीमा मकै गोड्नुपर्ने कृषक सदस्यले बारीको काम गर्ने कि डाटा प्याक किनेर चलाएको इन्टरनेटबाट लामो भर्चुअल भाषण सुन्ने । त्यसमा पनि नेटवर्क समस्या छ, समय समयमा बत्ती गइरहन्छ । भएको कम्प्युटर घरका अन्य सदस्यलाई थप जरुरी भइरहेको हुन्छ । औपचारिक कार्यक्रममा तपाईले बोलेका कतिपय कुरा सदस्यको बुझाई भन्दा बाहिरको हुनसक्छ । त्यसैले, यो बेला संस्थाका सञ्चालक तथा व्यबस्थापनले संस्थाको फेसबुक पेजमार्फत “हामी खुल्ला छौं । कारोबार यो समय, यी व्यक्ति मार्फत यसरी भइरहेको छ, छुट सुविधा यी उपलब्ध छन्” भन्ने २–३ मिनेटका संक्षिप्त भिडियो सन्देशहरु प्रवाह गर्न सके प्रभावकारी हुन्छ । अक्षर नचिन्ने, पढ्न असहज हुने वा दिक्क लाग्नेहरुका लागि उपयोगी हुन्छ । उदाहरणको लागि तलको भिडियो लिंक हेर्नहोस् । https://www.youtube.com/watch?v=zjSpC3zCfkE

३. टेलिफोनको माध्यमबाट पी टु पी अर्थात संस्थाले सदस्यसँग सम्पर्क राख्न सकिन्छ ।

समय, अवस्था र कामको प्रकृतिका आधारमा इन्टरनेट पहुँचबाट टाढा रहने सदस्यहरुको पहिचान गरी उनीहरुसँग संस्थाको पाको कर्मचारी, व्यबस्थापक वा नजिकको सञ्चालकको सहयोगबाट सञ्चार सम्बन्ध स्थापित गर्नुपर्छ । अग्रभागका कर्मचारीहरु भन्दा यो समय संस्थाको पाको अनुभवी कर्मचारीबाट खासगरी सञ्चार सम्बन्ध स्थापित गर्ने काम गर्नुपर्दछ ।

यसको व्यवहारिक प्रयोग नवलपुरस्थित विकु बचत तथा ऋण सहकारी संस्थाले गरेको केही दिनअघि त्यसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले भर्चुअल कार्यक्रममा जानकारी गराउनुभएको थियो । त्यस्तै, परिस्थितिजन्य व्यवसाय सञ्चालनका नीति नियम र विधिका बारेमा प्रत्येक कर्मचारीको जानकारी र पहुँच स्थापित हुनुपर्दछ । यी काम घरबाटै पनि कर्मचारी परिचालन  मार्फत गर्न सकिन्छ । कार्यालयमा भने द्रुत सञ्चारका लागि हटलाईन सेवा व्यबस्था गर्न सकिन्छ । कार्यालयमा आपतकालीन सेवा प्रदायक व्यक्ति तथा निकायका सम्पर्क सूचीहरु अद्यावधिक गरिनुपर्दछ ।

४. रणनीतिक योजनाहरुको संशोधनः
प्रायः सबै संस्थाहरुले रणनीतिक व्यावसायिक योजना बनाउँदा यस्तो महामारीको कल्पना गरेका हुँदैनन र निश्चित लक्ष्य निर्धारण गरेका हुन्छन् । अहिले परिस्थिति फरक भएको अवस्थामा व्यावसायिक क्रियाकलाप र सञ्चालकीय पद्धतिमा आएका परिवर्तनहरुलाई सम्बोधन गर्ने ढंगले अपझर्ट नयाँ लक्ष्यहरु निर्धारण गर्नुपर्ने हुन्छ ।

अर्को महत्वपूर्ण बिषय भनेको यस्तै खाले वा यही कोरोना भाइरस महामारी भविष्यमा फेरि दोहोरिएमा के गर्ने भन्ने अर्को महत्वपूर्ण विषय हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य भरपर्दा स्वास्थ्य सम्बद्ध निकायहरुले कोभिड–१९ को संक्रमण केही समय पछि पुनः अर्को तरंग फर्कने संभावनातर्फ सचेत तुल्याइरहेको अबस्था छ । त्यसैले संभावित संक्रमणलाई समेत ध्यानमा राखी योजना बनाउनुपर्दछ । संस्थाले अहिले बनाएको महामारी योजनामा भोलीको संभावनालाई प्रक्षेपण गरी यी विषयहरु सम्बोधन गरिनुपर्दछ । यो काम गर्न कार्यालय गइरहनुपर्दैन ।

