हाइलाइट

११ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा रहेको सहकारी बैंकले ७१ लाख २२ हजार नाफा कमायो

११ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा रहेको सहकारी बैंकले ७१ लाख २२ हजार नाफा कमायो :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्ष २०८२र०८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोे छ । मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको समग्र वित्तीय अवस्था थप सुदृढ बनेको जनाएको छ । सार्वजनिक विवरणअनुसार बैंक यस अवधिमा ७१ लाख २२ हजार रुपैयाँ नाफामा रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक ११ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । सहकारी संस्थालाई प्रदान गरिएको कर्जा तथा सापट रकममा देखिएको कर्जा नोक्सानी उल्लेखनीय रूपमा घटेकाले बैंकको नाफा अवस्था सुधारिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी दिए।

बैंकले कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्थापनका लागि चालु आवको दोस्रो त्रैमाससम्म २९ करोड ८५ लाख ५२ हजार रुपैयाँ छुट्याएको छ । गत वर्ष सोही शीर्षकमा ७४ करोड ३ लाख रुपैयाँ व्यवस्था गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ५१ करोड ४४ लाख रहेको छ।

बैंकको पूँजी पर्याप्तता ४.४२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधीमा १.८६ प्रतिशत रहेको थियो । चैत्र मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५६ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब १ लाख रुपैयाँ थियो ।

१ अर्ब १३ करोड ७१ लाख ७६ हजार रुपैयाँ संस्थागत पुँजी रहेको राष्ट्रिय सहकारी बैंकको कुल सम्पत्ति भने ५२ अर्ब २५ करोड ६४ लाख रुपैयाँ बराबरको रहेको छ। बैंकले सहकारी तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तार गरेको जनाएको छ । भने सञ्चालन मुनाफा पनि अघिल्लो अवधिको तुलनामा सुधारिएको देखिन्छ।

वित्तीय विवरण अनुसार बैंकको जगेडा कोष तथा पूँजी आधार पनि थप बलियो बनेको छ । बैंकले डिजिटल बैंकिङ, सदस्य सेवा विस्तार तथा सहकारीमैत्री वित्तीय योजनामार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । बैंक व्यवस्थापनका अनुसार ग्रामीण तथा सहकारी क्षेत्रको आर्थिक गतिविधि सशक्त बनाउन बैंकले आगामी वर्षमा थप लगानी विस्तार गर्ने तयारी गरेको छ।



Leave a comment