हाइलाइट

जनहितकारी साकोसको २८औँ वार्षिक साधारणसभा सम्पन्न 

जनहितकारी साकोसको २८औँ वार्षिक साधारणसभा सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । बिरेन्द्रनगर सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार संस्थामा सम्पन्न सभामा संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हरिहरनाथ योगीको प्रमुख अतिथि रहेका थिए ।

सभामा वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसी, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाशकुमार तिमिल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भक्तिप्रसाद सापकोटा, वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन सुवेदी, राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय सुर्खेतका शाखा प्रमुख सागरनाथ योगी, नेफ्स्कून फिल्ड कार्यालयका प्रमुख विष्णुप्रसाद जोशी, सहकारी कर्मचारी क्लब सुर्खेतका अध्यक्ष लछिराम बुढालगायत विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, सञ्चालक समिति, उपसमिति तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सञ्चालक समितिकी उपाध्यक्ष राधा कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै २८ वर्षअघि रोपिएको फूल आज ढकमक्क फुलेझैँ संस्था पनि निरन्तर प्रगति गर्दै २८औँ वर्षमा प्रवेश गरेको बताइन् ।

उनले सदस्यहरूलाई आफ्ना विचार, सुझाव तथा रचनात्मक प्रतिक्रियाहरू खुलस्त रूपमा राख्न आग्रह गर्दै सदस्यबाट प्राप्त सुझावका आधारमा संस्थालाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन ।

सभामा अध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३ / ०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१ / ०८२ मा १० हजार ३६९ जना रहेका संस्थाका शेयर सदस्यको सङ्ख्या यस वर्ष २१७ जना नयाँ सदस्य थपिएसँगै बढेर १० हजार ५८६ पुगेको छ ।

आगामी आर्थिक वर्षका लागि सदस्य विस्तार तथा सदस्य स्थायित्व, शेयर पुँजी र बचत सङ्कलन, कर्जा लगानी तथा असुली व्यवस्थापन, सहकारी शिक्षा, तालिम र सूचना प्रविधिको विकासलगायतका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ ।

त्यसैगरी, संस्थाका कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल शेयर पुँजी सात करोड ७३ लाख ४५ हजार रुपैयाँ कायम भएको छ भने कुल बचत तथा निक्षेप ८९ करोड ७२ लाख ७१ हजार १६५ रुपैयाँ ४१ पैसा पुगेको जनाए ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.५६ प्रतिशतले बढी हो । कुल सम्पत्तिको अनुपातमा बचत तथा निक्षेपको हिस्सा ८४.०६ प्रतिशत रहेको जनाइएको छ ।

यसैगरी, संस्थाको कुल ऋण लगानी ७६ करोड ३८ लाख १५ हजार ३९६ रुपैयाँ ८७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १.१८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । कुल सम्पत्तिको अनुपातमा ऋण लगानीको हिस्सा ७१.५६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२ / ०८३ मा संस्थाको कुल सम्पत्ति दुई करोड ४३ लाख ५१ हजार ७८ रुपैयाँ ८४ पैसाले वृद्धि भई एक अर्ब छ करोड ७३ लाख ७८ हजार ८४० रुपैयाँ पाँच पैसा पुगेको छ । यस अवधिमा कुल सम्पत्तिको वृद्धिदर २.३३ प्रतिशत रहेको छ ।

संस्थाको कुल आम्दानी १० करोड ५९ लाख ८० हजार १४१ रुपैयाँ १३ पैसा र कुल खर्च नौ करोड ७४ लाख ६९ हजार ८६४ रुपैयाँ ८९ पैसा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनारले आर्थिक वर्ष २०८२र०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसपछि विभिन्न निकायबाट उपस्थित प्रतिनिधि तथा सदस्यहरूले संस्थाको प्रगति, आगामी कार्यदिशा र सहकारी क्षेत्रको सुदृढीकरणका विषयमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारी संस्थाको सफल सञ्चालनका लागि सुशासन, नीति, विधि र प्रणालीको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए ।

उनले स्थापना कालदेखि नै जनहितकारी साकोसले संस्थागत प्रणालीलाई आधार बनाएर अघि बढ्ने प्रयास गर्दै आएको उल्लेख गर्दै संस्थालाई सुशासनमा राख्न निरन्तर प्रयास भइरहेको बताए ।

योगीले बैंकिङ तथा वित्तीय कारोबारका क्रममा सर्वसाधारणले भोग्नुपर्ने कठिनाइ न्यूनीकरण गर्ने, संस्थामा सङ्कलित पुँजीलाई सदस्य तथा समुदायको हितमा परिचालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सदस्यहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सहकारी स्थापना गरिएको स्मरण गरे ।

उनले कठिन आर्थिक परिस्थितिमा समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै वित्तीय सेवा प्रदान गरिरहेको र सदस्यहरूलाई लाभांश वितरण गर्ने दिशामा अघि बढिरहेको उल्लेख गरे ।

संस्थाको मूल आधार सुशासन भएको बताउँदै सञ्चालक, कर्मचारी र सदस्य सबै नीति तथा विधिको परिधिमा रहेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

साथै, संस्थाले ४५ भन्दा बढी कार्यविधि निर्माण गरी तिनकै आधारमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नीति, विधि र प्रणालीलाई निरन्तरता दिनुपर्ने बताए ।

सभाले सदस्यहरूको सक्रिय सहभागिता, रचनात्मक सुझाव तथा संस्थाप्रतिको अपनत्वलाई प्राथमिकता दिँदै आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रवाह गर्ने दिशामा अघि बढ्ने सन्देश दिएको छ । कार्यक्रमको संस्थाका सचिव यामराज गिरीले गरेका थिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000