बेला बेलामा हुने डाटा आक्रमणलाई ध्यानमा राखी केही बीमा कम्पनीहरुले साइबर बीमा योजना ल्याएका छन् । यस्तो बीमा योजनाले ह्याकिङ, मालवेर, चोरी तथा अनलाईन चन्दा लगायतका घटनामा पहिलो पक्ष बीमाका साथै त्यस्ता कदम विरुद्ध सदस्यले चाल्ने कानूनी उपचारमा लाग्ने खर्चको क्षतिपूर्ति भपाई समेत समावेश हुन्छ । त्यस्तै, कर्मचारीदेखि, रकम, कार्यालय, नगद, प्रविधि लगायत महतत्वपूर्ण सामाग्रहीहरुको बीमा सुरक्षाको विषय पनि प्राथमिकतामा पर्नुपर्छ । यसका बिषयमा बीमा कम्पनीहरुसँग सम्पर्क र समन्वय गर्नुपर्ने हुन्छ

 वितरकहरुसँग समन्वय
योजना बनाउँदा सदस्य, कर्मचारी र सञ्चालकहरुका विषय मात्र होइन संस्थालाई अत्यावश्यकीय सामाग्रीहरु उपलब्ध गराइरहेका वितरकहरुसँग पनि सम्पर्क राख्नुपर्दछ । भोली वितरकहरुले स्टक सकिएर हामीलाई वितरण नर्ग सकेनन भने हाम्रो सेवा अवरुद्ध हुन्छ र त्यसको मार सदस्यसँगै संस्थालाई पर्छ । त्यसकारण त्यति मात्र होइन पहिलो पक्षमात्र होइन दोस्रो तेस्रो पक्षसँग पनि महामारी बढ्दै जाँदा संस्थालाई अत्यावश्यक सामाग्री उपलब्ध गराउन सक्ने सक्षमता कस्तो छ त्यसको बारेमा सेवा प्रदायकहरुसँग निरन्तर सम्पर्क गरी उनीहरुको कार्ययोजना बारे सत्यतथ्य जानाकारी संकलन गर्नुपर्दछ । यो पनि घरबाटै गर्न सकिन्छ ।

अनुमानित योजना
संक्रमणले अथ व्यापकता पाएमा के कसरी सेवा सञ्चालन गर्ने भन्ने सम्भावित योजनाका खाकाहरु तयारी अवस्थामा राख्नुपर्दछ । कर्मचारीहरुका सम्बन्धमा पनि कन्ट्याक्स ट्रेसिङ विधि अपनाउनुपर्छ । कोही दूर दराजमा इन्टरनेटको असहज पहुँचको अवस्थामा हुन सक्छन भने आज कार्यालय आएका कर्मचारी पनि भोली बिरामी पर्न सक्छन । ४–५ जना एउटै समुदायबाट आउने कर्मचारी, त्यो समुदायमा सील गरिएका कारण कार्यालय उपस्थित नहुन सक्छन ।

त्यसले दैनिक कार्यालय सञ्चालनमा पर्न सक्ने असरको व्यबस्थापन कसरी गर्ने भनेर योजना बनाइरहनुपर्छ । कर्मचारी र प्रणालीको व्याक अप योजना हुनुपर्छ । आलोपालो कर्मचारी व्यबस्थापन गर्दा पनि उनीहरु हाल रहेको स्थान, समय र परिवेशका आधारमा आलोपालो व्यबस्थापन गर्नुपर्दछ । कोही कर्मचारी कोभिडका कारण मानसिक तनावको अवस्थामा हुन सक्छन् । क्रस स्किलिङ र क्रस ट्रेनिङको पाटो महत्वपूर्ण हुन्छ ।

यसतर्फ हाम्रो ध्यान पुगेन भने हामी थोरै कर्मचारीबाट उत्पादनशील काम हासिल गर्न सक्दैनौं । सबै कर्मचारी नभएसम्म काम हुँदैन र मैले मात्र धेरै काम गर्नुपर्ने भन्ने जिज्ञासाहरु उठ्न सक्छन् । व्यबस्थापकीय नेतृत्वमा रहेकाहरुले समेत संयम गुमाउने अवस्था आउन सक्छ । यसका लागि उच्च व्यबस्थापन र अपुग भएमा सञ्चालकहरुसमेत थप जिम्मेवार र सक्रिय भएर वर्क फम होमको आधारमा समेत योजना तयार गर्नुपर्ने हुन्छ ।

