काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको भौतिक तथा मानवीय क्षतिमा बचत सहकारी संघसंस्थालाई क्षमता अनुसार स्वेच्छिक योगदान गर्न अपिल गरेको छ।
नेफ्स्कूनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था एवं विषयगत संघहरूलाई राज्यद्वारा घोषित आधिकारिक राहत कोष वा बैंक खाताहरू मार्फत आफ्नो संस्थागत क्षमता अनुसार स्वेच्छिक योगदान गर्न अपिल गरेको हो ।
संघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्धारा जारी विज्ञप्तीमा १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको, पूर्वाधारहरू ध्वस्त भएको र जनजीवन अत्यन्त कष्टकर बनेको घटनाले समग्र बचत तथा ऋण सहकारी अभियानलाई स्तब्ध र मर्माहत बनाएको भन्दै सहयोगमा जुट्न अपिल गरेको छ ।
अभियानको तर्फबाट भएको कुल योगदान र ऐक्यबद्धतालाई एकीकृत गरी समग्र अभिलेख तयार गर्नुपर्ने भएकाले, सम्पूर्ण संघ र संस्थाले राहत कोषमा जम्मा गरेको योगदानको भौचर वा विवरणको जानकारी नेफस्कून केन्द्रीय कार्यालयमा उपलब्ध गरिदिनुहुन अनुरोध समेत गरेको छ ।
त्यसैगरी प्रभावित क्षेत्रका स्थानीय सहकारी संघ र संस्थाहरूलाई नियामक निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी भौतिक, स्वयंसेवी तथा व्यवस्थापकीय सहयोगमा सक्रियतापूर्वक जुट्न संघको आग्रह छ ।
Leave a comment