काठमाडौं । देवचुली नवलपरासीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग र्पुयाउने उद्देश्यले उद्धार कोषमा सहयोग गरेको हो ।
भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएको अवस्थाप्रति संवेदनशील हुँदै संस्थाले उक्त सहयोग गरेको जनाएको छ । विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य भएको संस्थाको भनाइ छ ।
संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमितिका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूका साथै संस्थाको तर्फबाट समेत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको जनाएको छ । सहयोग रकममा समिति तथा उपसमितिका सदस्यहरूले प्राप्त गर्ने एक बैठकको भत्ता तथा सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब समेत समावेश गरिएको संस्थाले जनाएको छ ।
संस्थाले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ । संस्थाले गरेको यस सहयोगबाट विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
साथै, विपद्को समयमा एकअर्काको साथ र सहयोग नै मानवीयताको महत्वपूर्ण परिचय भएको संस्थाको धारणा छ । “विपद्को पीडामा मल्हम लगाउनु केवल सहयोग होइन, मानवीय जिम्मेवारी हो” भन्ने भावनाका साथ गरिएको यस सहयोगले सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालको भनाइ छ ।
Leave a comment