सहकारीको अगुवाईमा मात्र प्रदेशको समृद्धि सम्भव छ : मन्त्री शाह 

सहकारीको अगुवाईमा मात्र प्रदेशको समृद्धि सम्भव छ : मन्त्री शाह  :: Sahakari Akhabar

जनकपुर । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले प्रदेशको समृद्धि र विकासकालागि सहकारीको अगुवाई अनिवार्य रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकको आयोजनामा प्रदेश २ को समृद्धि र विकासमा सहकारी संघ/संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठीको उद्धघाटनमा बोल्दै उनले गरिवी निवारणका लागि सहकारी माध्यम नै उपयुक्त र भरपर्दो विधि भएको बताए । यसकालागि प्रदेश सरकार सहकारी अभियानसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

बहुआयमिक गरिवीको हिसावले प्रदेश २ कमजोर अवस्थामा रहेको भन्दै उनले प्रदेशको गरिवी न्युनिकरणका लागि राज्य र सहकारी मिलेर प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए । सहकारी र सरकारबीच समन्वयका लागि सहकारी क्षेत्रको गुणस्तर वृद्धिमा समेत राष्ट्रिय सहकारी बैंक लगायतका अभियानसंग समन्वय गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी अभियानमार्फत मुलुकको समृद्धिका लागि सहकारीका संघहरुको सक्रियता बढाउनु पर्नेमा जोड दिए । सहकारीहरुले गरेका सकारात्मक कामहरुको प्रद्धर्वन गर्दै कमजोरी सुधार गरेर सहकारी अभियानलाई प्रभावकारी बनाउन राज्यका निकायहरुसंग समन्वय गर्न उनले आग्रह गरे ।

गोष्ठीमा सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले राज्यले विपन्न वर्गका जनताको आर्थिक विकास र देशको गरिवीनिवारणका लागि विनियोजन गर्ने बजेट सहकारी बैंक मार्फत अगाडि बढाउनका लागि समन्वय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।

सहकारी क्षेत्रका लागि विनियोजन हुने बजेट सहकारी बैंकमार्फत परिचालन गर्ने हो भने लक्षित वर्गमा सहज रुपमा पु-याउन सहजहुने भन्दै उनले राज्यले दिने रकमलाई ब्याजदरमा न्यूनतम अन्तर गरेर सहकारी बैंकले परिचालन गर्ने बताए ।

कार्यक्रममा भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय प्रदेश २ का सचिव डा.गोाविन्द शर्माले प्रदेशको आर्थिक विकासका नीति तथा कार्यक्रमहरु र यसमा सहकारी क्षेत्रबाट गरिएको अपेक्षा विषयमा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले प्रदेशमा सहकारीको अवस्था एवं प्रदेशको विकासमा सरकार र सहकारीबीच सहकार्यका संभावित क्षेत्रहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
 



Leave a comment