हाइलाइट

पारिजात साकोसद्धारा कोषमा ४ लाख ४० हजार ४ सय रुपैयाँ सहयोग

पारिजात साकोसद्धारा कोषमा ४ लाख ४० हजार ४ सय रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिकामा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख ४० हजार ४ सय रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष टंकराज काफ्लेले बताए । उनले सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै पारिजात साकोसले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको बताए ।

यसैगरी, संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुव रायमाझीले विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिए ।

पूर्व अध्यक्ष रायमाझीले सहकारीको मूल मर्म, सिद्धान्त र धर्मले पनि राष्ट्रिय संकटको वर्तमान समयमा हामीले व्यक्तिगत एवं संस्थागत रुपमा जे जति जसरी सकिन्छ गर्नुपर्ने हुन्छ, पारिजात साकोसले पनि त्यही धर्म निर्वाह गरेको उनको भनाइ छ । पारिजात साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, संस्थाले बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै दिवंगत हुनुभएका सबैमा हार्दिक श्रद्धार्पण गर्दै घाइतेहरुको शीघ्र उपचार, बेपत्ताहरुको खोजीमा प्राथमिक रुपमा सरकारको ध्यान जानेछ भन्ने कामना गरेको छ ।



Leave a comment