काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीले नुवाकोटका मात्र १५ वटा सहकारी पूर्णरुपमा क्षती भएका छन् । बाढिले क्षती पुर्याएका संस्था र सदस्यको उत्थानका लागि जिल्ला सहकारी संघ नुवाकोटको आह्वान गरेको छ । संघले विज्ञप्ती जारी गरी विनाशकारी बाढीबाट प्रभावित सहकारी संस्था तथा सदस्यहरुको उद्धार, राहत, पूनःस्थापना र पूनःनिर्माणमा एकतावद्ध हुन अपिल गरेको छ ।
संघका अध्यक्ष शिवप्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, उल्लिखित संस्थाहरूको क्षति केवल भौतिक संरचना र सम्पत्तिको क्षति मात्र नभई वर्षौदेखि संकलित संस्थागत अभिलेख, कागजात, सदस्यहरूको विवरण तथा सहकारी अभियानको महत्वपूर्ण सम्पत्तिको क्षति समेत हो । यसले प्रभावित संस्था र हजारौँ सदस्यको दैनिक आर्थिक तथा संस्थागत जीवनमा गम्भीर असर पार्न सक्ने देखिन्छ ।
विपत्तिमा सहकारी एक्लै होइन, सबै सहकारी सँगै छौं । सहकारी भनेको केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र होइन, दुःख सुखमा एकअर्काको साथ दिने सामूहिक शक्ति, विश्वास र सहकार्यको अभियान हो। आज केही सहकारी संस्था विपत्तिमा परेका छन् । आज उनीहरूलाई हाम्रो सहयोग आवश्यक छ । त्यसैले, मेरो संस्था र तिम्रो संस्था नभनी, हाम्रो सहकारी अभियान भन्ने भावनाका साथ सबै सहकारी संस्था एक ठाउँमा उभिनुपर्ने समय आएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड, नुवाकोट सम्पूर्ण सहकारी संस्था, सहकारीकर्मी, सदस्य, सञ्चालक, कर्मचारी, स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सहकारीका विभिन्न संघहरू, बैंक तथा वित्तीय क्षेत्र, सामाजिक संघसंस्था, दातृ निकाय तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभावित सहकारी संस्था तथा सदस्यहरूको सहयोगमा जुट्न हार्दिक अपिल गर्दछ ।
संघका पूर्व अध्यक्ष बैकुण्ठ मिश्रले जिल्लामा अहिले संकलन गर्नसकेको सहकारी संस्था १५ वटा चाही पूर्णक्षती भएको जनाए । उनले अन्यको पनि तथ्याङ्क संकलन भइरहेको र सहकारी संस्थाका संचालक तथा सदस्यहरुको पनि तथ्याङ्क आउन बाँकी रहेको जनाए । भदौ १० गतेको बाढीका कारण नुवाकोट रसुवा र धादिङ क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएको छ ।
बाढीबाट पूर्णरुपमा क्षती भएका संस्थाहरु
Leave a comment