 व्यवसाय आवश्यकता परिवर्तनः
हिजोसम्म कार्यालयमै आएर नियमित बचत गर्ने वा ऋण परामर्श लिने सदस्यलाई अब कसरी सेवा प्रवाह गर्ने भनेर संस्थाले योजना बनाउनुपर्छ । यसका लागि प्रविधिको पहुँच पुगेका सदस्यहरुलाई कसरी अनलाईन सेवा लिन प्रेरित गर्ने र त्यसको व्यबस्था कर्मचारीमार्फत मिलाउने काम तत्काल अघि बढाउनुपर्छ । यसको सहजिकरणका धेरै काम घरबाटै गर्न सकिन्छ ।

४. साइबर बीमाः
साइबर अपराधीहरुका लागि यो समय उर्वर हो । केही समयअघि मात्र जुप एप्लिेकशनबाट बेबिनार सञ्चालन भइरहेको समयमा महिला सहभागी बोल्ने बेलामा अचानक अश्लील भिडियो प्ले हुन थालेको समाचार बाहिरिएको थियो । साइबर बीमा भन्नाले इन्टरनेटमा आधारित कारोबारहरुको बीमा भन्ने बुझिन्छ । संस्थाका डाटाहरुमा आक्रमण भएमा तिनको सुरक्षाको बीमा हो । केही डाटाहरु हट्ने वा गल्ती देखिने जस्ता नियोजित समस्या विरुद्धको पूर्वसावधानी हो । नेटर्वक सुरक्षा अभाव, बौद्धिक सम्पत्ति र व्यक्तिगत गोपनीयताको हानी जस्ता विषय यसमा समाविष्ट रहन्छ ।

बेला बेलामा हुने डाटा आक्रमणलाई ध्यानमा राखी केही बीमा कम्पनीहरुले साइबर बीमा योजना ल्याएका छन् । यस्तो बीमा योजनाले ह्याकिङ, मालवेर, चोरी तथा अनलाईन चन्दा लगायतका घटनामा पहिलो पक्ष बीमाका साथै त्यस्ता कदम विरुद्ध सदस्यले चाल्ने कानूनी उपचारमा लाग्ने खर्चको क्षतिपूर्ति भपाई समेत समावेश हुन्छ । त्यस्तै, कर्मचारीदेखि, रकम, कार्यालय, नगद, प्रविधि लगायत महतत्वपूर्ण सामाग्रहीहरुको बीमा सुरक्षाको विषय पनि प्राथमिकतामा पर्नुपर्छ । यसका बिषयमा बीमा कम्पनीहरुसँग सम्पर्क र समन्वय गर्नुपर्ने हुन्छ । यो काम पनि घरबाटै सम्भव छ ।

अन्त्यमा,  बेलायती समाजशास्त्री एवम् दार्शनिक हर्बट स्पेन्सरले सन् १८६४ मा प्रिन्सिपल्स अफ बायोलोजी पुस्तकमा पहिलो पटक प्रयोग गरेको “सर्भाइभल अफ द फिटेस्ट” को सिद्धान्त अत्यन्त सामयिक हुन्छ । जो संस्था संक्षम छन्, तिनै बाँच्दछन् । हिजोको कारोबार, सदस्यले बिश्वासका कारण आज उनीहरु टिक्छन् । हिजो सदस्यलाई सेवा पु¥याएर बचेको रकम जेगडामा राखेका संस्था आजको परिस्थिति सामना गर्न सक्षम छन् ।

अथवा यसलाई अर्को तरिकाबाट पनि बुझ्न सकिन्छ, जुन संस्था यो संकटको समयमा उपलब्ध स्रोत तथा साधनहरुको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई हरसम्भव निरन्तरता दिन्छन्, ती संस्था नै टिकाउ हुन्छन् । अन्तर्राष्टिय श्रम सङ्गठन (आईएलओ) का अनुसार प्रभावकारीताले सही कार्य सम्पादन बुझाउँदछ, कार्यदक्षताले कार्यको सही सम्पादन बुझाउँदछ भने उत्पादनशीलताले सही काम सही तरिकाबाट सम्पादन बुझाउँदछ । त्यसैले यो समयमा सहकारीहरुले कामकै लागि काम भन्दा सुझबुझ र चलाखीपूर्ण ढंगले जोखिमको स्तर निर्धारण (रिस्क रेटिङ) गर्दै अघि बढ्नुपर्छ ।
 



Leave a comment