काठमाडौं । टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले असोज २४ गते शनिबार सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष पूर्ण बहादुर बलामीको अध्यक्षता र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यता तथा उपप्रमुख बसन्ती डंगोल तामाङको विशेष आतिथ्यतामा सभा सम्पन्न गरेको हो ।
दक्षिणकाली नगरपालिका ९ दाउरेचौर स्थित श्री सेतीदेवी माध्यमिक विध्यालयको प्राङ्गणमा सञ्चालित कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष राजन पाण्डेले स्वागत मन्तव्य राखेका थिए । सभामा प्रमुख अतिथि बस्नेतले सभाको उद्घाटन गर्दै, हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानप्रति नगरपालिका समेत सचेत रहेको र सहकारीमा सुशासन कायम गर्नका लागि टल्कु साकोसले चालेका कदमहरु सकरात्मक रहेको बताए ।
सभामा आव २०८२ / ०८३ मा शेयर, बचत, ऋण तथा मोबाईल बैंकिङ एप मार्फत उत्कृष्ट कारोबार गर्ने ३९ जना सदस्यहरुलाई सम्मान गरिएको थियो भने संस्था अन्तर्गत सञ्चालन भईरहेको २ वटा लघुवित्त समूहहरुलाई समेत सम्मान गरिएको थियो । सभामा ७० वर्ष पुरा भएका १० जना जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा विशेष अतिथि डंगोलले महिलाहरूको सक्रिय सहभागिता रहेको यस संस्थाको दीगोपनाको शुभेच्छा व्यक्त गरेकी थिइन् । त्यस्तै दक्षिणकाली नगरपालिका वडा नं ९ का अध्यक्ष तथा नगर प्रवक्ता अमृका बलामी, नगर सदस्य विक्रम तामाङ र छिमेकी सहकारी संस्था युगिन कृषि सहकारी संस्थाका अध्यक्ष सुदर्शन कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा १६ वटा प्रस्तावहरु माथि छलफल तथा निर्णय भएका यस सभामा संस्थाका अध्यक्षले समग्र प्रगति विवरण, सचिव कृष्ण कुमार तामाङ तथा कोषाध्यक्ष सोम बहादुर बलामीले गत आवको कार्यक्रम तथा बजेटको समिक्षा, आव २०८३ / ०८४ को योजना तथा रणनीतिक योजनाको महत्वपूर्ण मुख्य विषयवस्तुहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजक जीवन तामाङले संस्थाको आन्तरिक लेखापरीक्षण प्रतिवेदन सहित संस्थाको विकास र सुशासन युक्त सञ्चालनको लागि सुझाव पेश गरेका थिए । २०८३ असार मसान्त सम्ममा कुल वित्तीय स्थिति विवरण करिब ४५ करोडको हाराहारीमा कुल सम्पत्ति भएको यस संस्थाले चार्टर्ड एकाउन्टेन्टबाट एनएफआरएस विधि मार्फत लेखापरीक्षण गर्ने कार्य सम्पन्न गरिएको जनाइएको छ ।
कार्यक्रममा भौतिक रुपमा स्वयं उपस्थित भएका शेयरधनी सदस्यहरुलाई मध्यनजर गरी सञ्चालित ७ वटा भाग्यशाली नगद पुरस्कार सहितको चिठ्ठा कार्यक्रम संचालन गरिएको थियो । सह–सचिव रोशनी बलामीद्धारा सञ्चालित यस कार्यक्रमको अन्त्यमा संस्थाको अध्यक्ष बलामीले धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया