हाइलाइट

प्राकृतिक आहतमा सहकारीको राहत

प्राकृतिक आहतमा सहकारीको राहत :: Sahakari Akhabar

काठमाडौं । विगतका प्राकृतिक प्रकोप भूकम्प, कोभिड माहामारी जस्ता राष्ट्रिय आपतमा सहकारी क्षेत्रले सकृय सभागिताका साथ उपस्थिति देखाउँदै आएका छन् ।

सदस्यको आपद विपदमा संधै साथ दिंदैआएका सहकारीले भदौ १० गतेको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुका लागि पनि राष्ट्रको अपिललाई साथ दिंदै राहत तथा पुनस्र्थापनामा सक्दो आर्थिक सहयोग गरिरहेका छन् ।

राष्ट्रिय सहकारी महासंघले रसुवाको बाढीबाट प्रभावितलाई उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सहकारी संघसंस्था तथा सम्पूर्ण सहकारी अभियानलाई एकजुट भएर सहयोग गर्न अपिल गरेको छ ।

त्यसैगर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले बाढीबाट प्रभावितका लागि सरकारी कोषमा १० लाख आर्थिक सहयोग गर्दै सहकारी संघ संस्थालाई क्षमता अनुसारको आर्थिक सहयोग गर्न अपिल गरेपछि विभिन्न जिल्लाबाट धमाधम सहकारीहरुले आर्थिक सहयोग गरिरहेको पाइन्छ ।

अहिलेसम्म कति सहकारी संघ संस्थाबाट सरकारको कोषमा कति रकम जम्मा भयो भन्ने तथ्याङ्क संकलन गर्ने काम भइरहेको भएपनि बचत संघ संस्थामार्फत भएको आर्थिक सहयोगको भौचर नेफ्स्कूनमा पठाउन भनेको छ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ, बहुउद्देश्यीय केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला सहकारी संघहरुले पनि विपदबाट प्रभावित समुदायको उद्धार राहत तथा पुनस्र्थापनाका लागि सहकारी संघसंस्था, किसान तथा सम्पूर्ण सहकारी अभियानलाई एकजुट भएर सहयोग गर्न अपिल गरेका छन् ।

विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै सहकारीकर्मीहरूलाई आआफ्नो स्थानबाट सक्रिय, जिम्मेवार र समन्वयात्मक भूमिका निर्वाह गर्न सबै सहकारी संघहरुको अपिल छ ।

पछिल्लो समय झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम प्रदान गर्ने निर्ण भएको संस्थाका व्यवस्थापन प्रमुख महेन्द्र गिरिले जानकारी गराएका छन् ।

भदौं १३ गते संस्थाद्धारा जारी अपिलमा संस्थाले १२ लाख रुपैयाँ र कर्मचारीहरूले व्यक्तिगत तवरमा गरी ३ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको उल्लेख छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने जनाएको छ।

काठमाडौंको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेअनुसार पैसा भुक्तानी गर्दा भुलवश १० लाख रुपैयाँ ट्रान्सफर भएको जनाएको छ ।

बढी ट्रान्सफर भएको थाहा पाएपछि सहकारीले तत्काल बैंक तथा सम्बन्धित निकायलाई जानकारी गराएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले रकम ट्रान्सफर गर्दा त्रुटिभएको र कोषबाट फिर्ता पाउनेसमेत जानकारी आएको बताए  ।

ललितपुरको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताए ।

काभ्रेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले १ लाख ५१ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाको सञ्चालक समिति, कर्मचारीहरु तथा संस्थाबाट गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निधो गरेको अध्यक्ष गोपाल प्रसाद घिमिरेद्वारा जारी अपिलमा उल्लेख छ ।

त्यसैगरी धादिङको नीलकण्ठ ३ स्थित श्रोतपरिचालन बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बुटवलको श्री दूरदर्शी महिला कृषि सहकारी संस्थाले यस वर्षको तीज मिलन तथा दरखाने कार्यक्रम स्थगित गरी त्यसका लागि छुटयाएको रकम रसुवाका बाढीपीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । संस्थाले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष मिना कुमारी कार्कीले जानकारी दिइन् ।

काठमाडौंको कलंकीस्थित मिराकल बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा ३१ हजार १५१ रुपैयाँको सहयोग प्रदान गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको संस्थाका अध्यक्ष भरत कोइराला खत्रीले जानकारी दिए ।

त्यसैगरी मकवानपुरको हेटौंडा २ अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले १ लाख ७३ हजार १ सय ९७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा योगदान गर्ने निर्णय गरेको छ ।

संस्थाकी व्यवस्थापक रमला सापकोटाका अनुसार कर्मचारीहरुले एक दिनको तलब, ३ हजार १२७ सदस्यहरुबाट प्रति सदस्य २० रुपैयाँका दरले ६२ हजार ५४० समिति उपसमितिहरुको एक दिनको भत्ता बापत ४७ हजार ६०० तथा संस्थाको कोषबाट ५० हजार गरी कुल १ लाख ७३ हजार १ सय ९७ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराइन ।

काठमाडौंको खिचापोखरी, न्यूरोडमा रहेको श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाले ५० हजार रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण धितालले अपिल जारी गरी राष्ट्रिय विपत्तिमा सहयोग गर्नु सामाजिक एवं संस्थागत दायित्व बहन गर्दै ५० हजार रुपैयाँ योगदान गर्ने निर्णय गरेको जनाए ।

त्यसैगरी रुपन्देहीको ओमसतिया १ स्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले दैवी प्रकोप उद्धार कोषमा २ लाख ७ हजार १७ रुपैंयाँ योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विराटनगरको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार रुपैयाँ योगदान गरेको जनाएको छ । यसरी विभन्न जिल्लाहरुका विभिन्न सहकारी संघ संस्थाले कोषमार्फत विपतकालागि सहयोग गरिरहेको पाइएको छ ।



Leave a comment